Comments Add Comment

दुई जर्किन तेलका लागि चार प्रहरीमाथि आक्रमण

४ पुस, वीरगञ्ज । ‘सुतिराखेका थियौं, पिपलडारी चौकीका असई सा’बहरुले बोर्डरमा माल समातेको रहेछ, थप मद्दत चाहियो भनेर हाम्रो चौकीमा फोन आयो, असई सा’बले जाउँ भन्नुभयो । रातिको अवस्थामा तीनजना एउटा बाइकमा गएको दशगजानिर पुगेपछि पछाडिबाट आएर ड्याङ्गै मेरो टाउकोमा हाने । म बेहोस भएँछु, त्यसपछि के-के भयो, केही थाहा भएन ।’

माथिको भनाइ वीरगञ्जको पानी ट्याङकीस्थित एलएस न्युरो एन्ड जनरल हस्पिटलको सघन उपचार कक्षमा उपचाररत प्रहरी जवान अर्जुन चौधरीको हो ।
तस्करको आक्रमणमा परेका चौधरीको स्वास्थ्यमा अहिले क्रमिक सुधार भइरहेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका-१, पाँडेपुरमा मंगलबार बिहान तेल तस्करहरुसँग भएको झडपमा घाइते भएका चार प्रहरीमध्येका चौधरी एक हुन् ।

तेल तस्करहरुले प्रहरीमाथि आक्रमण गरेर हतियार समेत खोसेका थिए । तस्करको आक्रमणबाट चौधरीसहित चारजना प्रहरी घाइते भएका थिए ।

आक्रमणमा परी नेपाल प्रहरीका असईद्वय जयकिशोर महतो, विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना पनि घाइते भएका थिए ।

‘पहिला गस्तीमा रहेका दुईजना र पछि गएका हामी तीनजना गरेर पाँचजना मात्रै थियौं । तस्करहरु त पुरै गाउँभरि थिए,’ घाइते चौधरीले भने ‘अझ त्यसमाथि लुकेर आक्रमण गरेपछि हाम्रो केही लागेन ।’

अर्जुनको टाउको चोट लाग्नुका साथै रगतसमेत जमेको भए पनि अहिले अवस्था सामान्य बन्दै गइरहेको उपचारमा संलग्न डा. सुमन अधिकारीले जानकारी दिइन् । असई महतोको हात भाँचिएको छ ।

अन्य घाइते सबैको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । तस्करले आक्रमण गरेर हतियारसमेत लुटे पनि घटनास्थलभन्दा केही परबाट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तस्करहरुको साथमा रहेको एक सय २० लिटर डिजल समेत बरामद गरेको छ । सीमावर्ती क्षेत्रमा घटना भएका कारण आक्रमणकारीहरु भारततर्फ भागेका छन् ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ दुई जर्किन तेलका लागि प्रहरीमाथि आक्रमण हुनु दुःखद भएको बताउँछन् ।

‘पहिलाजस्तो तस्करी अहिले हुँदैन, तर पनि दुई जर्किन तेलका लागि प्रहरी माथि आक्रमण हुनु दुःखद घटना हो ।’ उनले भने ‘ यस्ता घटनाबाट प्रहरीले पनि पाठ सिक्नुपर्छ । संगठन भित्र देखिएको कमी कमजोरीलाई सुधार्नुपर्छ ।

पर्साका एसपी रेवती ढकाल बाइकमा गस्तीमा रहेका प्रहरीको संख्या थोरै हुँदा तस्करहरुले प्रहरीमाथि नै आक्रमण गरेको बताउँछन् । पछि थप सुरक्षा टोली पुग्दा उनीहरु भारततर्फ भागिसकेकाले पक्रन नसकेको उनको भनाइ छ ।

प्रहरी तत्काल कमजोर जस्तो देखिए पनि पछि थप सुरक्षा फौज पुगेको उनी बताउँछन् ‘आवश्यकता अनुसारको जनशक्ति छैन, जति छ बाँडेर चलाउनुपर्ने अवस्था छ । उच्च गुणस्तरको कम्युनिकेशन सिस्टम छैन’ उनले भने ‘सीमा क्षेत्रका प्रहरी चौकीहरुको अवस्था सबैतिर उस्तै छ । सुधार गर्नुपर्ने कुरा धेरै छन् ।’

प्रहरी नियमको परिधिभित्र रहने हुँदा पनि तत्काल कमजोर जस्तो देखिने उनी बताउँछन् । ‘उनीहरुलाई नीति नियमको पर्वाह हुँदैन, हामी राज्यको जिम्मेवार निकाय भएकोले त्यसको परीधिमा रहनुपर्ने हुन्छ, ढकाल भन्छन्- यही घटनामा हेरौं न, सीमा क्षेत्रमा घटना भयो । उनीहरु आक्रमण गरेर भारततिर गएर लुकेका छन् । हामी उता जान पाउँदैनौं । तत्काल पारी जान सक्ने अवस्था हुन्थ्यो भने हामी सबैलाई समातेर ल्याउने थियौं ।’

भारतमा तेलको भाउ बढी हुँदा नेपालमा सास्ती

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य महंगो भएपछि पर्साको ग्रामीण क्षेत्रमा रहेका पेट्रोल पम्पहरुबाट डिजल, पेट्रोल साइकल, मोटरसाइकलमा राखेर भारत पुर्‍याउने गरिएको छ । डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । पछि भागेका तिनैले आˆनो समूह बोलाएर प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

पर्सामा पटक-पटक प्रहरी र तस्कर समूहबीच झडप हुने गरेको छ । विशेष गरी सीमावर्ती क्षेत्रमा हुने यस्ता झडपमा प्रहरी तस्कर सामु निरीह देखिने गरेको छ । यसबारेमा सुरक्षा निकायले गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

प्रहरीको हतियार खोस्ने र प्रहरी माथि नै आक्रमण हुनुलाई सामान्य घटनाको रुपमा लिन नहुने उनीहरुको भनाइ छ ।

पूर्वाधारविहीन नेपाल प्रहरी

पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा स्थापना गरिएको प्रहरी चौकीहरुको भौतिक पूर्वाधार र साधन स्रोतको अवस्था राम्रो हुँदैन । चौकीमा १३ जना प्रहरी दरबन्दी हुन्छ । त्यसमाथि दरबन्दी अनुसारको सुरक्षाकर्मीहरु पनि हुँदैनन् । सिफ्ट मिलाएर ड्युटी गर्नुपर्ने हुन्छ ।

रातको समयमा गस्ती गर्दा नजिकका युनिटहरुसँग समन्वय गर्ने, जोखिमयुक्त ठाउँहरुमा राती जाँदा एक/दुईजना मात्रै नजाने जस्ता सावधानी अपनाउँदा दुर्घटनाबाट बच्न सकिने एक पूर्वप्रहरी अधिकारी बताउँछन् ।

ती पूर्वप्रहरीका अनुसार अन्य समयमा तस्करसँग नै साँठगाठ गर्ने र कुरा नमिल्दा मात्रै समान समाउने प्रवृत्तिले पनि जोखिम बढाउँछ । ‘सीमा क्षेत्रमा कमाउनकै लागि जाने हो भन्ने सोच छ, कुरा मिलेसम्म मिलेर काम हुन्छ, लेनदेन नमिलेपछि समात्ने गरिन्छ ।’ उनले भने ‘यसो हुँदा तस्कर बाहेकले पनि प्रहरीलाई साथ दिँदैनन् । प्रहरीले आम समुदायसँग सुमधुर सम्बन्ध बनाउन सके उनीहरुले नै प्रहरीको बचाउ गर्छन नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment