Comments Add Comment

कांग्रेस विधानः सभापतिलाई ३३ केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश भएको छ । शीर्ष नेताहरुले पदाधिकारी विवाद टुंग्याएपछि शनिबार महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रस्ताव पेश गरेका हुन् ।

प्रस्तावअनुसार कांग्रेसमा १४ जना पदाधिकारी हुनेछन् भने १५३ केन्द्रीय सदस्य हुनेछन् । सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशी ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुनेछन् भने कोषाध्यक्ष मनोनित हुने व्यवस्था छ ।

कसरी चनिन्छन् केन्द्रीय सदस्य ?

विधान संशोधन प्रस्तावअनुसार खुलातर्फबाट ३५ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यस्तै महिलातर्फ ९ जना आउनेछन् भने सात प्रदेशबाट २१ जना चुनिनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित ३ जना आउने विधानको प्रस्ताव छ ।

आरक्षणबाट ५४ आउनेछन् । जसमा दलितबाट चार महिलासहित ९ जना, जनजातिबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेसीबाट चार महिलासहित ९ जना, थारुबाट दुई महिलासहित ४ जना, मुस्लिमबाट एक महिलासहित तीन जना र पिछडिएको क्षेत्रबाट एक जना निर्वाचित हुनेछन् ।

अपाङ्ग र अल्पसंख्यकबाट एकएक जना चुनिनेछन् ।

यस्तै सभापतिलाई ३३ जना मनोनित गर्ने अधिकार दिइएको छ । यो कुल केन्द्रीय कार्यसमितिको झण्डै २० प्रतिशत हो ।

मनोनित गर्दा कार्यसमितिमा एक तिहाई महिला हुनुपर्ने, समानुपातिक समावेशी सिद्धान्त, अपाङ्ग तथा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधिलाई भने ध्यान दिनुपर्नेछ ।

जिल्ला सभापतिहरु रुष्ट

विधान संशोधन प्रस्तावमा धेरै जिल्ला सभापतिले भने असन्तुष्ट देखिएका छन् । केन्द्रीय सदस्य स्वतः महासमिति र महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिहरु स्वतः क्षेत्रीय प्रतिनिधि हुने प्रस्तावको उनीहरुले विरोध गर्दै आएका छन् ।
साथै आरक्षण एक तहमा एक पटक मात्र पाउने व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

महासमिति बैठक सुरु हुनु अघि जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेेललाई भेटेर यसबारे ध्यानाकर्षण गराउन खोजेका थिए ।

तर, दुई नेताको आरोप प्रत्यारोपमै त्यो भेट सकिएको छ । सभापति देउवाले आफूले जिल्ला सभापतिहरुलाई बलियो बनाउन खोजेको तर, वरिष्ठ नेता पौडेलले त्यसको प्रतिवाद गरे । लगतै सुरु भएको महासमिति बैठकमा २६ जनाले बोलेका छन् । उनीहरु मध्ये अधिकांशले दुबै मागलाई उठाएका छन् ।

भोलि समापन

पदाधिकारीबारे शीर्ष तहमा सहमति जुट्न नसक्दा कांग्रेस महासमिति बैठक थप चार लम्बिएको छ । कांग्रेस महासमिति बैठक २८ देखि ३ गते भनिएको थियो । तर, बैठक लम्बिएपछि थुप्रै महासमिति सदस्यहरु केही घर फर्किएका छन् ।

पदाधिकारीबारे सहमति जुटेसँगै भोलि भने बैठक समापन गर्ने तयारी रहेको एक पदाधिकारीले बताए । उनका अनुसार भोलि आइतबार खानाको समयसम्म महासमिति सदस्यहरुले बोल्ने र दिउँसो समापन गर्ने योजना छ ।

विधान संशोधन प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment