Comments Add Comment

निर्मला प्रकरणमा प्रहरी फेरि ‘असफल’, डीएनए नमिलेपछि छुटे विशाल

८ पुस, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई प्रमुखताका साथ छापेका छन् । अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले गरेको छलफल र सम्झौताले चीन सशंकित भएकोदेखि नेकपा विधानबाट साम्यवाद नै गायब भएकोसम्मका खबरलाई पत्रिकाहरुले पहिलो पृष्ठमा लेखेका छन् । त्यस्तै, निर्मला पन्त बलात्कार आरोपमा पक्राउ परेकाको डीएनए परीक्षण नमिलेको समाचार पनि आजको पत्रिकामा छ ।

नयाँ पत्रिका दैनिकले ‘चीन सशंकित, भारत तटस्थ’ शीर्षक दिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका भ्रमणका क्रममा गरेको छलफल र सम्झौताले चीन सशंकित भएको लेखेको छ ।

नयाँ पत्रिका लेख्छ– अमेरिका र उसका सहयोगी देशहरुसँग हतियार खरिद गर्ने मात्र होइन, उत्तर कोरियाको विषयमा साझा धारणा बनाउने र इन्डोप्यासिफिक सुरक्षा रणनीतिमा नेपाल सहयोगी हुने विषयले चीन सशंकित भएको छ । भारत भने तटस्थ छ ।’

निर्मला प्रकरणमा प्रहरी फेरि असफल भएको दृष्टान्त पनि नयाँ पत्रिकाले प्रस्तुत गरेको छ । पछिल्लो समय प्रहरीले दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको थियो । उनीहरुको पक्राउपछि प्रहरीले अनुसन्धान अपराधी नजिक पुगेको बताएका थिए । तर, डीएनए नमिलेपछि विशाललाई छाडिदिएको छ । विशालले प्रहरीले यातना दिएपछि अपराध स्वीकारेको बताएका छन् ।

शिलान्यास भएर निर्माण भइरहेको पुल मन्त्रीले फेरि शिलान्यास गरेको अर्को रोचक खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ । स्थानीयले शिलान्यास गरेर निर्माण सुरु भइसकेको कास्कीको माछापुच्छ«े गाउँपालिका–९, मर्दी खोलाको पुल ३५ दिनपछि शनिबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुनः शिलान्यास गरेका हुन् । एउटै पुलको दुईपटक गरिएको शिलान्यासमा भने स्थानीय सहभागी भएनन् ।

नागरिकले नेकपा विधानबाट साम्यवाद नै गायब भएको लेखेको छ । समाचार अनुसार, यो विषयले स्थायी कमिटी बैठकमा नै प्रवेश पाएको छ ।  वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानबाट साम्यवाद गायब पारिएको भन्दै शनिबार बैठकमा आपत्ति जनाएको समाचारमा उल्लेख छ ।

अन्य पत्रपत्रिकाहरु राजनीतिक विषयमा बढी केन्द्रित बनिरहेका बेला अन्नपूर्णले ‘दलितले पाउँदैनन् जन्ती र मलामी’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । कर्णालीमा धारा, चुलो छोएको, अन्तरजातीय विवाह गरेको निहुँमा दलितमाथि हिंसाका घटना बढिरहेको समाचारको सार छ ।

नेपाली फिल्मको नाफा–घाटाको लेखाजोखा पनि आजको अन्नपूर्णमा छ । समाचार अनुसार फिल्ममा बर्सेनि आधा अर्ब डुब्ने गरेको छ ।

चिसोले मनाङमा खोलासमेत बरफ बनेको तस्वीर छापेको कान्तिपुरले नेकपाका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल पनि अध्यक्षद्वय केपी ओली र प्रचण्डमाथि खनिएको लेखेको छ ।जारी स्थायी समिति बैठकमा शनिबार उनीहरुले अध्यक्षद्वयको पार्टी तथा सरकार सञ्चालन कार्यशैलीप्रति व्यापक असन्तुष्टि व्यक्त गरे । सरकार सञ्चालनमा पार्टीको भूमिका समेत उनीहरुले माग गरेको समाचारमा लेखिएको छ ।

गोरखापत्रले ‘जनताको स्वाभिमानका लागि काम गर्छु’ भनेर प्रधानमन्त्रीले जनाएको प्रतिबद्धतालाई मुख्य समाचार बनाएको छ । त्यस्तै नेकपा स्थायी कमिटी र कांग्रेस महासमिति बैठकबारेका समाचारमा पनि गोरखापत्रमा छापिएको छ ।

राजधानीले असुरक्षित गर्भपतन भयावह बन्दै गएको लेखेको छ । राजधानीका अनुसार, गर्भपतन गराउने सय मध्ये ५८ महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् ।

विदेश भ्रमणको प्रवृत्तिबारे पनि राजधानीले केलाएको छ । राजधानीका अनुसार, विदेश भ्रमणमा ठूलाकै हालीमुहाली छ । अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज छ ।

नेपाल समाचारपत्रले शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न २ खर्ब लाग्ने लेखेको छ भने कारोबारले सेनाको व्यारेक निर्माणमा भएको अनियमिततालगायतका विषय उठाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment