Comments Add Comment

ओलीले माधव गुटलाई खेदेकै हुन् त ? यस्तो रहेछ तथ्यांक

५ पुस, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने नेताहरुले उनीमाथि लगाएको एउटा आरोप छ– पार्टी एकताका नाममा एउटा विचार समूहलाई खेद्ने काम भयो ।’

प्रधानमन्त्री ओलीमाथि यो आरोप लगाउने अधिकांश नेताहरु पूर्वएमालेमा माधवकुमार नेपाल गुटमा थिए । यद्यपि तत्कालीन माओवादी केन्द्रका नेताहरुले पनि पार्टीमा जिम्मेवारी दिँदा विधान र मापदण्ड मिचिएको गुनासो गरेका छन् ।

ओली–नेपाल गुटको गाढा रंग

एमाले र माओवादीबीच एकता भएको ८ महिना पुग्नै लाग्यो । तर, स्थायी कमिटीको यो बैठक पहिलो हो । लगातार बैठक माग गर्दै आए पनि नेतृत्वले टार्दै आएको थियो ।

शुक्रबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ३४ जना स्थायी कमिटी सदस्यले बोलेका छन् । एक नेताका अनुसार बैठकमा तत्कालीन एमालेका माधव नेपाल र केपी ओली गुट प्रष्ट छुट्टिएका छन् । नेपाल गुटका नेताहरु आक्रामक छन् र उनीहरुले पार्टी नेतृत्व र सरकारको कामकारबाहीमा एकपछि अर्को प्रश्न उठाएका छन् ।

ओली समूहका नेताहरुले नेतृत्वको बचाउ त गरेका छन्, तर, आक्रामक होइन, रक्षात्मक देखिएका छन् । ‘ओलीको विरोध गर्नेहरु हुन् कि विरोध गर्ने, सबैले आ–आफ्नो गाढा रंग देखाएका छन्’, एक नेताले भने, ‘गुटबाट यताउता भएका छैनन् ।’

उसोभए नेपाल समूहले अध्यक्ष ओलीमाथि लगाएको आरोप गुटगत स्वार्थबाट पे्ररित त छैन ? यो प्रश्नमा नेपाल समूहका एक नेताले पार्टी एकतापछि पाएको राजकीय नियुक्ति तथा जिम्मेवारीको हिसाब–किताब यसरी सुनाए–

नेकपाको स्थायी कमिटीमा तत्कालीन एमालेका २६ जना छन् । जसमा नवौं महाधिवेशनमा ओलीलाई भोट हालेका १४ र नेपाललाई भोट हालेका १२ जना छन् ।

ओलीलाई मत दिएका १४ मध्ये १२ जना अहिले राजकीय नियुक्ति तथा जिम्मेवारीमा छन् । नेपाललाई भोट हालेका एकजना मात्रै ।

ओलीलाई भोट हालेकी विद्या भण्डारी राष्ट्रपति छिन् भने ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रघुवीर महासेठ मन्त्री छन् । शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री र प्रदेश इञ्र्चाज छन् । सुवास नेम्वाङ संसदीय दलका उपनेता र विष्णु पौडेल नेकपाको महासचिव छन् । सत्यनारायण मण्डल प्रदेश इञ्चार्ज र प्रदेश २ को प्रदेशसभामा संसदीय दलका नेता छन् ।

ओलीलाई भोट दिने मध्येका किरण गुरुङ प्रदेश सरकारमा मन्त्री छन् भने विष्णु रिमाल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार र पुष्प कँडेल योजना आयोगका उपाध्यक्ष बनाइएका छन् । ओलीलाई भोट हालेका वामदेव गौतम र मुकुन्द न्यौपाने मात्रै जिम्मेवारीमा छैनन् । गौतम र न्यौपाने दुबै अहिले ओलीका आलोचक बनेका छन् ।

ओलीलाई भोट नहालेका तर, उनको नेतृत्वमा राजकीय नियुक्ति तथा जिम्मेवारी पाउनेमा गोकर्ण विष्ट एक्ला हुन् । उनी माधव नेपाल समूहबाट सचिव बनेका थिए ।

एक नेता भन्छन्, ‘प्रदेश सरकार गठन र अरु जिम्मेवारी पनि यस्तै अवस्था छ । पार्टी सत्ता हातमा भएको बेला संरचनागत धाँदली, षड्यन्त्र गरेर फरक विचार समूहका नेताहरुलाई लेखेट्ने, खेद्ने र सत्यानाश पार्ने काम भएको छ ।’

प्रचण्डजस्तै माओवादी नेताहरु

नेकपाको स्थायी कमिटीमा तत्कालीन माओवादीका १९ जना छन् । तर, प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ समूहका आधारमा छानिएका थिए ।

जारी स्थायी कमिटीको बैठकमा भने तीनै गुटका नेताहरु उस्तै देखिएका छन्, जस्तो नेकपाभित्र प्रचण्डको अवस्था छ । मन्त्री भएकाहरु सरकारको आलोचना गर्ने अवस्थामा छैनन्, त्यसैले पार्टीमा विधि मापदण्ड पालना होस् भन्छन् । सरकारमा नभएकाहरु सरकारलाई प्रभावकारी बनाउनुपर्छ भन्छन् ।

एक नेता भन्छन्, ‘माओवादी नेताहरु प्रचण्डजस्तै बीचबीचमा बसेर बोल्नुहुन्छ । नेतृत्वको समर्थन पनि गर्नुभएको छैन, हामीले जस्तो खुलेर विरोध पनि गर्नुहुन्न ।’

उनका अनुसार प्रचण्डले पार्टी अध्यक्ष ओलीसँग संघर्ष गर्न पनि गरेका छैनन् र आत्मसमर्पण पनि गरिहालेका छैनन् ।

आलोचनामै सीमित रहलान् नेताहरु ?

नेकपा स्थायी कमिटीमा अब ११ जनाले बोल्न बाँकी छ, जसमध्ये केही विदेशमा छन् । त्यसैले अब सचिवालयमा भएका प्रभावशाली नेताहरुले बोल्ने क्रम सुरु हुनेछ ।

सचिवालयमा भएका बामदेव गौतमले लिखित प्रस्ताव नै राखेका छन् । माधव नेपाल अहिलेसम्म मौन छन् ।

एक नेताका अनुसार नेताहरु बोल्दा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले गम्भीर भएर सुन्ने गरेका छन् । उनी आलोचनाबाट आत्तिएका छैनन् । किनकि यसले सत्ता हेरफेर गर्ने होइन । नेपाल समूहका एक नेता भन्छन्, ‘हामीले पनि प्रधानमन्त्रीलाई पदबाट हटाउन चाहेका होइनौं । अहिले हटाउनु पनि हुँदैन ।’

आलोचना गर्नेहरु पनि स्वीकार गर्छन् कि अहिले नै केही हात लागिहाल्ने अवस्था छैन । तर, बाहिर ठूला कुरा गर्छन् र ओलीका सामुन्ने बोल्न सक्दैनन् भन्ने भ्रम चिरेको उनको दाबी छ । ‘हामी पनि आफ्ना कुरा राख्न डराएनौं, सबैले ओलीकै नाकै अगाडि औंला उठाएका छौं’ उनी भन्छन् ।

उनको दाबीअनुसार यो बैठकपछि अब पार्टीभित्रको दायरा फराकिलो हुनेछ । र, अर्का अध्यक्ष प्रचण्डले पनि नेताहरु आफ्ना कुरा ढुक्कसँग राख्न सक्दारहेछन् है भन्ने सन्देश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment