Comments Add Comment

छापामा आजः अर्थमन्त्रीको मुठ्ठीमा अर्थतन्त्र

१० पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा ८७ घर नष्ट हुनेगरी कालीकोटमा भएको आगलागी परेको छ । त्यस्तै, अख्तियारको वार्षिक प्रतिवेदनमा टेकेर विद्यमान भ्रष्टाचार तथा बेथितिबारे पनि आजका पत्रपत्रिकाहरुले समाचार लेखेका छन् ।  प्रदेशका मन्त्रीहरुमा देखिएको सुविधा मोह, देशको अर्थतन्त्रको अवस्थालगायत फरक विषयमा पनि आजका केही पत्रपत्रिकाहरुको नजर परेको छ ।

अन्नपूर्णको पहिलो पृष्ठ खोजमूलक सामग्रीहरुले भरिएको छ । उसले ‘अर्थतन्त्र मुठ्ठीमा’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । अर्थमन्त्रीले उच्च आर्थिक वृद्धिदर हासिल गरेर आफूलाई सफल देखाउन लहडमा समग्र वित्तीय प्रणालीको स्वास्थ्य र नियामकको भूमिका नै ध्वस्त बनाएको समाचारको सार छ ।

निरन्तर सरकारी कार्यालयहरुको स्थलगत रिपोर्टिङ गर्दै आएको अन्नपूर्णले देशकै प्रशासनिक केन्द्र सिंहदरबारको सेवाप्रवाहबारे एक सामग्री छापेको छ । समाचारअनुसार, सिंहदरबारमा पनि उत्तिकै बेथितिका चाङ छन् । प्रधानमन्त्री कार्यालयभित्र लुँडो खेल हुने गरेको, थोत्रा गाडीको डम्पिङ साइट बनेकोलगायत विषयलाई अन्नपूर्णले त्यहाँभित्रका बेथितिका रुपमा प्रस्तुत गरेको छ ।

अन्नपूर्ण लेख्छ– आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको हाउभाउ बदलिन्थ्यो । तर उनको कम्प्यूटर अन थियो ।’

कान्तिपुरले कालीकोट र गोरखामा भएका आगलागी घटनाबारे मुख्य समाचार लेखेको छ । सोमबार बिहान लागेको आगोले कालीकोटमा ८७ घर खरानी भएका छन् ।

त्यस्तै, निर्मला हत्या अनुसन्धानका क्रममा प्रहरीले यातना दिँदा पक्राउ परेका विशाल चौधरी र दिलीप विष्टमा मानसिक समस्या देखिएको विषयलाई पनि आज कान्तिपुरले प्राथमिकताका साथ उठाएको छ । समाचार अनुसार मानसिक समस्या देखिएपछि विशाललाई काठमाडौं ल्याइएको छ भने दिलीप पनि ३ महिनादेखि उपचार गराइरहेका छन् ।

रात्रिबसका परिचारिकाबारे पनि कान्तिपुरले समाचार लेखेको छ । समाचारअनुसार, बेनी–काठमाडौं चल्ने म्याग्दी कोरला यातायातमा यस्ता परिचारिकाहरुको व्यवस्था छ ।

केन्द्रका मन्त्रीहरुले दोहोरो इन्धन सुविधा लिएको रिपोर्ट प्रस्तुत गरेको नयाँ पत्रिकाले आज प्रदेश अवस्थाबारे मुख्य समाचार लेखेको छ । रिपोर्टअनुसार, प्रदेशहरुमा पनि केन्द्रमा जस्तै दोहोरो इन्धन सुविधा लिने विकृति  छ ।

भ्रष्टाचार मुद्दामा अख्तियारलाई ३२ प्रतिशत असफलता हुने गरेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । विशेष अदालतमा दायर भएका मुद्दामध्ये गत वर्षको फैसलाअनुसार ६७.८२ प्रतिशतमा मात्र आयोगको दाबीअनुसार सजाय भएको समाचारमा लेखिएको छ । अन्य मुद्दाका आरोपीले सफाइ पाएका छन् ।

नयाँ पत्रिका लेख्छ– गत वर्ष १ सय ७४ भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट फैसला भएको थियो । जसमध्ये ६८ मुद्दामा विशेषको फैसलाउपर सर्वोच्चमा पुरनावेदन गरिएको छ । पछिल्ला वर्ष भ्रष्टाचार मुद्दामा अदालतबाट असफलता बढ्दै गएको आयोगका अधिकारीहरु बताउँछन् ।

नागरिकले कालीकोट आगलागीबारे मुख्य समाचार बनाएको छ । ८७ घर जल्दा पीडित खुला आकाशमा बस्न विवश भएको समाचार सार छ । त्यसैगरी, बढी भ्रष्टाचार हुने मन्त्रालयमा शिक्षा र संघीय मामिला दरिएको अर्को विषय पनि नागरिकमा छ ।

राजधानी दैनिकले निर्मला हत्या प्रकरणसँगै कालीकोट आगलागीबारे समाचार लेखेको छ । गोरखापत्रले आज अख्तियारको वार्षिक प्रतिवेदनमा टेकेर ‘अख्तियारमा १९ हजार ४ सय ८८ उजुरी’ शीर्षक दिएर मुख्य खबर लेखेको छ । त्यस्तै, ५५ वटा कानून संशोधन तयारी गरिएको र क्रिसमसको रौनक बढेको  समाचार पनि गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment