News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वगृहमन्त्री सुधन गुरुङले स्टार माइक्रोइन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर किन्न १ सय ५० रुपैयाँ प्रति सेयरमा ऋण लिएर खरिद गरेको तमसुक सार्वजनिक भएको छ।
- गुरुङले आफ्नो सम्पत्ति विवरणमा ती २५ हजार-२५ हजार कित्ता सेयर उल्लेख नगरेको र सेयर किन्न प्रयोग गरेको ऋणको स्रोतबारे प्रश्न उठेको छ।
- तमसुकमा उल्लेख मिति र प्रमाणीकरण मिति फरक देखिएको र धितोपत्र बोर्डले प्रिआईपीओमा सेयर किनबेच गैरकानुनी भनेको छ, कानुनी व्यवस्था आवश्यक रहेको बताइएको छ।
१० वैशाख, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले स्टार माइक्रोइन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर किन्न प्रिमियम तिरेको उनी निकटले सार्वजनिक गरेको एक तमसुकले देखाएको छ ।
गुरुङले व्यक्तिगत सम्पर्कका आधारमा ती दुई कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँको सेयर ५० रुपैयाँ बढी अर्थात् १ सय ५० मा खरिद गरेको ती सेयर किन्ने प्रयोजनका लागि उनले ऋण लिन गरेको तमसुकबाट सार्वजनिक भएको हो ।
गुरुङले यी दुई माइक्रोइन्स्योरेन्स कम्पनीमा रहेको २५–२५ हजार कित्ता सेयर आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका थिएनन् । आफ्नो स्वामित्वमा भएका सेयर सम्पत्ति विवरणमा उल्लेख नगरेको पाइएपछि त्यस विषयमा प्रश्न उठेको थियो ।
उनले ती सेयर कुन स्रोतबाट खरिद गरेका हुन् भन्नेमा पनि समाजका विभिन्न तप्काबाट प्रश्न उठेको छ ।
आफूसँग भएको सेयर विषयमा प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिए । तर, स्पष्टीकरण दिने क्रममा आफूले ऋण लिएर सेयर किन्नका लागि पैसा जुटाएको उल्लेख गरे ।
‘मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ,’ गुरुङले उल्लेख गरेका छन् ।
तर, उनले सेयर किन्न ऋण लिन गरेको तमसुकका विवरण नै शंकास्पद देखिएका छन् । उनले गरेको कपाली तमसुक काठमाडौं महानगरपालिका–५ ले प्रमाणीकरण गरेको अभिलेखमा देखिएको सोही वडा कार्यालयका सचिव विमल ज्ञवालीले जानकारी दिए ।
‘गत सोमबार हामीले पुरानो अभिलेख चेक गरेर हेरेको हो,’ ज्ञवालीले भने, ‘वडा कार्यलयले कर्जा कपाली तमसुक प्रमाणीकरण गरेको हो ।’
वडाध्यक्ष बिजेन्द्र प्रजापतिका अनुसार ऋण लिने र दिने उपस्थित भई वडामा निवेदन दिएर भुक्तानी गर्दाको चेक विवरण सहित कागज गरेपछि वडाले प्रमाणीकरण गरेको हो ।
‘निवेदनमा भएको रकम र चेक विवरण नै तमसुकमा भएकाले प्रमाणीकरण गरिएको हो,’ वडाध्यक्ष प्रजापतिले अनलाइनखबरसँग भने ।
पहिलो, गुरुङले ती दुई कम्पनीको सेयर किन्न विजयकुमार श्रेष्ठबाट साढे ३७ लाख रुपैयाँ ऋण लिएको तमसुकमा उल्लेख छ । तमसुकका अनुसार उनले एउटा कम्पनीको १२ हजार ५ सय कित्ता सेयर किन्न १८ लाख ७५ हजार रुपैयाँ तिर्ने उल्लेख गरेका छन् । यसको अर्थ उनले एक कित्ता सेयर किन्न १ सय रुपैयाँ होइन, १ सय ५० रुपैयाँ खर्च गरेका थिए ।
कम्पनी ऐन २०६३ अनुसार पब्लिक कम्पनीको सेयरको अंकित मूल्य ५० रुपैयाँ वा १० ले भाग जानेभन्दा बढी हुने गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावली व्यवस्था भए अनुसार हुनेछ भन्ने व्यवस्था छ ।
ती दुवै कम्पनीको अंकित मूल्य कम्पनीले १ सय रुपैयाँ तोकेको छ । साथै, कम्पनी ऐनको दफा ५९ को उपदफा ५ मा कुनै पनि कम्पनीको सेयर खरिद गर्दा अंकित मूल्यभन्दा बढी रकम तिर्न बाध्य हुने छैन भन्ने उल्लेख छ ।
गुरुङले दुवै कम्पनी सञ्चालनमा नै नआउँदै ५० रुपैयाँ अंकित मूल्यभन्दा धेरै तिरेको तमसुकले देखाउँछ भने कम्पनीहरूको विवरणमा गुरुङ भुक्तानी गरेको रकम १ सयका दरले उल्लेख छ ।
त्यस्तै गुरुङले दुवै कम्पनीको सेयर प्रि–आईपीओ खरिद गरेका छन् । नेपाल धितोपत्र बोर्डले प्रिआईपीओको कन्सेप्टमा सेयर किनबेच गैरकानुनी भनेको छ । धितोपत्र ऐन अनुसार ५० जनाभन्दा धेरै सेयरधनीलाई सेयर बिक्री गर्दा सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था छ ।
ती कम्पनीको संस्थापक सेयर कारोबार त्यो पनि प्रिमियम मूल्यमा सेयर कारोबारका सन्दर्भमा स्पष्ट कानुनी व्यवस्था नभएको धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले बताए । सोही सन्दर्भमा आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताए ।
पछिल्लो समय विशिष्टिकृत लगानी योजना पनि सञ्चालनमा आएको हुनाले प्रिआईपीओ तथा प्रिमियम मूल्यको विषयलाई कानुनको दायरामा ल्याउन गिरीले सुझाए ।
दोस्रो, गुरुङसँग स्टार माइक्रोइन्स्योरेन्सको २५ हजार कित्ता र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता गरी कुल ५० हजार कित्ता सेयर देखिन्छ ।
जबकि, उनले दुवै कम्पनीको १२ हजार ५ सयका दरले कुल २५ हजार कित्ता सेयर किन्न कुल ३७ लाख ५० हजार ऋण लिएको उल्लेख छ ।
जुन मूल्यमा उनले सेयर किनेको देखिन्छ, त्यसका लागि कुल ७५ लाख रुपैयाँ खर्च हुनुपर्ने हो । तर, त्यसको आधा मात्रै ऋण लिएको कागज छ, बाँकी ३७ लाख ५० हजारको स्रोतबारे उल्लेख छैन ।
तेस्रो, गुरुङ र श्रेष्ठबीचको तमसुकमा उल्लेख मिति लगायत विवरण पनि एकापसमा मेल खाने किसिमका छैनन् । निवर्तमान मन्त्री गुरुङले आफ्नो फेसबुक पोस्टमा २९ भदौ २०८० मा तमसुक गरेको उल्लेख गरेका छन् । जबकि, काठमाडौं महानगरपालिका–५ मा यो तमसुक २१ साउन २०८० मा प्रमाणीकरण गरीपाउँ भनी निवेदन दर्ता भएको छ ।
अझै रोचक त तमसुकको पेटबोलीमा ‘तपाईं साहुबाट २०८० साल वैशाख महिना २६ गते आजका मितिमा एनएमबी बैंकको चेकबाट ३७ लाख ५० हजार भुक्तानी लिने गरी ऋण लिएको साँचो हो,’ भन्ने उल्लेख छ । त्यसले के देखाउँछ भने तमसुक २६ वैशाखमा गरिएको हो र २९ साउनमा प्रमाणीकरणका लागि निवेदन दिइएको हो ।
प्रतिक्रिया 4