Comments Add Comment

फास्ट ट्रयाकमा फनफनी घुमेर नेताज्यू मख्ख ! (१५ तस्वीर)

६ पुस, काठमाडौं । नेपाली सेनाले सरकार र संसदीय समितिसँगको ब्रिफिङमा सधैं भन्दै आएको थियो, ‘काठमाडौं–तराई द्रुतमार्ग द्रुत गतिमा बनिरहेको छ ।’ तर, डीपीआर नबनाई द्रुतमार्ग कसरी बन्दैछ भन्नेबारे सांसदहरुले पटक–पटक प्रश्न तेस्र्याइरहेका थिए ।

शुक्रबार दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित संसदको विकास समितिका सांसदहरु सेनाको हेलिकोप्टर चढेर फास्ट ट्रयाकको निरीक्षण गर्न निस्किए ।

काठमाडौंबाट उडेको सेनाको हेलिकोप्टर निजगढमा उत्रियो । त्यहाँ सेनाले गाडीहरु लामवद्ध रुपमा तयार राखेको थियो । तिनै गाडी चढेर सांसदहरु त्यहाँबाट १२ किलोमिटरसम्म बनिरहेको द्रुतमार्गतर्फ लागे ।

सेनाले निजगढको जंगलबाट चुरेको फेदीसम्मको समथर क्षेत्रमा द्रुतमार्ग बन्ने उचाइसम्म माटो भर्ने काम लगभग अन्तिम चरणमा पुर्‍याएको नेताहरुलाई देखायो । समथर क्षेत्रको फराकिलो बाटो हेरेपछि सांसदहरु दंग परे ।

त्यहाँका स्थनीयले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई फास्ट ट्रयाक सेनालाई दिने निर्णय सही भएको सुनाए । तर, अन्य ठेकदारलाई दिएको भए यति छिटो काम हुनै नसक्ने भन्दै स्थानीयले सेनालाई विवादमा नल्याउन आग्रह गरे ।

कांग्रेसकी महासमिति सदस्य मीना लामाले द्रुतमार्गमा सेनाको काम हेरेर आफूहरु निकै खुसी भएको सुनाइन् । निगगढका स्थानीयले पनि आफूहरु प्रभावित क्षेत्रका बासिन्दा भएकाले द्रुतमार्ग निर्माणको काममा दिन सकिने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने मागसमेत राखे ।

सांसदको टोली त्यहाँबाट हेलिकोप्टर चढेर मकवानपुरको राजदमारमा ओर्लियो । मकवानपुरको बबैया गाउँपालिकामा पर्ने राजदमार त्यो ठाउँ हो, जहाँ फास्ट ट्रयाक र मदन भण्डारी राजमार्ग एक आपसमा जोडिन्छन् । त्यहाँ पनि धमाधम काम भइरहेको देखेपछि सांसदहरुले सेनासँग कामको गति सन्तोषजनक देखिएको भन्दै लक्ष्य हेरेर अझै तीव्र बनाउन आग्रह गरे ।

त्यहाँका स्थानीयले सांसदको टोलीलाई मदन भण्डारी राजमार्गको इन्टरचेञ्ज राजदमारमै राख्न माग गर्दै ज्ञापनपत्र नै बुझाए ।

त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टर मकवानपुरको मकवानपुर गढी गाउँपालिकाको बुदुनेमा ओर्लियो । बुदुने फास्ट ट्रयाकको पहिलोपटक शिलान्यास भएको स्थान हो । माधव नेपाल प्रधानमन्त्री भएका बेला तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजय गच्छदार त्यहाँ पुगेर फास्ट ट्रयाकको शिलान्यास गरेका थिए । त्यसपछि नै सेनाले ट्रयाक खोल्ने काम सुरु गरेको थियो ।

संसदीय टोलीले त्यहाँ पनि सेनाले गरिरहेको कामको स्थलगत अवलोकन गर्‍यो । त्यहाँ सेनाले पहाडै काटेर बाटो निर्माण गरिरहेको देखेपछि सांसदको टोलीले चासोपूर्वक ब्रिफिङ लिए ।

दुई दर्जन बढी एक्साभेटर, माटो बोक्ने ट्रिपर र रोलरहरु एकैसाथ फिल्डमा देखिँदा फास्ट ट्रयाकको काममाथि प्रश्न उठाउने आँट कुनै सांसदले फिल्डमा गर्न सकेनन् ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल फोटोका लागि शौखिन मानिन्छन् । उनले बुदुनेको शिलान्यासस्थलमा राखिएको शिलालेख अगाडि उभिएर सिंगल फोटोसमेत खिचाए । उनी आफू प्रधानमन्त्री हुँदा सुरु गरेको कामको प्रगति हेरेर प्रफुल्लित देखिन्थे ।

बुदुनेबाट संसदीय टोली हेलिकोप्टरबाटै मकवानपुरगढीकै लेनडाँडामा उत्रियो । लेनडाँडा कान्तिराजथप र फास्ट ट्रयाकको मिलन विन्दु हो । संसदीय टोली पुग्दा त्यहाँ पनि सेनाले काम रोकेको थिएन । चट्टानहरु फुटाउन लेनडाँडामा पटक–पटक ठूलो आवाजमा गरिएको ब्लास्टिङ समेत नेताहरुका कानमा पर्‍यो ।

लेनडाँडा फास्ट ट्रयाककै सबैभन्दा जटिल विन्दु हो । यहाँ एडीबीले गरेको सम्भाव्यता अध्ययनमा एउटा मात्रै सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको थियो । यहाँ झण्डै साढे २ सय मिटर अग्लो र निकै लामो पुल पनि प्रस्ताव गरिएको थियो ।

तर, सेनाका फास्ट ट्रयाक आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडका अनुसार यहाँको भौगर्भिक अवस्थाको विस्तृत अध्ययन गर्दा अग्लो पुल बनाउन उपयुक्त देखिएन । ६० वर्षपछि पिच हुन लागेको कान्तिराजपथ जोगाउन यहाँ सुरुङमार्ग जरुरी देखिएको जर्नेल खाँडले जानकारी दिए । माथिबाट फास्ट ट्रयाक जान असहज भएकाले त्यसरी निर्माण गर्दा कान्तिराजपथ नै जोखिममा पर्ने तर्क नेपाली सेनाका अधिकारीहरुको छ ।

‘यहाँ महाभारत र शिवालिक पर्वतको संगम हुन्छ, त्यसैले ठूलो भूकम्प आयो भने अग्लो पुलमा समस्या आउन सक्छ,’ खाँडले भने, ‘त्यसैले यो निकै जटिल भूगर्भलाई ख्यालमा राखेर हामीले तीनवटा खण्डमा ६.५ किलोमिटरको सुरुङ प्रस्ताव गरेका छौं । त्यसैकारण करिब ९ किलोमिटर खण्डमा हामीले काम गरेका छैनौं ।’

खाँडले माघ मध्यसम्म कोरियाली कम्पनीले डीपीआर रिपोर्ट दिने र त्यसै आधारमा सुरुङमार्ग निर्माणको काम अघि बढाइहाल्ने भन्दै सांसदहरुलाई आश्वस्त पारे । उनले सुरुङमार्ग भन्दा ४ अर्ब बढीलागत लागे पनि त्यसले द्रुतमार्गलाई सहज र विश्वसनीय बनाउने दाबी पेश गरे ।

त्यहाँको ब्रिफिङ सुनेपछि सांसदको टोली मख्खुबेसीमा झर्‍यो । त्यहाँका विभिन्न खण्डमा पनि लक्षअनुसार नै काम भइरहेको रिपोर्ट सेनाले दियो ।

संसदको विकास समितिकी सभापति कल्याणी खड्काले द्रुतमार्गको अवलोनपछि कतिपय विषयमा रहेका आशंका हटेको प्रतिक्रिया दिइन् । उनले यो परियोजनाले देशलाई समृद्धि बनाउने ढोका खोल्ने भएकाले निर्धारित समयमै काम सक्ने गरी काम गर्न सेनलाई निर्देशन दिइन् ।

‘सेनाको जुन स्वच्छ छवि छ, त्यो यहाँ पनि कायम रहोस्,’ खड्काले भनिन्, ‘यहाँ कुनै समस्या पर्‍यो भने विकास समितिले पनि सहजीकरण गर्छ ।’

उनले द्रुतमार्गबाट प्रभावित स्थानीयले पनि विभिन्न माग उठाएको भन्दै यथाशक्य समाधानका लागि सरकारलाई जिम्मेवार बनाउन समितिले भूमिका खेल्ने बताइन् ।

मख्खुबेंसीबाट सेनाको हेलिकोप्टर काठमाडौंका लागि उड्नै लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अनलाइनखबरले सोध्यो– फास्ट ट्रयाकमा सेनाले गरेको काम कस्तो लाग्यो ? उनले छोटो जवाफ फर्काए– काम गज्जबसँग भइरहेको रहेछ । ज्यादै राम्रो लाग्यो । खुसी लाग्यो ।’

थप तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment