Comments Add Comment

आईजीपी नातेदार हाे भन्दै ४२ लाख ठगी गर्ने ओझा कारागार चलान

८ पुस, विराटनगर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो नातेदार भन्दै नक्कली कम्पनी खडा गरेर ४२ लाख ठगी गरेको आरोपमा गुणराज ओझालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

मोरङको लेटाङ – ३ घर भइ विराटनगर बस्दै आएका ५१ वर्षीय ओझाले २४ जना व्यक्तिबाट ४२ लाख २४ हजार २ सय ८० रुपैयाँ ठगी गरेको खुलेपछि जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जनालाई विभिन्न मितिमा नियुक्ति दिएका ओझाले कर्मचारी, व्यपारी र घरबेटीबाट ४२ लाख रुपैयाँ ठगी गरेका हुन् ।

२०७४ सालमा कम्पनी स्थापना गरी कर्मचारीलाई नियुक्ति दिएका ओझाले कर्मचारीलाई तलब दिएका थिएनन् । जलविद्युत कम्पनीमा सेयर दिलाउने आश्वासन दिदै ओझाले कर्मचारीहरुबाट ५ हजारदेखि २ लाख ५० हजार रुपैया सम्म ठगी गरेका थिए ।

तलब माग्दा नदिएका ओझाले आइजिपी आफ्नो भान्जे ज्वाई भएकाले कतै उजुरी गरे ठीक नहुने बताउदै आएका थिए । सरकारी स्तर अनुसार सेवा सुविधा पाउने गरी नियुक्ति पाएका कर्मचारीले तलब नपाएपछि श्रम कार्यालय विराटनगरमा उजुरी गरेका थिए ।

उजुरी पछि पक्राउ परेका ओझा विभिन्न मितिमा कर्मचारी र अन्य व्यक्तीलाई ठगी गरेको खुलेको थियो ।

ओझाले सुनकोशी फर्चिनरको बढी रकम ठगी गरेको भेटिएको छ । जलविद्युत आयोजना प्रालि नाममा एकनाथ ढकाल सञ्चालक रहेको फर्निचर पसलबाट ५ लाख ८५ हजार ६ सय ५६ रुपैयाँ बराबरको सामान लगेका थिए । त्यस्तै राजेन्द्रप्रसाद अधिकारीको ४ लाख, मालता काफ्ले अधिकारीको ३ लाख ५१ हजार २०, इन्दिरा काफ्ले ढकालको २ लाख ३९ हजार, नितेश खतिवडा १ लाख ९८ हजार ७ सय ५० रुपैयाँ ओझाले ठगी गरेको देखिएको छ । ओझाले कर्मचारीहरुबाट पनि ५ हजार देखि ३ लाख रुपैयाँसम्म ठगी गरेका थिए ।

२०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका ओझा महिनौंसम्म तलब नदिई सम्पर्कविहीन भएपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको थियो । उनले कम्पनी रजिष्ट्ररको कार्यालयमा समेत दर्ता नभएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment