Comments Add Comment

ललितपुरले जित्यो ईपीएल क्रिकेटको उपाधि

७ पुस, काठमाडौं । ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।

त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो ।

खेलमा रवि इन्दर सिंह र शरद भेषावकरको विकेट खेलको टर्जिङ प्वाइन्ट रहृयो । १५ ओभरसम्म खेल भैरहवाको पक्षमा थियो । उसले मात्र ३ विकेट गुमाएर १०४ रन जोडिसकेको थियो ।

तर, १६ औं ओभरको पहिलो बलमै पवन शरार्फले उनको रवि इन्दरको विकेट लिए । अर्को ओभरमा ललित राजवंशीले भैरहवाका कप्तान शरदको विकेट लिएपछि खेल ललितपुरको पक्षमा गयो ।

लगातार दबावमा परेको भैरहवालाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो तर, दुई रन आउटसहित तीन विकेट गुमाउँदै १४ रनको हार स्वीकार गर्‍यो ।

भैरहवाका लागि प्रदीपले २२ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रन बनाएर आउट भए । रवि इन्दर सिंहले ३२ बलमा २९ रन बनाए । कप्तान शरद भेषावकरले १४ रन बनाए ।

ललितनारायण राजवंशीले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले समान २-२ विकेट लिए ।


यसअघि ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छदा सबै विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरको सुरुवात राम्रो थियो । जयकिसन कोल्सवाला र गौरभ टोमरले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । गौरभ २३ रन बनाएर आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । तर, कोल्सवाला र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे ।

५२ बलको सामना गरेका कोल्सवालाले तीन चौका र तीन छक्काको मदतमा ५७ रन बनाए भने आक्रमक पारी खेलेका जोराले ११ बलमा २४ रन जोडे । यद्यपि ललितपुरले अन्तिम तीन ओभरमा लगातार विकेट गुमाएको थियो । १२ रन जोड्दा ५ विकेट गुमाएर अलआउट भयो ।

भैरहवाका कृष्ण कार्कीले तीन विकेट लिए । उनले दुई ओभर बलिङ गर्दै १५ रन खर्चेर तीन विकेट लिन सफल भए ।

तस्वीरः चन्द्र आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment