
२८ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनले आयोजना गरेको ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबार भेला भएका थिए कर्णालीका छोरीहरू । उनीहरू पहिलो पटक धक फुकाएर मनका कुरा खोले । कार्यक्रमको नामै थियो : कर्णालीका छोरीसँग मनका कुरा ।
हुम्लाको ताजाकोट गाउँपालिकाकी सपना शाहीले अहिलसम्म आफ्ना मनका कुरा कसैलाई नसुनाउने गरेको बताइन्। ‘…मेरो मनका कुरा अरुलाई सुनाउ जस्तो पनि लाग्दैन । म आफ्ना मनका कुरा म आफैलाई सुनाउछु । मभित्र एउटा जनावर छ । हामी प्रत्येक भित्र एउटा जनावर छ । यसले हामीलाई गाइड गरेको हुन्छ,’ उनले भनिन् ‘जबसम्म हामीले यसलाई गाइड गर्दैनौ यसले हामीलाई सही मार्ग दिन सक्न । त्यसैले म सकारात्मक भावका साथ मेरा मनका कुरा म आफैँलाई सुनाउँछु ।’
शाहीले महिनावारीका समयमा निकै कष्ट व्यहोर्नु परेको सुनाइन । शिक्षित समाजमा अझै पनि महिनावारी भएको समयमा गोठमा बस्नुपर्ने प्रथाजनित गलत संस्कारको सिकार बन्नु परेको उनले सुनाइन् । परिवार र समाजले स्वीकार्न नसक्दा महिनावारीको समयमा पशुसरहको विभेद खेप्नु परेको शाहीले गुनासो गरिन् ।
उत्तरी नाम्खा गाउँपालिकाकी लामु तामाङले भने आफ्नो मनभित्रको कुरा आमालाई सुनाउने गरेको सुनाइन् । ‘सर्वप्रथम आफ्नो मनको कुरा ममीसँग सेयर गर्छु । तर सबै कुरा सेयर गर्न सकिदैन । डिटेलमा सेयर त आफैसँग गर्छु । अहिलेसम्म अन्य साथीहरूसँग मनका सबै कुरा सेयर गर्दिनन् । मेरा मनका कुरा सबैले सुनिदिउन जस्तो पनि लाग्दैन,’ उनले भनिन् ।
हुम्लाकै खार्पुनाथ गाउँपालिकाकी रश्मी परियार पनि छोरी सम्मेलनमा आफ्ना कुरा सुनाउन आएकी थिइन्। उनले आफूलाई समाजबाट जातकै कारण भोग्नु परेको विभेदले पिरोल्ने गरेको सुनाइन् ।
‘हाम्रो गाउँमा जातीय छुवाछूत निकै छ । मान्छे मरेपछि तिमीहरू तल्लो जातले छुनु हुँदैन भन्छन् । हामी जस्ता गरिबलाई हेपिन्छ,’ उनले भनिन् । आफूहरूलाई जातकै आधारमा विभेद गरिदा अपहेलित हुनुपरेको दुखेसो परियारको छ । जातीय विभेद आफूलाई मन नपर्ने उल्लेख गर्दै उनले नाम पछाडिको थरले जतातै विभेद भोग्नु परेको गुनासो गरिन । उनले पनि महिनावारीको विभेदबाट थिचिएको अनुभुति सुनाइन्।
सर्केगाड गाउँपालिकाकी आस्था शाहीको मनमा महिनावारी गहिरो गरी बसेको छ । महिनावारी नियमित प्रक्रिया हो भन्ने त उनलाई थाहा छ, तर परिवार र समाजको स्वीकार्यका अघि उनको डेग चलेको छैन । उनलाई आफ्ना बाबु आमाबाट टाढा भएर शिक्षा लिनु बाध्यता पटक्कै मन परेको छैन । परिवारसँगै बसेर शिक्षा लिन नपाउने अवस्थाले निकै पिरोल्ने गरेको अुनभूति शाहीको छ । आफ्ना परिवारसँगै बसेर उच्च शिक्षा लिन पाए हुन्थ्यो भन्ने उनको मनमा लाग्छ ।
‘विकास हरेक सूचकाङ्कमा पछाडि परेको हुम्ला । पढाइ राम्रो हुँदैन । तीन चार महिना मात्रै पढ्न पाइन्छ । एसईई पास भएपछि सदरमुकाम आउदा पढ्न निकै समस्या हुन्छ । गाउँको पढाइ र सदरमुकाम (शहर)को पढाइमा निकै फरक हुन्छ,’ उनले भनिन् । एसईई सकेपछि सयमा ९० प्रतिशत विद्यार्थी घर छाडेर शहर जान बाध्य हुनुपरेको उनले बताइन्।
‘आफ्ना बाबुआमालाई छोड्दा बुवाआमालाई एकातिर दुख, छोरा-छोरीलाई उता दु:ख । मेरो छोरा/छोरी पढ्छन्, प्रगति गर्छ भन्ने आशमा बुवाआमाले आँखामा आशु निकालेर सहर पठाउछन् । तर बिडम्बना हामी गाउँका सरकारी विद्यालयमा पढ्छौ, त्यहाँको पढाइ र यहाँको पढाइमा आकाश पाताल फरक हुन्छ । सरकारी विद्यालयमा हामीलाई अंग्रेजीको आधारभूत सिपसमेत हुँदैन । यता आयो हामीलाई बुझ्नै गाह्रो हुन्छ । यसले हामीलाई निकै समस्या हुने गरेको छ । कहाँ पढ्ने ? कसरी पढ्ने ? भन्नेमा अन्योल हुन्छ,’ शाहीले आफ्ना मनका कुरा व्यक्त गर्दै भनिन् ।
यस्तै, सिमिकोट गाउँपालिकाकी सञ्चिता भण्डारीले बालविवाहका कारण कयौँ छोरीहरूको भविष्य अन्धकारमा धकेलिने अवस्था रेहेको सुनाइन्। उनीहरू मात्रै होइन ‘छोरीका मनका कुरा’ शत्रमा सहभागी हुम्लाका आठै जना किशोरीका भित्रि मनका कुरा एकै खालका थिए । उनीहरूको साँझा समस्या भनेकै बालविवाह र छोरीमाथिको चरम विभेदले कर्णालीमा छोरीहरू अझै असुरक्षित नै छन् भन्ने थियो ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको अभावले उनीहरू राज्यका आधारभूत सेवाबाट बञ्चित थिए नै, प्रथाजनित हानिकारक सामाजिक संस्कारको शिकारसमेत बनेको तितो यथार्थबाट गुज्रिरहेका छन् । २१औं शताब्दीको यो शिक्षित समाजमा अझै पनि कर्णालीका छोरीहरू जातीय विभेद र छाउपडी प्रथाविरुद्ध संघर्ष गर्नुपर्ने बाध्यतामा छन् ।
उक्त सत्रमा हुम्लाको अदानचुली गाउँपालिकाका सविना विष्ट, सर्केगाड गाउँपालिकाका आस्था शाही, सर्केगाड गाउँपालिकाकै नविना शाही, चंखेली गाउँपालिका भावना शाही, ताजाकोट गाउँपालिकाका सपना शाही, खार्पुनाथ गाउँपालिकाका रश्मी परियार र नाम्खा गाउँपालिकाका लामु तामाङ आफ्ना मनका कुरा सुनाउन प्रदेशको मुकाम वीरेन्द्रनगर झरेका थिए ।
श्री ज्योति फाउण्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाकाबाट झण्डै दुई दर्जनबढी छोरीहरू सहभागी छन् ।
प्रतिक्रिया 4