+
+
Shares

आधारभूत सेयरधनीले सेयर बेच्दा सूचना दिनुपर्ने निर्देशनले तर्साइरहेछ बजार

विभिन्न कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने मनसाय राखेर सूचना जारी गर्दै आएका छन् । सेयर बिक्री गर्ने मनसाय रहेको सूचना सार्वजनिक हुन थालेपछि ती कम्पनीका अन्य सेयरधनीमाझ भने त्रास उत्पन्न हुने गरेको छ।

कमल नेपाल कमल नेपाल
२०८३ असोज २१ गते १४:३५

२१ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले भदौ ९ गते एक निर्देशन जारी गर्दै आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था गर्‍यो ।

सूचीकृत कम्पनीका कुनै आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयर पाँच प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको सेयर संख्या, बिक्री गर्नुभन्दा १५ दिन अगावै कम्पनीलाई जानकारी गराई सो सूचना नेप्से मार्फत सार्वजनिक गर्न भनियो ।

कम्पनी ऐनको दफा ५० ले स्पष्ट रुपमा २५ करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेका कम्पनीका हकमा कुल चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी सेयर होल्ड गर्नेलाई आधारभूत सेयरधनीको रुपमा स्पष्ट व्याख्या गरेको छ ।

१ अर्ब चुक्ता पूँजी रहेको कुनै कम्पनीको सेयर कसैले १ लाख कित्ता मात्रै खरिद गर्‍यो भने पनि उ कानुनी रुपमा आधारभूत सेयरधनी हो । उसले जम्मा ५ हजार कित्ता सेयर बिक्री गर्नुपर्ने भए पनि कम्पनीमार्फत नेप्सेलाई जानकारी दिनुपर्दछ । बोर्डको निर्देशनपछि यो व्यवस्था लागु भइरहेको छ ।

बोर्डले लगानीकर्ताहरूको सूचनामा समान पहुँच सुनिश्चित गर्न, लगानीकर्तालाई सूचित निर्णय गर्न सक्षम बनाउन भन्दै यस्तो निर्देशन जारी गरेको थियो । बजारमा सम्भावित आपूर्तिको पूर्वानुमान गर्न, असामान्य मूल्य प्रतिक्रियाको पहिचान गर्न र धितोपत्र कसूर एवम् बजार दुरुपयोग निगरानीमा सहयोग पुर्‍याउने उद्देश्यले यो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

तर बोर्डले गरेको यो निर्देशन बजारका लागि प्रत्युत्पादक बनिरहेको छ । बोर्डले निर्देशन जारी गरेपछि विभिन्न कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने मनसाय राखेर सूचना जारी गर्दै आएका छन् । यसरी सेयर बिक्री गर्ने मनसाय रहेको सूचना सार्वजनिक हुन थालेपछि ती कम्पनीका अन्य सेयरधनीमाझ भने त्रास उत्पन्न हुने गरेको छ।

यसरी सूचना सार्वजनिक हुन थालेपछि आम सर्वसाधारणमा परेको एउटा त्रास हो: ठूला लगानीकर्ता नै कम्पनीबाट बाहिरिन थाल्नुले कम्पनी नै संकटमा पर्न थालेको त होइन ? ठूला लगानीकर्ता कम्पनीसँग नजिक रहन्छन्, ती लगानीकर्तालाई कम्पनीले ब्यहोर्ने नोक्सानी, क्षति वा लाभबारे पहिले नै जानकारी हुन्छ । जब ती ठूला लगानीकर्ताले नै सेयर बेच्ने सूचना जारी गर्छन्, अन्य लगानीकर्ता पनि तर्सिन्छन् ।

अर्कोतर्फ कम्पनी सबै ठिकठाक चले पनि ठूला लगानीकर्ता बाहिरिन खोज्दा त्यसको सेयर आपूर्ति बजारलाई पचाउन मूल्य नै चुकाउनुपर्ने हुन सक्छ । जति धेरै आपूर्ति बजारमा आउँछ, मूल्य घट्ने जोखिम त्यति नै बढी ।

जब ठूला लगानीकर्ताले सेयर बेच्ने सूचना जारी गर्छन्, त्यसले आपूर्ति बढ्न जाने त्रासले अरु सर्वसाधारणमाझ समेत सेयर बिक्री गर्ने होडबाजी चल्न थाल्छ र मूल्यमा भारी असर पर्ने गरेको छ । यस्तो क्रम बजारमा केही सातादेखि नै चलिरहेको छ ।

बोर्डको यो निर्देशनप्रति लगानीकर्ता समेत असन्तुष्ट छन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले यो निर्देशनले लगानीकर्ताको मनोभावनामा नकारात्मक असर परेको बताए ।

सेयर खरिद गर्नेलाई समेत यो निर्देशनले निरुत्साहित गर्ने उनले बताए । ‘यदि धेरै सेयर खरिद गर्ने हो भने पनि १ प्रतिशत नाघेपछि आधारभूत सेयरधनी भइयो, तर पछि बेच्ने बेलामा यस्तो सास्ती भोग्नुपर्ने भएपछि मनोभावना त सकारात्मक हुँदैन’ ढकालले भने ।

कुनै कम्पनीमा १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले आफूले सेयर बेच्न चाहेको सूचना नेप्सेमार्फत सार्वजनिक हुन थालेपछि कतिपयले यसैलाई बजारमा चलखेलको हतियार बनाएका छन्

यतिबेला जसलाई सेयर बेच्नका लागि सूचना जारी गर्नुपर्ने भनिएको छ, आज खरिद गरेकाले पनि भोलि त्यसैगरी सूचना दिनुपर्ने हुन्छ । ‘यस्तो अवस्थामा १ प्रतिशतभन्दा धेरै सेयर खरिद गर्न कसैले पनि चाहँदैन, एकातिर बजारमा माग नियन्त्रण हुने, अर्कोतिर जबरजस्त त्रास उत्पन्न गराई आपूर्ति बढाउने कार्य बोर्डको यो निर्देशनबाट भएको छ’ ढकालले भने ।

बोर्डका केही अधिकारी दोस्रो बजारबाट किन्नेका हकमा यो व्यवस्था नभएको बताउँछन्, तर कुनै पनि कानुनी व्यवस्थाले दोस्रो बजारबाट सेयर किन्नेलाई आधारभूत नहुने व्याख्या गर्दैन ।

बोर्डको यो निर्णय बजारका लागि घातक रहेकाले तत्काल फिर्ता गर्नुपर्ने लगानीकर्ताको टिप्पणी छ । ‘यतिबेला बजारमा माग बढाउनका लागि भनेर अर्थ मन्त्रालयले नै पूँजीगत लाभकर घटाउनेदेखि धेरैथरि नीतिगत सहजता गरेको छ, तर बोर्डको त्यो निर्देशन प्रत्युत्पादक भइरहेको छ’ ढकालले भने।

सामाजिक सञ्जालमा झुट्टा प्रचार बढ्यो

सामाजिक सञ्जालमा चर्चित लगानीकर्ताको नामबाट फलानो कम्पनीको सेयर बिक्री गर्ने मनसाय रहेको भन्दै गलत हल्ला फैलाउने कार्य समेत बढेको छ । केही साताअघि लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले हाथवे इन्भेस्टमेन्टको १५ लाख कित्ता सेयर बेच्न लागेको भनी कम्पनीकै लेटरप्याड तथा छाप प्रयोग गरी सामाजिक सञ्जालहरुमा झुटो सूचना फैलाइयो ।

तर धेरैले यो सूचना पत्याए । यसले कम्पनीको मूल्यमा ठूलो असर पर्‍यो । हाथवेले पछिबाट विज्ञप्ति नै जारी गरी त्यस्तो सूचना झुटो र गलत रहेको भन्दै स्पष्ट पार्‍यो । योबाहेक भोलिका दिनमा अन्य ठूला सेयरधनीका कम्पनी, नाम तथा बेच्न लागेको सेयर संख्या समेत उल्लेख गरी सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य बढ्ने जोखिम देखिएको छ ।

सामाजिक सञ्जालमा फैलिएका सूचनाभन्दा आधिकारिक माध्यम नेप्सेको वेबसाइटलाई नै सूचनाको प्रमुख स्रोतका रुपमा लगानीकर्ताले विश्वास गर्नु अर्को आवश्यकता देखिएको छ ।

झुक्यानमा पार्ने व्यवस्था

बोर्डको यो व्यवस्थाले झुक्यानमा पार्न सक्ने प्रशस्त ठाउँ राखिदिएको छ । त्यसरी आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बेच्नका लागि सूचना जारी गरिसकेपछि सेयर बिक्री नगर्न पनि पाउँछन् । अर्थात् सेयर बिक्री गर्नुपर्ने बाध्यता हुँदैन । १५ दिनपछि ३ महिनाभित्र सेयर बेच्ने मनसाय रहेको भनी सूचना सार्वजनिक गरिन्छ ।

तर सूचना सार्वजनिक भएपछि आधारभूत सेयरधनीले कति पनि सेयर बिक्री गरेन भने पनि केही फरक पर्दैन, जुन उसको स्वतन्त्रता पनि हो । तर सार्वजनिक भइसकेको सूचनाले पारेको ठूलो असर भने बजारमा रहिरहेको हुन्छ ।

‘यदि कोही १ प्रतिशतभन्दा बढी सेयर होल्ड गरेको व्यक्तिले सो कम्पनीको मूल्य घटाउन चाह्यो भने सेयर बिक्री गर्ने मनसाय छ भनी सूचना कम्पनीलाई दिन सक्ने भयो, कम्पनीले नेप्सेमार्फत सूचना सार्वजनिक गरेपछि बजारमा मूल्य घट्न थाल्छ, त्यसपछि उसले बेच्नुको साटो खरिद गर्न पनि सक्ने भयो’ एक ब्रोकर सञ्चालकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘त्यसकारण बोर्डको यो निर्देशनको धेरैतिर दूरुपयोग समेत हुन सक्ने जोखिम छ ।’ सेयर बिक्री गर्नेका हकमा कुनै सूचना नै दिनु नपर्ने उनले बताए ।

‘आफूले चाहेको मूल्य पाएमा जुनसुकै बेला सेयर बेच्न पाउने लगानीकर्ताको अधिकार हो’ उनले भने ‘त्यसकारण फलानोको सेयर बेचिँदैछ भने हल्ला गर्नुपर्ने व्यवस्था नगरियोस् ।’

उनले धितोपत्र बोर्डलाई यो व्यवस्था फिर्ता गर्न आग्रह गर्छन् । ‘कुनै कम्पनीको सेयर बेचिसकेपछि फेरि उसले अर्को कम्पनीको खरिद गर्न सक्छ, खरिद गर्दा त कुनै सूचना दिनुपर्ने छैन, बजारमा किनबेच चलिरहन्छ, बेच्दा हल्ला गरेर त्रास फैलाउनुपर्ने नियम बोर्डले कहिले पनि बनाउनु हुँदैन ।’

पुनर्विचार गर्छौँ :  धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले यो व्यवस्थामा पुनर्विचार गर्ने भएको छ । बोर्डका एक उच्च अधिकारीले अनलाइनखबरसँगको कुराकानीमा यस विषयमा सरोकारवाला पक्षसँग सम्वाद भइरहेको बताए । ‘सरोकारवाला पक्षसँग छलफल भइरहेको छ, यो विषयले बजारलाई त्रसित गरायो भन्ने उहाँहरूको भनाइ छ, तसर्थ अरु केही पक्षसँग छलफल गर्नेछौं र पुनर्विचार गर्छौं’ ती अधिकारीले भने ।

यो निर्देशनले सबै लगानीकर्तालाई सूचना प्रवाह हुने र पारदर्शिता बढ्ने अपेक्षाले ल्याइएको उनले बताए । ‘यहाँ त सूचनाका रुपमा नभइ त्रासका रुपमा काम गर्‍यो, त्यसकारण यसलाई अझ स्पष्ट पार्ने वा दायरालाई केही फराकिलो बनाउनुपर्ने हुन सक्छ’ उनले भने ।

बोर्डले मंगलबार मात्रै यस विषयमा लगानीकर्ताको एउटा समूहसँग परामर्श गरेको छ । परामर्शका क्रममा लगानीकर्ताले निर्देशन बजारका लागि घातक भएको भन्दै फिर्ता नै गर्न सुझाएका छन् ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?