Comments Add Comment

साफ च्याम्पियनसिप जित्ने एउटा सपना

अहिले तपाईंले जुन किरण चेम्जोङ चिन्नुभएको छ, यो नाम बनाउन र यहाँसम्म आइपुग्न निकै संघर्ष गरेको छु । अत्याशलाग्दा दिनहरु कटाएको छु । हरेक समय मेहनत गरेको छु । बुझ्ने भएदेखि फुटबलकै सपना देखिरहेको छु ।

सानोमा मेरो परिवारसँग फुटबल बुट किन्ने पैसा हुँदैन थियो भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । यो सत्य हो । अरुले दिएको च्यातिएको बुट दर्जनौं पटक सिलाएर खेलिरहन्थेँ । अवस्था जे आओस् फुटबल कहिल्यै छाडिनँ ।

राष्ट्रिय टिमबाट डेब्यू खेलमा नै चिउँडोको हड्डी भाँचिएर बाहिर निस्कनुपर्दा कस्तो भयो होला ? त्यस्तो दुर्घटनाले पनि मलाई फुटबलदेखि टाढा लैजान सकेन । एउटा उत्साह, एउटा नशा र लगाव । गजब छ यो फुटबल ।

मैले केही गर्न सकेँ भनेर लाग्ने खुशी त धेरै छन् । हुन त हारेका बेला बिगारेँ भनेर दुःख पनि उस्तै लाग्छ । त्यस्तो ओहो ! भन्नुपर्ने अवस्था नभपनि हार्दा लाग्ने नराम्रो र जित्दा हुने खुशीमा नै छ मेरो फुटबल । एउटा खेलाडी भएको हिसाबले जित्दाको खुशी र उमंग अर्कै नै हुन्छ ।

****

मैले बिर्सेको छैन, कतिपय बेला त फुटबल बुट किन्ने पैसा पनि हुँदैन्थ्यो । सँगै खेल्ने दाइहरुले ल्याइदिएको बुट पनि च्यातिर हैरान भइन्थ्यो । बुट च्यातिएर धुजा हुन लाग्दा पनि असाध्यै सम्हालेर सिलाएर खेल्थेँ

थोरै पछाडिका दिनमा फर्कौं… म धनकुटाको राजारानीमा जन्मिएको । त्यहाँ फुटबलको आफैं माहोल थियो । टोलमा दाइहरु फुटबल खेल्नुहुन्थ्यो । म पनि त्यही वातावरणमा मोहित भएँ ।

विद्यालयमा हुँदा पनि फुटबल खेल्ने गरिन्थ्यो । १३ वर्षको हुँदादेखि नै गोलकिपरको रुपमा खेल्न थालेको थिएँ । अरुभन्दा अग्लो भएकाले होला, दाइहरुले मलाई गोलकिपरमा खेलाउन थाल्नुभएको थियो । त्यसभन्दा अघि भने फरवार्ड नै थिएँ ।

त्यतिबेला टेलिभिजनमा खेल हेर्न पाउने भन्ने कमै हुन्थ्यो । रेडियो सुन्ने र बेलाबेला पत्रिका पढ्न भने पाइन्थ्यो । पत्रिकामा पनि फुटबलका कुरामा विशेष आँखा जान्थ्यो । पत्रिकामा नै उपेन्द्रमान सिंह, रितेश थापा दाइहरुको बारेमा पढ्थेँ । त्यही बेला नै राष्ट्रिय टिमसम्म पुग्न सक्छु कि भन्ने सपना देख्न थालेको थिएँ । एक हिसाबले भन्दा फुटबलले मोहित नै पारेको थियो ।

हाम्रो परिवार त्यो बेला गरिब नै थियो । परिवारमा ममी, दिदी र म मात्रै हौँ । बुवा अर्को आमा ल्याएर छुट्टै बस्न थाल्नुभएको हो । अहिले दिदीको बिहे भइसकेको छ । बुवा सँगै नहुँदा ममीले असाध्यै मेहनत गरेर परिवार चलाउनु भयो । संघर्ष गरेर नै हाम्रो परिवार अगाडि बढेको हो । ममीले गरेको दुःख मैले देखेको छु । यसैले त मेरोलागि आदर्श व्यक्ति नै ममी हो ।

मेरो फुटबलको रहरलाई ममीले पनि बुझ्नुभएको थियो । नखेल भनेर त कहिल्यै भन्नुभएन तर, राम्ररी पढ्नुपर्छ, पढेर नै अगाडि बढ्न सजिलो हुन्छ भनिरहनुहुन्थ्यो । फुटबल खेलेर मात्रै हुँदैन भनेर सम्झाए पनि खेल्नबाट कहिल्यै रोक्नुभएन । सधैँ प्रोत्साहन गर्नुभयो । आवश्यक कुरा जस्तो मेहनत गरेर पनि जुटाइदिनु हुन्थ्यो ।

****

मैले बिर्सेको छैन, कतिपय बेला त फुटबल बुट किन्ने पैसा पनि हुँदैन्थ्यो । सँगै खेल्ने दाइहरुले कताकतिबाट मिलाएर ल्याइदिएको बुट पनि च्यातिर हैरान भइन्थ्यो ।

बुट च्यातिएर धुजा हुन लाग्दा पनि असाध्यै सम्हालेर सिलाएर खेल्थेँ । जुत्ता सिलाउन पनि हाम्रो गाउँबाट बस चढेर जानुपर्थ्यो । बिहान ७ बजे बस चढेर बजार गएको म ९ बजे जुत्ता सिलाएर घर फर्किन्थे र विद्यालय जान्थेँ । ताकि बेलुका जसरी पनि खेल्न पाइयोस् । त्यसरी नै असाध्यै संघर्ष गरेर सानो बेलामा फुटबल खेलिरहेँ ।

म १४ वर्षको हुँदा विद्यालयस्तरीय फुटबल खेल्नको लागि काठमाडौं आउन पाएँ । त्यो बेला ‘इन्टर स्कूल मायोज कप’ भन्ने प्रतियोगिता भएको थियो । जिल्लास्तरीय छनोट पार गरेपछि धनकुटाको टिमबाट खेल्नको लागि म काठमाडौं आएँ । मलाई याद छ, त्यतिखेर हामी सेमिफाइनलमा काठमाडौंसँग हारेका थियौँ । काठमाडौंको टिममा सन्तोष साहुखल, सन्दिप राईहरु थिए ।

त्यसपछि तुरुन्तै यू-१६ को लागि छनोट चलिरहेको भएर प्रशिक्षकहरु श्याम थापा, राजु शाक्यहरुले छनोटमा बोलाउनु भयो । मायोज कप हारेर घर फर्किएको १० दिनपछि नै काठमाडौं आएँ । पहिलो खेलसँगै म एन्फाको छनोटमा परेको थिएँ । तिमी छानियौ, घर गएर अभिभावकसँग कुरा गरेर काठमाडौं बस्ने गरी आउनुपर्छ भनेर गुरुहरुले भन्नुभयो । मेरो फुटबलको अर्को खुड्किलो त्यही नै भयो ।

घरमा ममी त सकारात्मक नै हुनुहुन्थ्यो । उहाँले ममा रहेको फुटबलको क्रेज देख्नुभएको थियो । काठमाडौं आएर पढाइ र खेल सँगै अगाडि बढाउन सक्ने बुझेपछि खुशी हुनुभयो । किनकी गाउँमा पनि मलाई राम्ररी पढाउन ममीलाई त्यति सजिलो थिएन । त्यसबेला ममीले ‘ल राम्ररी बस्नू, राम्ररी गर्नू । काठमाडौं टाढा छ । तिमी एक्लै, म एक्लै हुन्छौँ’ भनेको मलाई याद छ ।

****

काठमाडौं आएपछि मेरो फुटबल करियरले एकपछि अर्को सिँढी चढ्दै गयो । यू-१६, यू-१७, यू-१९ हुँदै म एकपछि अर्को चरणमा पुग्दा चुनौतीहरु पनि बढ्दै गए । यू-१९ खेल्दा सिनियर राष्ट्रिय टिमसम्म अवसर पाएँ । राष्ट्रिय टिमबाट खेल्ने सपना देखेको भए पनि त्यहाँसम्म पुग्न सक्छु भनेर सोचेको थिइनँ ।

सन् २००७ मा हो । उमेर समूहका खेलहरु खेलिरहेको थिएँ । त्यस्तैमा एक दिन राष्ट्रिय टिम छनोटका लागि भनेर फोन आयो । रितेश थापा, विकास मल्ल, सुरेन श्रेष्ठ जस्ता सिनियर गोलकिपर भएको ठाउँमा मलाई बोलाइएको थियो ।

राष्ट्रिय टिममा छानिएपछि असाध्यै खुशी लाग्यो । मेहनत गर्दै गएँ । त्यही मेहनतले राष्ट्रिय टिममा छिरेको एक वर्षमा खेल्न पनि पाएँ । कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध सिनियर टिमबाट खेल्ने मौका पाएँ ।

मलाई अझै याद छ त्यो दिन, २००८ को मे २४ तारिख । त्यो बेला म १८ वर्षको थिएँ । दुर्भाग्य भनौँ कि के भनौँ त्यही खेलमा मेरो चिउँडोमा चोट लागेर घाइते हुन पुगेँ ।

कम्बोडियाको फनोम फेन राष्ट्रिय ओलम्पिक स्टेडियममा खेल सुरु भएको करिब २४ औँ मिनेट बितिसकेको थियो । त्यहीबेला एउटा यस्तो अवस्था सिर्जना भयो । हाम्रा डिफेन्डर सबै अगाडि थिए । त्यसपछि वान भर्सेस वानको अवस्था आयो ।

अब गर्ने के ? बल रोक्नका लागि डाइभिङ गरेँ तर, मकाउका फरवार्डको घुँडाले मेरो चिउँडोमा लाग्न पुग्यो । मैदानमै ढलेँ । स्ट्रेचरमा राखेर मैदानबाट बाहिर लगियो । पछि थाहा भयो, चिउँडोको हड्डी नै भाँचिएको रहेछ । खेल हामीले ३-२ ले जिते पनि मेरा लागि दुःख बढी भयो । राष्ट्रिय टिमको डेब्यूमै घाइते भएँ ।

अनुभवी र नियमित गोलकिपरलाई बेञ्चमा राखेर मैदान उत्रिएको म पहिलो खेलमै घाइते भएको थिएँ । म असाध्यै रोएँ, कराएँ । सुरुवाती दिनमै त्यसरी चोट बोकेपछि अब टिममा फर्कन सकिँदैन कि भन्ने डर पनि लागेको थियो । जर्मन प्रशिक्षक थोमस फ्लाथले ‘केही हुँदैन, तिम्रो उमेर छ । ठीक हुन्छौँ’ भनेर सम्झाइरहनु भयो । मैले पनि आफ्नो उपचारमा ध्यान दिएँ ।

****

हामी साना गल्तीका कारण चुकिरहेका छौँ । तर, मलाई विश्वास छ, हामीले साफ च्याम्पियनसिप जित्छौँ । हामी सक्छौँ पनि । सन्यास लिनुअघि त्यो सपना पूरा गर्न चाहन्छु

करिव ७ महिनापछि म मैदान फर्किएँ । त्यो ७ महिना मैदान बाहिर बस्न असाध्यै अप्ठ्यारो भएको थियो । मेरो बंगरा स्ट्रिच गरिएको थियो । मुख आँ गर्न पनि मुस्किल हुन्थ्यो । झोल कुरा मात्र खानु पर्ने । मभित्र केही गर्छु भन्ने सोच भएकाले मानसिक रुपमा भने बलियो नै थिएँ । युवा रगत थियो, खेल्न जाउँ लागिरहन्थ्यो । त्यसैले घाइते भएको एक डेढ महिनामा त खुट्टाले बल हान्न थालेको थिएँ ।

एएफसी च्यालेन्ज कपको तयारी खेलका क्रममा म २०११ मा राष्ट्रिय टिममा फर्किएँ । पोखरा रंगशालामा भुटानसँग दुईवटा मैत्रीपूर्ण खेल भएको थियो । दुवै खेल हामीले जित्यौँ ।

त्यसपछि एएफसी च्यालेन्ज कप, विश्वकप छनोट र साफ च्याम्पियनसिप सबैमा विस्तारै राम्रो हुँदै गयो । त्यस्तो नराम्ररी घाइते भएर पनि पुनरागमन गर्न सक्दा खुशी लागेको थियो । कमब्याक हुँदा पनि नम्बर वान नै हुन सकेँ । मेरो कमब्याकमा प्रशिक्षक ग्राम रोबट्सले दिनुभएको हौसलाको पनि ठूलो भूमिका छ ।

२०११ कै साफ च्याम्पियनसिपमा भने हामी हार्‍यौं । असाध्यै खिन्नता भयो । साफ च्याम्पियनसिपमा हामी सधैँ दाबेदार टिम हौं । अरुलाई हेर्दा पनि हाम्रो टिम राम्रो भएको हुन्छ । २०१३ को साफमा त नेपालमै भएकाले पनि हाम्रो लागि अवसर विशेष थियो । दुर्भाग्य भन्ने कि के भन्ने हामी सानो गल्तीले हार्‍यौं ।

दशरथ रंगशालामा दर्शकले दिएको त्यो साथ मलाई अहिले पनि याद आउँछ । त्यस्तो उत्सवको माहोल थियो । हामीले खेल जित्ने सक्ने अवस्था पनि थियो तर, सानो गल्तीले हार्नुपर्दा असाध्यै पीडा भएको थियो । हामी साना गल्तीका कारण चुकिरहेका छौँ । तर, मलाई विश्वास छ, हामीले साफ च्याम्पियनसिप जित्छौँ । हामी सक्छौँ पनि । सन्यास लिनुअघि त्यो सपना पूरा गर्न चाहन्छु ।

साफ च्याम्पियनसिपको ट्रफी उचाल्ने मात्र होइन, एसियन कपको फाइनल राउण्ड खेल्ने पनि मेरो इच्छा छ ।

हामीले नसक्ने भन्ने होइन । हामीले त्यहाँसम्म पुग्ने सपना देख्नुपर्छ जस्तो लाग्छ मलाई । तर, त्यहाँसम्म पुग्ने काम भने सुरु गर्नै सकेका छैनौँ । धेरै कुरा सोच्नुपर्ने छ तर, सोच आएकै छैन । साफ च्याम्पियनसिप खेलेपछि हामीले कुनै खेल नै खेलेकै छैनौँ । भारतलाई हेरौं न, उसले एकपछि अर्को खेल खेलिरहेको छ ।

नेपालमा लिग भइरहेको छ, मोफसलमा पनि फुटबल हुन्छन् । तर, यसले मैत्रीपूर्ण खेलहरु खेल्न रोक्दैन । माल्दिभ्सलाई नै हेर्नुस् न, लिग हुँदाहुँदै पनि मैत्रीपूर्ण खेल खेल्न मलेसिया गयो । हामी चाहिँ आएको खेल पनि रद्द गरेर बसिरहेका छौँ ।

क्लब फुटबल करियर भने मच्छिन्द्रबाट सुरु भएको हो । त्यसबेला म भर्खर १८ वर्षको थिए । त्यसपछि थ्री स्टारबाट ८ वर्ष जस्तो खेलेँ । त्यहाँबाट मनाङ मर्स्याङ्दी गएँ । मनाङ गएको छोटो समयमै माल्दिभ्सको टिसी स्पोर्टसमा आवद्ध भएँ ।

माल्दिभ्समा पनि राम्रो खेल देखाउन सकेँ भन्ने लाग्छ । त्यहाँ सबैजना खुशी भएका थिए । त्यसपछि मिनेर्वा पञ्जाव एफसी, भारतमा गएँ । त्यहाँ पनि हामी आई लिग विजेता बन्यौँ । विदेशी क्लबमा गएर पनि राम्रो गर्न सक्दा खुशी लाग्छ ।

विदेशी क्लबबाट खेल्ने अबसर पाउँदा मैले आफूलाई पनि थप सुधार गर्दै लैजान सकेको छु । माल्दिभ्समा अहिले टिसी स्पोर्टसबाटै दोस्रो सिजन खेलेर लिग जिताउन सकेँ । लिगकै उत्कृष्ट गोलकिपरको अवार्ड जित्न पाउँदा खुशी लाग्यो । त्यहाँ अवार्ड पाउँदा राष्ट्रिय झण्डा ओढेर अवार्ड लिएको थिएँ । नेपालको गोलकिपर भएर विदेशमा आफूलाई चिनाउन पाउँदा गर्व लाग्छ । नेपालका लागि एक खेलाडीले गर्न सक्ने कुराहरु पनि तिनै हुन् जस्तो लाग्छ ।

गएको सिजनभन्दा यो सिजन टिसी क्लबमा राम्रो गर्न सकेँ । त्यसले आफूलाई पनि फाइदा भएको छ । फेरि टिसीमा या अरु कुनै क्लबमा माल्दिभ्स जाने सम्भावना पनि छ । नयाँ सिजनको जनवरी ट्रान्सफरमा अरु कुनै देश जाने सम्भावना पनि छ । भारत र माल्दिभ्समा त खेलिसकेँ, हेरौँ अब समयले कता डोहोर्‍याउँछ । राम्रो अवसर पाएँ भने अन्त पनि गर्छु भन्ने इच्छा छ ।

विदेशमा गोलकिपरका लागि भने अलि अप्ठ्यारो नै छ । अवसर असाध्यै कम आउँछ । युरोप र अमेरिकामा खेल्नका लागि त एजेन्ट नै राम्रो हुनुपर्छ जस्तो लाग्छ । अवसर पाएँ भने जहाँ गएर पनि नेपाल चिनाउने गरी राम्ररी खेल्ने छु ।

****

मेरो अनुभवका आधारमा भन्दैछु, राष्ट्रिय टिमबाट खेल्दा र अन्तर्राष्ट्रिय क्लबबाट खेल्दा दबावको हिसाबले त उस्तै हुँदोरहेछ । राष्ट्रिय टिमबाट खेल्दा देशलाई केही दिन सक्नुपर्छ भन्ने हुन्छ । खेलमा राम्रो गर्ने दबाव भने उस्तै हुन्छ ।

अन्तर्राष्ट्रिय क्लबबाट देशकै खेलाडीलाई भन्दा धेरै पैसा दिएर झिकाउने भएकाले उनीहरुको अपेक्षा पनि धेरै नै हुन्छ । अझै पनि बाहिर गएर लिगहरु खेल्न मन छ । नयाँ नयाँ चुनौती लिन मन लाग्छ । मानिसहरुले देख्दा एक हिसाबले मलाई पूर्ण देख्लान् तर, म अझै केही सिक्न सकिन्छ कि, अझै केही गर्न सकिन्छ भनेर सोचिरहेको हुन्छु । त्यो कुरा बाहिर गएर खेल्दा हुनसक्छ ।

अरु देशमा लिग खेल्दा मलाई मात्र होइन, नेपालको राष्ट्रिय टिमलाई पनि फाइदा नै हुन्छ । पछिल्लो पुस्तालाई मेरो अनुभवले केही सिकाउन सक्छु कि भन्ने पनि छ ।

बाहिर बसे पनि म नेपाली फुटबलबारे अनविज्ञ छैन । आजभन्दा पाँच वर्ष अगाडिको लिग जुन स्तरको थियो, अहिले त्यो स्तरको देखिँदैन । खै के भन्नु हाम्रो स्तर किन पो घट्दै गयो । लिगको सिस्टम नै राम्रो भएको छैन । विकास हुँदै जानुपर्ने फुटबल हामीले अर्को स्तरका लागि सोचेकै छैनौँ कि जस्तो लाग्छ ।

मैले माल्दिभ्समा दुई वर्ष खेल्दा देखेको छु, त्यहाँ एकदमै योजनामा काम भइरहेको छ । लिग खेल्ने हरेक क्लबको एकेडेमी छ । हाम्रो यहाँ त त्यो सोच देखिएकै छैन ।

टिसी स्पोर्टस क्लबको एकेडेमीमा मात्र करिव ५० जना बच्चाहरु नियमित फुटबल सिकिरहेका छन् । उनीहरुले हरेक दिन अभ्यास गर्दै गएपछि राम्रो फुटबल त अवश्य नै हुन्छ ।

नेपालमा राष्ट्रिय टिमले नै त्यसरी खेल्न पाएको छैन । एन्फाको एउटा कृत्रिम मैदानमा सबै कुरा निर्भर हुँदै गइरहेको छ । हामी यसरी नै गयौँ भने त धेरै नै पछि पर्छौ, दक्षिण एसियामै मात्र सिमित हुन्छौं भन्ने डर लाग्छ ।

प्रस्तुतीः सरोज तामाङ/ ऋग्वेद शर्मा
तस्वीर/भडियोः शंकर गिरी

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ यो १५ औँ श्रृङ्खला हो । यो अंकमा राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङको कथा उनकै शब्दमा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment