Comments Add Comment

सरकारलाई अलोकप्रिय बनाउने प्रयास भयोः प्रधानमन्त्री

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकपि्रय बनाउन प्रयास भइरहेको बताएका छन् । तर, आफूले देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने उनले बताए ।

काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारलाई अलोकप्रिय बनाउने कोशिषहरु भएका छन् । पहिले पनि भएका थिए । मनमोहनजीको नेतृत्वमा हामी सरकारमा हुँदा अलोकप्रिय बनाउन धेरै कोशिष भएको थियो तर, सकेनन् ।’

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पनि सरकारलाई अलोकप्रिय बनाउन थुप्रै प्रयास भएको स्मरण गर्दै उनले अगाडि भने, बेइमानी नगर्ने, देशको स्वाभिमानको पक्षमा उभिने, देशको विकासको लागि काम गर्ने अठोटका साथ अगाडि बढेपछि कसैले केही विगार्न सक्दैन, म ढुक्क छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सुशासन र विकासका कामलाई अगाडि बढाइरहेको बताए ।

उनले सार्वजनिक विदा कटौतीबारे छलफल गर्न सकिने बताए ।सबै जातजातिको आफ्नो चाडपर्व रहेको र सबैमा विदा दिँदा वर्षमा आधा नै विदा दिनुपर्ने अवस्था आएकाले कटौती गरेको उनले बताए । ‘कति विदा राख्ने, कतिमा काम गर्ने फेरि छलफल गर्न सक्छौं । कुनै पनि कुरा अन्तिम होइन’ उनले भने ।

साथै ज्यापू राष्ट्रिय दिवस कार्यक्रमका लागि १५ लाख आर्थिक सहायता उपलब्ध गराउने घोषणा पनि गरे । १५ दिनभित्र सहायता उपलब्ध गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment