Comments Add Comment

पर्यटनमन्त्रीको निश्कर्ष : जुन देशको एयरलाइन्स समस्यामा हुन्छ, त्यहाँ पर्यटक आउँदैनन्

८ पुस, पोखरा । अहिले फ्रान्समा बर्सेनी ८ करोड पर्यटक पुग्छन् । थाइल्यान्डमा ३ करोड पर्यटक पुग्छन् भने कम्बोडियाजस्तो देशमा ७० लाख । नेपालले भने सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने बताइरहेको छ ।

नेपाली पर्यटनको लामो इतिहास बनिसक्दा यो अंक धेरै होइन । तर, ‘किन आएनन् त खास नेपालमा पर्यटक ? के नेपाल घुम्नैपर्ने देश होइन ?’ आइतबार फेवाताल किनारमा भएको लिटरेचर फेस्टिभलको दोस्रो दिनको तेस्रो सत्रमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले यस्ता प्रश्नहरुको सामना गरे ।

‘भिजिट नेपाल’ नारा दिएर २० लाख पर्यटक भित्र्याउने अभियानको नेतृत्व नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयको नेतृत्व मन्त्री अधिकारीले गरिरहेका छन् ।

त्यस्तो के चाहिँ छ र नेपाल घुम्नैपर्ने ? मन्त्री अधिकारीले आफूले घुमेको देशहरुको अनुभव सुनाउँदै भने, ‘पर्यटनको गन्तव्य भनिएका देशले यस्ता थुप्रै चिजलाई पर्यटन प्रोडक्टका रुपमा विकास गरेका छन्, हाम्रोमा त्यस्ता चिज कति छन् कति !’

तर, घुम्नैपर्ने देश हो भने किन आएनन् त पर्यटक ? यो प्रश्नमा मन्त्री अधिकारीको स्वीकारोक्ति थियो, ‘हामीकहाँ पूर्वाधार भएन । जनशक्ति भएन । जुन देशको एयरलाइन्स समस्यामा हुन्छ, त्यहाँ पर्यटक आउँदैनन् ।’

तर, नेपालजस्तो सानो देशमा भएको विविधता अरु देशमा नभएका कारण नेपाल घुम्नैपर्ने देश भएको मन्त्री अधिकारीको तर्क थियो । ‘कुनै शासकले भनेका कारण होइन, नेपाल साँच्चै घुम्नैपर्ने देश हो,’ उनले भने ।

पूर्वाधार छैन भन्दाभन्दै पनि २० लाख पर्यटक भित्र्याउने योजना सजिलै पूरा हुने विश्वास मन्त्री अधिकारीलाई रहेछ । उनले एक वर्षमै नेपाली पर्यटनमा ठूलो परिवर्तन आउने दाबी गरे ।

छलफलमा थिए, मन्त्री अधिकारीसँगै भिजिट नेपालका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र पत्रकार सुजित महत । छलफलमा नेपालको पर्यटनको अवस्था, ‘फेक रेस्क्यु’ देखि जहाज खरिदमा आएको पछिल्लो विवादसम्मका विषयहरु उठे ।

‘जहाज खरिद’देखि ‘फेक रेस्क्यु’सम्म

मन्त्री अधिकारीले वाइड बडी जहाज खरिद प्रक्रियाबारे उठेको विवादको विषयमाथि पनि बोले । यद्यपि अहिले ४ वटा जहाज खरिद गरेकोमा अब ६ वटा थप्ने र अबको २ महिनामा थप देशहरुमा जहाज उडाउने उनले बताए ।

आफू मन्त्री हुनुभन्दा पहिले नै जहाजको खरिद प्रक्रिया भइसकेको उनले स्पष्टीकरण दिए । उनले यो पनि भन्न छुटाएनन्, ‘जहाज खरिदमा कतै अनियमितता छ भने छानविन गर्ने निकाय छ ।’

जवाफ दिने निकायमा रहेका मन्त्री अधिकारीले प्रश्न तेर्स्याए– ‘गएको ३० वर्षमा नेपाल एयरलाइन्सको जहाज पुरानो भयो भन्दै बेचियो, तर एउटा पनि खरिद किन भएन ?’

मन्त्री अधिकारीले पर्यटन मन्त्रालयका बेथिति सुधार्छुभन्दा आफूमाथि लगातार प्रहार भएको पनि बताए । उनले ‘फेक रेस्क्यु’ को सञ्जाल ठूलो रहेको र यस विषयमा काम थाल्दा आफूमाथि प्रहार भएको बताए । अधिकारीले भने, ‘फेक रेस्क्युको ठूलो सञ्जाल छ, हामी छानविनमै छौं । छानविन सकिएसँगै ७ सय पेजको प्रतिवेदन सार्वजनिक गर्छौं ।’

म ५ वर्षसम्म मन्त्री भएँ भने…

पर्यटनमन्त्री अधिकारीले ५ वर्षसम्म आफू पर्यटन मन्त्री नै रहे के–के हुन्छ भन्ने सपनासमेत देखाए ।

‘भैरहवा विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको हुनेछ । त्रिभुवन विमानस्थलको क्षमता अहिलेको भन्दा दोब्बर हुने छ’ मन्त्री अधिकारीले भने, ‘पर्यटनका गन्तव्य देशभर फैलिने छन् । पर्यटन विश्वविद्यालय सञ्चालन भइरहेको हुनेछ ।’

मन्त्री अधिकारीले ५ वर्षपछिको पर्यटनलाई यसरी सम्झिए, ‘३५ लाखभन्दा बढी पर्यटक नेपाल आउनेछन् । २५ प्रतिशत रोजगारी पर्यटनले पैदा गर्नेछ ।’

देशको कुल ग्राहस्थ उत्पादन बढाउन विदेशी पर्यटकले महत्वपूर्ण अर्थ राख्ने भए पनि ५० लाख आन्तरिक पर्यटकको बेवास्ता गर्न नहुने अधिकारीको भनाइ थियो ।

भिजिट नेपाल संयोजक वैद्य नेपालले पूर्वाधार क्षेत्र सुधार्ने हो भने २० लाख पर्यटक ल्याउन ठूलो समस्या नआउने बताए । ‘हामी जुन ठाउँमा उभिएका छौं, यही ठाउँ बनाउन सिंगापुरले कंक्रिटले बनाउनुपर्छ,’ वैद्यले भने, ‘पर्यटन, वाणिज्य, उद्योगजस्ता मन्त्रालय बेवास्तामा पर्ने भएका कारण पनि सरकारले बुझ्नै बिर्सेको थियो । किन आएनन् भन्ने हिजोको कुरा हो । अब दुई चार वर्ष पर्खौं ।’

पर्यटन व्यवसायी शेर्पाले जबसम्म नेपाल एयरलाइन्स बलियो हुँदैन र जबसम्म अन्य भौतिक पूर्वाधार बलियो बन्दैन, तबसम्म पर्यटक आउन गाह्रो पर्ने भएकाले यसतर्फ सोच्नुपर्ने बताए ।

पूर्वाधार निर्माण, नयाँ पर्यटकीय गन्तव्यको खोजी र हस्पिटालिटी राम्रो हुने हो भने २० लाख पर्यटक भित्र्याउन ठूलो समस्या नहुने छलफलको निश्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment