Comments Add Comment

योगेशलाई डा. केसीको जवाफः मेरो सहमतिले रातारात सम्बन्धन फुत्काउन खोज्नेलाई मात्र छेक्छ

१६ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकार र आफूबीच भएको सहमतिले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नसक्ने बताएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य एवं नेकपाका सांसद योगेश भट्टराईले सार्वजनिक सम्वादमार्फत उठाएका प्रश्नको केसीले विज्ञप्तिमार्फत जवाफ दिएका हुन् । शिक्षा समितिले थप छलफल गर्न चाहेपछि डा. केसीले आवश्यक नभएको जवाफ दिएपछि सांसद भट्टराईले शनिबार फेसबुकमार्फत केही प्र्रश्न गरेका थिए । डा. केसीसँग भएको सहमतिले उपत्यकामा बाहिर पनि मेडिकल कलेज नखुल्ने अवस्था आएको भन्दै उनले डा. केसीलाई सोधेका थिए- तपाईं उपत्यका बाहिर मेडिकल कलेज खोल्ने पक्षमा हुनुहुन्छ ?

जवाफमा डा. केसीले अब निजी होइन, सरकारी र आंगिक कलेजहरु खोल्नुपर्नेमा जोड दिएका छन् । धनीहरुका लागि निजी मेडिकल कलेजमा तीन चौथाई र अरुका लागि सरकारी तथा छात्रृवत्तिका एक चौथाई मात्र सिट रहेको भन्दै उनले भनेका छन्, ‘अब कलेज खोल्दा निजी थप्ने हैन कि सरकारी र आंगिक कलेजहरु थप्ने काम सरकारको प्राथमिकतामा पर्नुपर्छ । त्यसका लागि राज्यले लगानी बढाउनुपर्छ ।’

यसका लागि आफूले प्रस्ताव गरेको चिकित्सा शिक्षा ऐनले नरोक्ने उनको तर्क छ । डा. केसीले भनेका छन्, ‘त्यसले छेक्ने भनेको रातारात राजनीतिज्ञहरुसितको मिलेमतोमा त्रिवि वा केयुबाट सम्बन्धन फुत्काएर व्यापार गर्न चाहनेहरुका लागि मात्रै हो । त्यसबाहेक देशका विभिन्न ठाउँमा खुलेका विश्वविद्यालयलहरुले आंगिक क्याम्पस खोलेर मेडिकल शिक्षाका कार्यक्रम चलाउँदै निजी कलेजहरुलाई सम्बन्धन दिने विकल्प खुला नै छ ।’

यो पनि पढ्नुहोस डा. केसीलाई योगेशको प्रश्नः तपाईं काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने पक्षमा हुनुहुन्छ ?

सांसद भट्टराईले प्रमाणपत्र तहभन्दा तलका कार्यक्रम फेजआउटबारे पनि प्रश्न गरेका थिए । जवाफमा डा. केसीले माथेमा कार्यदलले देशभर विभिन्न तहमा डिग्री लिने विद्यार्थीहरुको तथ्यांक, त्यो तहको जनशक्तिको माग गरेर नै फेजआउटको सुझाव दिएको बताएका छन् । ‘अहिले प्राथमिक स्वास्थ्य केन्द्र तहसम्म पुगेको स्नातक तहको जनशक्तिलाई अझै तल्लो तहसम्म पुर्‍याउने नीति ल्याउनु जरुरी छ’, उनले भने, ‘तत्काल त्यो सम्भव नहुन सक्छ । तर तीन वर्ष पढेको जनशक्ति सहज परिचालनका लागि उपलब्ध भएको ठाउँमा अरु दशौं वर्ष पनि १८ महिना तालिम गरेकै जनशक्ति परिचालन गरिरहनुपर्छ भन्ने तर्क युक्तिसंगत छैन ।’

अहिले भएका एचए, अहेब लगायतका जनशक्तिलाई पनि अपग्रेड गर्दै लैजानुपर्ने उनको जोड छ ।

सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने आफ्नो माग भएको र पटकपटक सम्झौता भएपनि सरकारले झारो टार्ने काम मात्र गरेको उनले बताएका छन् । १० वर्षमा मेडिकल कलेजलाई गैरनाफामुक बनाउने प्रस्ताव स्वागतयोग्य भएको डा. केसीले बताएका छन् ।

तर, गैरनाफामुलक भनेको के भन्ने प्रष्ट ब्याख्या नहुँदा विकृति मौलाउन सक्ने भन्दै उनले भनेका छन्, ‘गत वर्षहरुमा निजी मेडिकल कलेजहरुको व्यवहार हेर्दा प्रस्टै हुनछ कि मेडिकल शिक्षामा नाफाखोरी रोक्ने हो भने १० वर्षमा तिनीहरुको सरकारीकरण नै गर्ने विकल्प बरु बेस हुन्छ ।’

साथै आफूसँग भएको सहमतिअनुसार भोलि १७ गतेसम्म चिकित्सा शिक्षा विधेयक तयार आमरण अनसनमा बस्ने डा. केसीको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment