Comments Add Comment

लौ हेर्नुहोस् नेपालमा प्रतिन्धित भारु !

५ पुस, विराटनगर । मन्त्रिपरिषदले भारु २००, ५०० र २००० का नोटमाथि प्रतिबन्ध लगाए पनि बिराटनगरमा यसको पालना भएको देखिएन ।

विहीबार अनलाइनखबरकर्मी बिराटनगरस्थित आँखा अस्पतालमा पुग्दा प्राङ्गणमा बिरामीका आफन्तहरु भारु नोट सुम्सुम्याइरहेका थिए, जसमा प्रतिबन्धित दुईसय दरका नोट पनि थिए ।

भारतको पश्चिमबंगाल राज्यको दिनाजपुरबाट अनिल नट्टो आँखाको उपचारका लागि प्रतिबन्धित भारु नोटहरु बोकेर बिराटनगर आँखा अस्पतालमा आएका रहेछन् ।

उपचारका लागि भारु २०० दरका नोट लिएर आएका उनी नेपालका नोट नचल्ने सुनेपछि अल्मलमा परेका देखिन्थे ।

‘उपचारका लागि आउँदा यी नोट लिएर आएका थियौं’ नट्टोस“गै उपचारका लागि आएका बप्पी मल्लकारले अनलाइनखबरसँग भने –‘अब यी नोटहरु कहाँ साट्नू ?’

मल्लकार नेपालमा भारु नोट प्रतिबन्ध भएको विषयमा यसअघि जानकार थिएनन् ।

आँखाको उपचारकै लागि बिहार सहर्साबाट आएका महेन्द्र पोद्दारले पनि नोटबन्दीले नम्बरी (१०० को) नोट खोज्न समस्या परेको गुनासो पोखे ।

विराटनगरको सीमावर्ती क्षेत्र रानीमा खुलेको विराटनगर आँखा अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीमध्ये आधाभन्दा बढी भारतीय नागरिक हुन्छन् । १०० रुपैयाँ भन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लागेपछि पारिबाट उपचारमा आउने सेवाग्राही मर्कामा परेका हुन् ।

यो आँखा अस्पतालमा भारतबाट दैनिक ८ सयदेखि एक हजार जनासम्म सेवाग्राहीहरु आउँछन् ।

भारतका ग्रामीण क्षेत्रबाट भारु बोकेर उपचारका लागि नेपाल आउने सेवाग्राहीले जटिल समस्या भोग्नुपरेको अस्पतालका कार्यक्रम संयोजक सुधीर ठाकुरले अनलाइनखबरलाई बताए ।

बिराटनगरमा रहेका गोल्छा, तापडिया, बिराट र बिराटनगर आँखा अस्पतालमा आउने अधिकांश बिरामीहरु भारतीय छन् ।

नेपाल सरकारले भारु २००, ५०० र २००० नोटमा लगाएको प्रतिबन्धको असर सीमावर्ती बजार जोगवनीमा भने खासै असर नपरेको जोगबनीका स्थानीय व्यापारी बताउँछन् ।

बिराटनगर महानगरपालिकाभित्र नसाटिएका प्रतिबन्धित नोट बोकेर मानिसहरु जोगवनी नाकासम्म जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment