Comments Add Comment

बजार नपाउँदा शीतभण्डारमै कुहिन थाल्यो जुनार

आशिष मल्ल । १९ फागुन, डडेल्धुरा । बजार नपाउँदा डडेल्धुरामा जुनार शीतभण्डारमै थन्किएको छ । किसानबाट खरिद गरेर अमरगढी नगरपालिका-१ दहस्थित उग्रतारा शीतभण्डारमा राखेको १२ सय क्रेट जुनार मूल्य नपाउँदा कुहिन थालेको ।

ब्यापारीहरुले भागेश्वर गाउँपालिकाको सिराडलगायतका ठाउँबाट मंसिर महिनामा प्रतिकिलो २५ रुपैयाँका दरले करिब पाँच लाख रुपैयाँ बराबरको जुनार खरिद गरेर शीतभण्डारमा राखेका थिए ।

उग्रतारा शीतभण्डारका अध्यक्ष भोजराज भट्टले जुनार शीतभण्डारमा ४० देखि ४५ दिनसम्म राख्न सकिने भएपनि बिक्री नहुँदा दोब्बर समयसम्म रहेकोले कुहिएको बताए ।

फागुन महिनामा किसानबाट जुनार खरिद गरी चैत वैशाखमा बिक्री गर्दा जुनारले बजार पाउने उनको भनाइ छ । ‘हामीले मंसिर महिनामै किसानबाट जुनार खरिद गरी शीतभण्डारमा राख्यौं । अहिले बजारमा बोटबाट पनि जुनार आउँदैछ । शीतभण्डारको कसैले लिन खोज्दैन्न ,’ अध्यक्ष भट्टले भने ।

शीतभण्डारमा राखिएको जुनार बिक्रीका लागि धनगढी, महेन्द्रनगरदेखि देशका पूर्वी जिल्लासम्म सम्पर्क गर्दा पनि बिक्री हुन सकेको छैन ।

गत वर्ष मात्रै स्थापना भएको शीतभण्डारमा पहिले आलु मात्रै राखिएको थियो । यसवर्ष पहिलो पटक किसानलाई पनि राहत र व्यवसायिक रुपमा लाभ लिन सकिने भन्दै जुनार खरिद गरी राखिएको उनले बताए ।

शीतभण्डार पहिलो अभ्यास भएकाले जुनार बिक्री नहुँदा व्यवसायिक रुपमा घाटा व्यहोर्नु परेको उनको भनाइ छ । १२ सय क्रेट जुनार मध्ये ग्रेडिङ गरिरहेको उनले बताए ।

आलुकालाई सेट गरिएको टेम्प्रेचरमा नै जुनार राखिएकाले पनि कुहिन थालेको उनको बुझाइ छ ।

कुहिएको जुनार गाईगोरुलाई खुवान पनि नहुने भएकाले व्यवस्थापनका लागि समेत समस्या भएको व्यापारीले बताएका छन् ।

जुनार भण्डारण गर्नका लागि शीतभण्डारको छुट्टै व्यवस्था नहुनुका साथै जुनार टिप्दा पनि सावधानी नअपनाउँदा छिट्टै कुहिन थालेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

भागेश्वर गाउँपालिका वडा नम्वर ५ र ४ जुनार उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरिएको छ ।

जुनार पकेट क्षेत्रबाट किसानबाट जुनार खरिद गरी शीतभण्डारमा राखिए पनि अन्य क्षेत्रबाट अहिले पनि बजारमा बोटबाटै जुनार आइरहेको छ ।

यसवर्ष हिउँदे झरी र हिमपातले चिसो हट्न नसकेकाले पनि जुनारले बजार नपाएको व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment