Comments Add Comment

प्रहरीले अनावश्यक दु:ख दिएको होटल व्यवसायीको गुनासो

६ पुस, पोखरा । पोखराको पृथ्वीचोकका होटल व्यवसायीहरुले अनावश्यक रुपमा आफूहरुलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् ।

पृथ्वी होटल व्यवसायी समितिले जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा शुक्रबार पोखरामा आयोजना गरेको अन्र्तक्रियामा होटल व्यवसायीहरुले विभिन्न बाहनामा प्रहरीले दुःख दिएको गुनासो गरेका हुन् । उनीहरुले व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन हरदम तयार भएपनि प्रहरीले कहिले ढिलो बेलासम्म खोलेको त कहिले यौन क्रियाकलापलाई प्रश्रय दिएको भन्दै दुःख दिने गरेको गुनासो गरे ।

पृथ्वी होटल व्यवसायी समिति पोखराका संस्थापक अध्यक्ष रिजन शेरचनले प्रहरीले साँझ ८÷९ बजे नै आएर किन ढिलासम्म होटल खोलेको भन्दै होटल बन्द गर्न लगाउने गरेको गुनासो गरे । होटल व्यवसायीको पीडा धेरै रहेको बताउँदै उनले बरु राज्यले निर्देशन दिए आफूहरु पाहुनाको परिचय पत्र राख्न तयार रहेको बताए । होटल व्यवसायी भन्दा पनि हिनताबोध हुने स्थिति प्रहरीका कारण आएको बताउँदै उनले भने,‘कहिले ९ नबज्दै प्रहरी आएर होटल बन्द गर भन्छ, अलि कमाइ भयो भने घरबेटी आएर होटल खाली गर भन्छ, हामी लगानीकर्ता भएर पनि दोहोरो मारमा छौं ।’

समितिका निवर्तमान अध्यक्ष कमलप्रसाद न्यौपानेले साना होटल व्यवसायीहरुलाई प्रहरीले हेपेको गुनासो गरे । ठूला स्टार होटलहरुमा छापा मार्न नसकेको प्रहरीले आफूहरुलाई भने दुःख दिनेगरेको भन्दै उनले भने,‘स्टार होटलहरुमा त कहिले पनि छापा मारिदैन, जहिले पनि हामी साना होटल व्यवसायीलाई मात्र दुःख दिन्छ प्रहरीले ।’ उनले महिला पुरुष छुट्टाछुट्टै राखेर होटल नचल्ने भएकाले मर्यादित रुपमा होटल सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गरे । उनले राति ११ बजेसम्म होटल खोल्ने वातावरण बनाउन पनि आग्रह गरे ।

समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले होटलका नियमहरु बनाएर दिए लागू गर्न आफूहरु तयार रहेको बताउँदै तर अनावश्यक रुपमा दुःख नदिन आग्रह गरे । उनले मापदण्ड तोड्ने होटल व्यवसायीलाई कार्वाही गर्न आफूहरु तयार रहेकोसमेत जानकारी गराए ।

समितिका बरिष्ठ उपाध्यक्ष बालकृष्ण निउरेले प्रहरीले सुरक्षा दिएर होटललाई मर्यादित बनाउनुपर्नेमा उल्टै होटल व्यवसाय नै धरासायी हुनेगरी दुःख दिएको गुनासो गरे । उनले वातावरण बनाए आफूहरु होटलमा रहेका विकृति विसंगति अन्त्य गर्दै आपराधिक कृयाकलाप न्यूनिकरणका लागिपनि सघाउन तयार रहेको बताए ।

व्यवसायी नारायण अधिकारीले ग्राहक खोज्दै गरेको यौनकर्मी देख्दा मौन बस्ने प्रहरी बेलुका होटलमा छापा मार्न भने आइपुग्ने गरेको टिप्पणी गरे । उनले जानेर गरेको गल्ती भए होटल व्यवसायीलाई कारबाही गर्नुपर्ने तर नजानेर हुने गल्तीमा माफी दिइनुपर्नेमा जोड दिए ।

होटल व्यवसायी तारादेवी गुरुङले प्रशासनले तोकेको समयसम्म होटल खोल्दा पनि प्रहरी आएर किन खोलेको होटल भन्दै दुःख दिनेगरेको भन्दै निर्वाध रुपमा होटल सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे । उनले राति आएका पर्यटकले बस नपाउने, अनि ट्याक्सी चढेर लेकसाइड पुग्दा पैसा पनि धेरै पर्ने र त्यहाँको होटलमा महंगो पर्ने भए पनि प्रहरीले पृथ्वीचोकमा चाँडै होटल बन्द गराएर त्यस्ता पर्यटकलाई दुःख दिनुका साथै आफूहरुको रोजीरोटीमासमेत असर पारेको आरोप लगाए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले होटल व्यवसायीलाई दुःख दिने आफूहरुको नियत नभएको स्पष्ट पारे । उनले विकृति विसंगति सबैले मिलेर अन्त्य गर्नुपर्ने बताउँदै त्यसका लागि कहिलेकाहीँ होटलमा छापा मार्नुपरेको स्पष्टीकरण दिए ।

उनले कसैले डर, धम्की वा त्रास देखाएमा जानकारी गराउन आग्रह गर्दै त्यस्तो पाइए जो कोही भए पनि कार्वाही गर्ने प्रतिबद्धता जनाए । एसपी रानाले होटलमा बास बस्नेको पूर्ण परिचय राख्न आग्रह गर्दै परिचय पत्र नै राख्नेबारेमा पनि छलफल गरेर लागू गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment