Comments Add Comment

फास्टवाकमा आठ हात्ती दोस्रो चरणमा, छावा फुटबलमा एनआईसी एसिया विजयी

१३, पुस, चितवन । पर्यटकीय नगरी सौराहामा जारी चितवन हात्ती महोत्सव अन्तर्गत आयोजित हात्ती फास्टवाकमा थप ८ वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् ।

शुक्रबार पहिलो चरण अन्तर्गत दुई वटा समूहबाट उनीहरु दोस्रो चरणमा पुगेका हुन् ।

यसअघि पहिलो चरणबाट ४ वटा हात्ती दोश्रो चरणमा पुगिसकेका थिए । बाघमारा चौरमा शुक्रबार भएको फास्टवाकमा समूह ‘बी’ बाट बिजुलीकली, एकताकली, वम्वोजकली र जानकीकली क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो हुँदै दोस्रो चरणमा पुगेको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए ।

समूह ‘सी’ बाट समृद्धिकली, अनारकली, आशाकली र चम्पाकली क्रमशः पहिलो, दोस्रो, तेस्रो, र चौथो हुदै अघिल्लो चरणमा पुगेका भट्टराईले बताए ।

फास्टवाकमा कुल १५ वटा हात्ती छन् । शुत्रबार नै भएको हात्ती पोलोमा एमई टुर्स एण्ड ट्राभल विजयी भएको छ । एमईले टुर्सले मेगा बैंकलाई ५–४ गोल अन्तरको कठिन जीत निकालेको नजिता प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए । शनिबार होटल सेभेन स्टार र एनआरएन हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, हात्तीका छावाहरुबीचको फुटबलमा एनआईसी एसिया वैंकले रोमाञ्चक जीत हात पारेको छ । निर्धारित समयमा बराबर भई पेनाल्टीमा पनि बराबर हुँदा टसबाट गरिएको निर्णयमा एनआईसी एसिया वैंक विजयी भएको नजिता प्रकासन समितिका संयोजक रेग्मीले बताए ।

तोकिएको समयमा दुवै तर्फबाट २–२ गोल भएपछि पेनाल्टी सुटआउटमा खेल पुगेको थियो । पेनाल्टीमा पनि हात्तीका छावाले २–२ गोल गरेपछि खेलको निर्णय टसबाट गरिएको थियो ।

हात्ती महोत्सवको चौथो दिन शनिवार हात्ती सुन्दरी प्रतियोगिता हुने आयोजक क्षेत्रीय होटल संघका अध्यक्ष एवं महोत्सवका संयोजक सुमन घिमिरेले जानकारी दिए । शनिबार नै सुन्दरीको फाइनल हुनेछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १५ औं संस्करणको हात्ती महोत्सव सौराहामा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment