Comments Add Comment

आमासँग रवि ओडको अन्तिम भेट

११ पुस, कैलाली । नेपाल आइडल रवि ओड बुधबार बिहान महेन्द्रनगरमा एउटा कार्यक्रममा सम्मान थाप्न जाने तयारीमा थिए । जब उनले आमाको विषयमा दुखद खबर सुने, आफूलाई सम्हाल्न सकेनन् ।

उनलाई केही व्यक्तिले सेती अञ्चल अस्पताल पुर्‍याए । त्यहाँको शवगृहमा रविकी आमा विष्णाको शव राखिएको थियो । रवि ज्याकेटले आँशु पुछ्दै शवगृहभित्र छिरे ।

कपडा उठाएर आमाको अनुहार हेरे र घोप्टो परेर रुन थाले । त्यहाँ रहेका उपमहानगरपालिकाका मेयर नृप ओडलगायत व्यक्तिहरुले उनलाई सान्त्वना दिइरहेका थिए ।
सम्मान कार्यक्रमपछि आजै घर पुगेर आमालाई भेट्ने अनि बेलुका ६ः४० को फ्लाइटमा काठमाडौं आउने रविको योजना थियो । तर, नियतिको योजना अर्कै रहेछ ।

आफूलाई हरेक कदममा साथ दिने आमाको दुखान्तले रविको मुटु चुँडिएको छ । आठ वर्षको उमेरमा आफूलाई जन्मदिने आमा गुमाएका रविले कर्म दिने आमा पनि गुमाएका छन् । श्रीमतीको मृत्युपछि रविका बुवाले विष्णासँग दोस्रो बिहे गरेका थिए । विष्णाले रवीलाई आमाको कमी महसुस हुन दिएकी थिइनन् ।

रवि भन्ने गर्थे, ‘उहाँले मलाई यति माया-ममता दिनुभएको छ कि आफूलाई जन्मदिने आमाको समेत त्यति याद आउँदैन ।’

रविका बाबु गुजरातमा एउटा कम्पनीमा चौकीदारी काम गर्छन् । नेपाल आइडलको फाइनलमा रवी आफ्नो बुवा र आमालाई अगाडि देख्न चाहन्थे । उनकी आमा कैलालीबाट आएकी थिइन् । तर, कम्पनीले छुट्टी नदिएपछि बुवा आउन पाएनन् । श्रीमतीको मृत्यूको खबर पाएपछि उनी नेपाल आउन हिँडिसकेका छन् ।

रविका तीन भाइ र एक बहिनी छन् । नेपाल आइडलमा भाग लिनुअघि रविले दोहोरी साँझमा गीत गाएर केही आर्जन गर्थे । परिवारको भरथेगकै लागि उनले संविधान सभा चुनावका बेला म्यादी प्रहरीमा जागिर खाएका थिए ।

त्यो अन्तिम भेट

नेपाल आइडलमा भाग लिन आए पनि रविसँग आमाको प्रत्यक्ष भेट भएन । तर, नेपाल आइडलको उपाधि जितेपछि रवि आफ्नो घरमा पुगेका थिए । त्यतिबेला रविलाई स्वागत गर्न रविकी आमा घरअगाडि माला लिएर उभिएकी थिइन् । आमाले माला लगाइदिएपछि रविले उनलाई अंकमाल गर्दै आँशु झारेका थिए ।

‘आमाले मलाई हरेक क्षणमा साथ र सहयोग दिनुभएको छ, म उहाँकै कारण आज यो ठाउँमा छु,’ रविले त्यसबेला सञ्चारकर्मीसँग भनेका थिए । त्यतिबेला विष्णा पनि भावविह्वल बनेकी थिइन् । यी आमा छोरालाई त्यतिबेला के थाहा कि यो नै उनीहरुको अन्तिम भेट बन्नेछ ।

बुधबार बिहान नल्का (ह्यान्डपम्प)मा नुहाउनका लागि मोटर जोड्ने क्रममा विष्णालाई करेन्ट लागेको थियो । त्यतिबेला घरमा उनका छोराछोरीहरु थिए । छोराछोरी र छिमेकीले उनलाई बेहोश अवस्थामा नजिकै रहेको अत्तरिया अस्पताल पुर्‍याए । तर, सो अस्पतालले सेती अञ्चल अस्पताल पठाइदियो । तर, सेती अञ्चल अस्पताल पुर्‍याउँदासम्म विष्णाको शरीरमा प्राण थिएन ।

विष्णाको शव अहिले अस्पतालबाट घरमै पुर्‍याइएको छ । आजै मोहना नदीमा दाहसंस्कार गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment