Comments Add Comment

कृष्णप्रकाश श्रेष्ठः नेपालमा कम्युनिस्ट उमार्ने लेखक

एक महिनाअघि रुसको राजधानी मस्कोमा रहेको नेपाली रेष्टुराँ ‘आउरा’ मा साहित्यकार कृष्णप्रकाश श्रेष्ठले आफ्नो ८० औं जन्मोत्सव मनाए । समारोहमा धेरैको शुभकामना प्राप्त भयो । शुभकामना पठाउनेमा प्रतिबद्ध कम्युनिस्ट र केही पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरु पनि थिए ।

नेपाली साहित्यले उति नसम्झेको तर कम्युनिस्ट राजनीति गर्ने अध्ययनशील व्यक्तिहरुले श्रद्धापूर्वक पढेका व्यक्ति हुन्, कृष्णप्रकाश श्रेष्ठ । स्वर्गीय मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनालदेखि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले कृष्ण्प्रकाश श्रेष्ठसँगको भेटमा लेनिन साहित्य पढाउन उनको ठूलो योगदान भएको बताएका थिए ।

प्ाञ्चायतकालमा मनमोहन अधिकारी रुसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा लुकिछिपी मस्को पुगेका थिए । पार्टीका महत्वपूर्ण नेताहरुसँग अधिकारीको भेटघाट गराउन तोकिएका सहयोगी थिए यिनै लेखक । त्यो बेला रुसले नेपालका कम्युनिस्ट नेताहरुलाई बेला बेलामा रुस भ्रमणको निमन्त्रणा गर्थ्यो । त्यस्तो भ्रमणको महत्वपूर्ण भेटघाटमा दोभाषे उनै श्रेष्ठ हुन्थे ।

आज नेपालमा कम्युनिस्ट दर्शनमा झुकाव राख्ने दलहरु मिलेर बनेको दुई तिहाइको सरकार छ । नेपालमा यति दह्रो सरकार बन्नुमा श्रेष्ठको अनूदित साहित्यको कुनै न कुनै योगदान छ । दुई वर्षअघि मस्कोस्थित नेपाली राजदूतावासको एउटा कोठामा श्रेष्ठले यो पङ्तिकारसँग भनेका थिए, ‘म कहिल्यै लेनिनले कल्पना गरेको कम्युनिस्ट बनिनँ, तर मेरा अनूदित साहित्यले नेपालमा कम्युनिस्ट बढाउन ठूलो योगदान गरेको छ भन्दा असत्य हुँदैन । यो कुरा स्वयं नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले भन्ने गरेका छन् ।’

श्रेष्ठले मार्क्स र एन्गेल्सका ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ र लेनिनका ‘केबाट शुरु गर्ने?’ ‘गाउँका गरीबहरुलाई’, ‘राज्य क्रान्ति’ जस्ता नेपालमा कम्युनिस्ट चेतनाको बिऊ छर्ने पुस्तकहरु नेपालीमा अनुवाद गरेका थिए । उनले ‘दर्शनशास्त्रको प्रारम्भिक ज्ञान’ र ‘संक्षिप्त राजनीतिक अर्थशास्त्र’ जस्ता आधारभूत कम्युनिस्ट साहित्यको अनुवाद पनि गरे । परम्परागत साहित्य मात्रै पढ्न पाइने त्यो बेलाको नेपालमा नेपाली भाषामा यस किसिमका पुस्तकले युवाहरुको सोच परिवर्तन गरेको कम्युनिस्ट नेेताहरुले बताउने गरेका छन् ।

मस्कोबाट प्रसारण हुने रेडियो कार्यक्रम ‘रुसी नेपाली सेवा’का पत्रकारका रुपमा ४० वर्षभन्दा बढी काम गरेका कृष्णप्रकाश श्रेष्ठ रुसमा नेपाल चिनाउने एक्लो व्यक्ति हुन्

राजनीतिका सामग्री अनुवाद गर्नु उनको ‘जागीर’ थियो । यही कारण उनी नेपालका शीर्ष नेताहरुले दिएको जसबाट फुरुक्क पर्दैनन् । रुसी साहित्यलाई नेपालीमा सहज उपलब्ध गरेको कामको जस भने लिन खोज्छन् । रुसी साहित्यका आदिकवि पुस्किनदेखि महान साहित्यकार लियो टोल्सटोय र मेक्सिम गोर्कीसम्मका महत्वपूर्ण कृतिहरु उनैले रुसी भाषाबाट नेपालीमा अनुवाद गरे ।

रुसी महाकवि अलेक्सान्द्र पुश्किनकोे चर्चित काब्य ‘जिप्सी’, गद्यकृति ‘देल्किनका कथाहरु’, ‘दुब्रोभ्स्की’, काव्यसंग्रह ‘रुसाल्का’ र इभान तुर्गेनेभका ‘गद्यमा कविता’ तथा ‘पिता र पुत्र’, ग्रीनका कथाहरुसहित ‘राता पालहरु’, सर्वकालीक साहित्यकार मिखाइल शोलोखोभको ‘मान्छेको भाग्य’ र ‘दोनका कथाहरु’ अनुवाद उनैले गरेका हुन् । लियो टोल्सटोयको जीवन दर्शन बोकेको कृति ‘इभान इल्विचको मृत्यु’ लगायतका महत्वपूर्ण कृतिहरु पनि उनैको अनुवादमा नेपालीले पढ्न पाए । १९औं शताब्दीका उच्च बर्गका रुसीहरुको मनोविज्ञान खुलस्त बनाएको लेर्माेन्तोभको ‘हाम्रो जमानाका चरित्रनायक’ को नेपाली अनुवाद पनि उनैको परिश्रम हो ।

करिब ५० वटा रुसका मानक बाल साहित्य, ३० जति कम्युनिस्ट साहित्य र २० भन्दा बढी रुसका मानक साहित्यलाई उनले नेपाली अनुवाद गरेका छन् । उनका दर्जनौ मौलिक कृति पनि छन्, जसमध्ये धेरै प्रकाशन हुन बाँकी छ । नेपाली साहित्यलाई रुसी पाठकमाझ पुर्‍याउने काम पनि उनले गरिरहे । महाकवि लक्ष्मीप्रसाद देवकोटा सहित दर्जनभन्दा बढी नेपाली साहित्यकारका कृति रुसीमा प्रकाशन भएका छन् ।

मस्कोबाट प्रसारण हुने रेडियो कार्यक्रम ‘रुसी नेपाली सेवा’का पत्रकारका रुपमा ४० वर्षभन्दा बढी काम गरेका कृष्णप्रकाश श्रेष्ठ रुसमा नेपाल चिनाउने एक्लो व्यक्ति हुन् । रेडियो मस्कोबाट अवकास लिए पनि आम रुसी नागरिकले सरक्कै चिन्ने जम्माजम्मी एउटा नेपाली कृष्णप्रकाश नै हो ।

राजा महेन्द्रले रुसको राजकीय भ्रमण गर्दा प्रमुख अनुवादक बनेका कृष्णप्रकाश श्रेष्ठले प्रजातन्त्र र गणतन्त्रका नेपाली अधिकारीहरुको पनि दोभाषेको काम गरिरहेका छन् । नेपाल-रुस दौत्य सम्बन्धको ६० वर्षमध्ये करिब ५५ वर्ष उनले प्रमुख अनुवादका रुपमा काम गरे । यो अवधिलाई उनले पुस्तकमा पनि उतारिरहेका छन् ।

रेडियोबाट उमेरका हदका कारण निवृत्त भए पनि पत्रकारिताले उनलाई अवकाश दिएको छैन । ८० वर्षको उमेरमा उनी दैनिक कम्तिमा ५ किलोमिटर हिँडेर स्वास्थ र लेखन दुवैलाई दह्रिलो बनाइरहेका छन् । नेपाल-रुस मैत्री संघका प्रेस प्रमुख, रुस लेखक संघका सदस्य, विश्व नेपाली साहित्य महासंघ केन्द्रीय सल्लाहकार, गैरआवासीय नेपाली संघ, रुसका मानार्थ सदस्य जस्ता पदमा हुनु र आफ्ना अनुभव र घटनाहरुलाई कुनै न कुनै रुपमा उतारिरहेका उनले थपमा थुप्रै पुस्तक लेखिसकेका छन् । ति प्रकाशनको पर्खाइमा छन् ।

मुटु रोगका विरामी भए पनि रुसको सुविधा सम्पन्न अस्प्ताल र चिकित्सकहरुको रेखदेखका कारण अझै १०-१५ वर्ष सकृय रहने आशा उनले राखेका छन् । ‘मेरो भाग्यमा रुसमा बसेर नेपाली भाषासाहित्य र रुससँगको मैत्री सम्बन्धको काममा लाग्नू भनेर लेखेको रहेछ’, अनलाइनखबरसँग उनले भने, ‘यही कारण रुसमा अल्झिरहेँ, आज पर्यन्त नेपाल जाने सपना पाल्दै यहाँ अल्झिरहेको छु ।’

यसरी रुस

कृष्णप्रकाश श्रेठ काठमाडौंका रैथाने र पढन्थे थिए । उनको खलक राणाकालदेखि सरकारी सेवामा थिए । छोरालाई पनि अब्बल दर्जाको सरकारी मान्छे बनाउन उनका बुवाले कृष्णप्रकाशलाई पटना विश्वविद्यालयमा पढाए । संयोग कस्तो कस्तो भयो भने उनले अंग्रेजी साहित्य र अर्थशास्त्रमा स्नातक गरेेकै वर्ष त्रिभुवन विश्वविद्यालय खुलेर स्नातकोत्तर तह सुरु भयो । कृष्णप्रकाश स्नातकोत्तरका लागि त्रिविमा आवेदन दिने पहिलो विद्यार्थी हुन पुगे ।

लोकसेवा आयेगको परीक्षा पनि दिएको हुँदा उनको नाम सरकारी जागिरमा पनि निस्कियो । तर, त्रिविमा दिउँसो पढाइ हुने, जागिर पनि दिउँसै खानुपर्ने । त्यही बेला रुस सरकारको छात्रवृत्तिमा पनि उनको नाम निस्कियो । अंग्रेजी भाषामा सुधार गर्न अमेरिकन लाइब्रेरी धाउनेक्रममा उनले स्याटेलाइट प्रतिस्पर्धामा अमेरिकालाई रुसले उछिनेको खबर सुनेका थिए । त्यसबाट पनि आकर्षित भएर शिक्षा मन्त्रालयमा छात्रवृत्तिमा रुस पढ्न जाने निवेदन हालेका थिए । जागिर खाने कि त्रिविमा पढाइ गर्ने भन्ने दोधारमा परेकै बेला रुसको छात्रबृत्ति पाएको चिठ्ठी उनको हात लाग्यो ।

१३ जनवरी १९६० मा श्रेष्ठ तत्कालीन सोभियत संघको राजधानी मस्को पुगे । विदेशी विद्यार्थीले पहिलो वर्ष रुसी भाषा सिक्नुपर्थ्यो । उनी नेपाली, नेवारी, हिन्दी, अंग्रेजी र संस्कृत भाषा जान्दथे । संस्कृत र अंग्रेजी जानेकाले उनलाई रुसी भाषा सिक्न सजिलो भयो । साहित्यमा रुचि भएका कारण उनी पत्रकारिता पनि पढ्न चाहन्थे । त्यो बेलाको ‘पावर सेन्टर’ गोरखापत्रमा जागीर खाने र नेपालमा सुरु भएको पत्रकारिताको पढाईले उनलाई त्यता आकर्षित गरेको थियो । तर, भाग्यले उनलाई नेपाल फर्कन दिने योजना बनाएको थिएन ।

कृष्णप्रकाश श्रेठले मस्को स्टेट युनिभरसिटीमा पत्रकारिता पढिरहँदा विश्व दुई ध्रुवमा बाँडिएको थियो । एकातिर अमेरिकाको अगुवाइमा कम्युनिस्ट बिरोधी खेमा शक्तिशाली हुँदै थियो भने रुसको अगुवाइमा कम्युनिस्ट दर्शनलाई संसारभरि फैलाउन काम सुरु भएको थियो । त्यही बेला बेलायतको शक्तिशाली सञ्चारमाध्यम विबिसी रेडियोले संसारभर प्रजातन्त्र पक्षमा आवाज उठाउन विभिन्न भाषामा सेवा बिस्तार गरिरहेको थियो । त्यही मेसोमा बेलायतबाट बिबिसी नेपाली सेवा सुरु भएको थियो ।

शक्तिको होडबाजीमा रुसले पनि मस्को रेडियोबाट आधा घन्टा नेपाली कार्यक्रम सञ्चालन गरेर कम्युनिस्ट दर्शनमा रुचि राख्ने श्रोता बढाउने निर्णय गर्‍यो । पत्रकारिता पढेको नेपालीभाषी खोज्दै जाँदा उनीहरूले श्रेष्ठलाई फेला पारेर आकर्षक तलबसहित जागिर खान बोलाए । ‘जागिर नखाऊँ नेपाली कार्यक्रम नचल्ने, खाऊँ नेपाल फर्कने मन छ, साह्रै दोधारमा परेँ’, उनी सम्झन्छन्, ‘अनि पढाइ पूरा नहुन्जेल आंशिक काम गर्छु ।’

जब उनको सर्त स्वीकृत भयो 

पत्रकारिताको कोर्स ५ वर्षको थियो, उनी भर्खर तेस्रो वर्षमा थिए । त्यहि बेला नीलाम्बर आचार्य पनि त्यही विश्वविद्यलायको पत्रकारिता विभागमा भर्ना हुन आई पुगे । कृष्णप्रकाशले नीलाम्बर र मीना आचार्य (पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी)लाई साथ लिएर सन् १९६३ मा मस्को रेडियोमा नेपाली कार्यक्रम सुरु गरे । राजा महेन्द्रदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू उक्त रेडियोमा अतिथि बन्दै गए ।

१९६६ मा श्रेष्ठको पढाइ सकियो । उनले रेडियोलाई राजिनामा बुझाएर नेपाल फर्कने योजना बनाएका थिए । तर, रेडियोले उनी जस्तै अर्को जनशक्ति तयार नभइञ्जेल छाड्न नमिल्ने बताउँदै पूर्णकालीन काम गर्न लोभलाग्दो सेवा सुविधाको प्रस्ताव राख्यो । त्यसमा भनिएको थियो- ‘तलब बाहेक मस्कोमा आवासका साथै प्रत्येक तीन वर्षमा नेपाल जाने-आउने सम्पूर्ण सुविधा । नेपालमा तीनमहिने बिदा बस्दा खाईपाई आएको सुविधा कट्टा नहुने । जागिरपछि नेपाल बस्न चाहे रुसमा बस्दा पाइने बराबरको सञ्चयकोष, स्वास्थललगायतका सबै सुविधा ।’

त्यो बेला रुबलको भाउ अमेरिकी डलरको हाराहारीमा थियो । उनलाई प्रस्ताव गरिएको सुविधा रुसमा  कुनै विदेशीले पाउने उत्कृष्टमा पर्थ्यो ।

‘काम मस्को रेडियोको, सुविधा तिमीले चाहेको…’ रेडियो प्रबन्धकले कृष्णप्रकाशलाई प्रस्ताव राखे, ‘हाम्रो अनुरोधलाई अस्वीकार नगर ।’

प्रस्ताव सुनेर उनले सँगै रहेकी इरिनालाई हेरे । मस्को रेडियोकै हिन्दी विभागमा कार्यरत रुसी नागरिक इरिना त्यति बेला कृष्णप्रकाशसँग गहिरो प्रेममा थिइन् । सहकर्मीहरु नीलाम्बर र मीना आचार्य पनि श्रेष्ठले प्रस्ताव स्विकार गरुन् भन्नेमा थिए । अनि उनले केही वर्ष रुसमै बिताउने निधो गरे ।

भोलिको लागि भने मनमा नेपाल नै थियो । त्यहि कारण इरिनाले पनि कृष्णप्रकाशकी श्रीमतीका रुपमा नेपाली पासपोर्ट बनाइन् । कृष्णप्रकाशले निलाम्बर आचार्यसँग मिलेर सुरु गरेको रुसी भाषाका साहित्यलाई नेपालीमा अनुवाद गर्ने कामले गति पायो । त्यो बेला रुसले कम्युनिस्ट दर्शन मात्र होइन, आफ्ना क्लासिक कृतिहरूलाई विश्वभरि पुर्‍याउने नीति लिएको थियो । प्रगति प्रकाशन र रादुका प्रकाशनअन्तर्गत अनुवादकको काम गर्न भारतका चर्चित कवि डा. मदनलाल ‘मधु’ रुस पुगेका थिए ।

मधुले गरेका अनुवाद नेपालमा समेत लोकप्रिय भएको थाहा पाए पछि रुस सरकारले नेपालीको पनि अनुवाद शाखा खोल्यो । त्यसका लागि पनि उपयुक्त पात्र श्रेष्ठ नै हुन पुगे । उनलाई आंशिक जागीरेको रुपमा नेपाली विभाग हेर्ने जिम्मा सुम्पिइयो । रेडियोमार्फत नेपाली भाषाको सेवा गरिरहेका कृष्णप्रकाशले साहित्य तर्फको सेवाको अवसर गुमाउने कुरै भएन ।

श्रेष्ठले कम्युनिस्ट सिद्धान्त र लेनिनका साहित्यको अनुवादलाई जागीर र रुसी साहित्यको नेपाली अनुवादलाई आनन्दका रुपमा लिएका थिए । विदेशी नागरिक भएका कारण उनलाई व्यक्तिगत रुचि बदल्ने दबाव थिएन ।

रुसमा कम्युनिस्ट ढलेपछि

नेपालमा कम्युनिस्टको बिऊ रोपेको रुसमा भने १९९० मा कम्युनिस्ट सरकार ढल्यो । जुनबेला रुसमा कम्युनिस्ट शासन थियो, कृष्णप्रकाश श्रेष्ठको जीवनले आकास छोएको थियो । दुई छोरी र श्रीमतीका साथमा उनको साहित्य र पत्रकारिता दुवै क्षेत्र नेपाली पाठक र श्रोताका लागि मात्र होइन, रुसी नागरिकका लागि उत्कृष्ट बनेको थियो । नेपाली साहित्यिक पत्रिका रुपरेखा, मधुपर्क र गरिमा र सोभियत भूमिका साथै रूस प्रज्ञा प्रतिष्ठानका जर्नलहरुमा उनका कृतिहरु छापिरहन्थे । जागीरपछि स्वदेश फर्कने मन भएका कारण श्रेष्ठले नेपालस्थित पारिवारिक-सामाजिक सम्बन्धलाई पनि बलियो बनाएका थिए ।

रुसमा प्रजातान्त्रिक पद्दति विकास भएसँगै कम्युनिस्ट सरकारका सबै संरचनाहरू परिवर्तन गरिए । सरकारी संस्थाहरु अर्धसरकारी वा स्वायत्त बने । विदेशी नागरिकले रुस बसे पेन्सन सुविधा पाउने, नबसे नपाउने नीति बन्यो । रुसको परिस्थितिका कारण आफ्नो सुविधामा आएको परिवर्तनलाई उनले सामान्य नै मानेका थिए, तर सन् २००३ मा जगदम्बा पुरस्कार थाप्न नेपाल आउँदा ठूलो कठिनाइ बेहोर्नु पर्‍यो ।

मास्कोमा बस्ने आवासीय अनुमतिपत्र प्राप्त गर्न नै उनले ११ वटा संस्था धाएर पागल नभएको, स्वस्थ भएको, कुनै गलत आचरण नभएको, आपराधिक गतिविधि नगरेको, जासुसी नगरेकोजस्ता कुरा प्रमाणित गर्नुपर्‍यो । बुढेसकालमा यसरी ठाउँ-ठाउँ पुगेर आफूलाई प्रमाणित गरिरहनुभन्दा रुसकै नागरिकता लिन श्रीमती र छोरीहरुले आग्रह गरे । ‘नेपाल आएपछि कुनै कारण देखाएर रुस फर्कन नदिने सम्भावना पनि इरिनाले देखिन्’, श्रेष्ठ भन्छन्, ‘त्यसरी रुसी नागरिकता लिनु पर्ने बाध्यता सिर्जना भएर मनभित्रको नेपाली नागरिकतालाई प्राविधिक रुपमा त्याग्ने निर्णय गरे ।’

कृष्णप्रकाश श्रेठ विदुर भएको छ महिना भयो । इरिनाले आफ्नो ७५ औं र कृष्णप्रकाशको ८० औं जन्मोत्सब ७ नोभेम्बरमा ‘आउरा’मा नेपालीहरु माझ मम र नेपाली वाइनका साथ मनाउने योजना पुरा गर्न पाइनन् । इरिनाको इच्छा अनुसार उनको शवलाई नेपाली परम्पराअनुसार जलाएर १३ दिने काजकिरिया गरियो । र, ‘आउरा’मै इरिनाको ७५ औं र कृष्णप्रकाशको ८० औं जन्मोत्सव मनाइयो ।

श्रेठ पछि रुसमा नेपाली भाषा र साहित्यको यो बिरासत कसले थामिदेला भन्ने चिन्ता नेपाली दूतावास र रुसीहरुमा पनि छ । रुसले नेपाललाई कम महत्व दिन थालेको अनुभूति पनि सबैमा छ । ‘नेपाल अरु नै समस्यामा रुमल्लिरहेको छ’, कृष्णप्रकाशले अनलाइनखबरसँगको कुराकानीलाई बिट मार्दै भने, ‘रुसमा मैले जस्तो काम गर्न कुनै पनि नेपाली अघि आएका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment