Comments Add Comment

प्रधानमन्त्री कसलाई मान्छन् आफ्नो आदर्श व्यक्ति ?

‘तरकारीमा बेसार हाल्नुपर्छ भनेर कुन हजुरआमाले पत्ता लगाउनुभयो, उहाँ नै मेरो आदर्श ‘

‘तपाईं कसलाई आफ्नो आदर्श मान्नुहुन्छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको प्रश्न थियो यो । प्रश्नकर्ता एक विद्यार्थी थिए । ‘बालबालिकासँग प्रधामन्त्री’ कार्यक्रममा विभिन्न विद्यालयका बालकालिका र प्रधानमन्त्रीबीच साक्षतकार हुँदै थियो ।

प्रधानमन्त्री ओलीले कुनै एउटा नाम लिएर यो प्रश्नबाट उन्मुक्ति चाहेनन् । उनले कुनै विख्यात नेताको नाम लिएनन् । कुनै दार्शनिकको नाम लिएनन् । कुनै पौराणिक पात्रको नाम लिएनन् । प्रश्नकर्ताले संभवत यसको जवाफ, ‘नेल्सन मण्डेला, चेग्वभारा, माओत्सेतुङ, मदर टेरेसा वा यस्तै नामहरु’ अपेक्षा गरेका थिए होलान् । तर, जवाफ निकै गहिरिएर आयो ।

कोही कसरी अनुकरणिय बन्छन् ?

हामीलाई कसै न कसैको जीवन-पद्धती मनपर्छ, कसैको कार्यविधी मनपर्छ, कसैको स्टाइल मनपर्छ, कसैको विचार मनपर्छ, कसैको व्यक्तितव मनपर्छ । यसरी हाम्रो अन्र्तहृदयले रुचाएको व्यक्ति जसलाई हामी आफ्नो जीवनमा अनुशरणयोग्य ठान्छौं, ऊ हाम्रो आदर्श हुन् ।

जब आदर्श व्यक्तित्वको चर्चा गरिन्छ, तिनै नामहरु हामी फटाफट भन्छौं, जसले कुनै न कुनै क्षेत्रमा आफुलाई अब्बल सावित गरेका छन् । विश्वमा ख्याती आर्जन गरेका छन् । कठोर संघर्ष र सफलताको पर्याय बनेका छन् । तिनै व्यक्तित्वलाई हामी आफ्नो आदर्श व्यक्तिको सूचीमा राख्छौं ।

त्यसैले त अहिले स्कुले बालकालिकालाई सोधौं, ‘तिमी कसलाई आफ्नो आदर्श ठान्छौं ?’

जवाफका लागि उनीहरु एकछिन सोच्दैनन् । फटाफट भन्छन्, ‘मार्क जुकरबर्ग, बिल गेट्स …..।’

किन उनीहरु आदर्श व्यक्ति भए ? उनीहरुबाट के सिक्ने ? के अनुशरण गर्ने ? यसबारे भने उनीहरु घोत्लिदैनन् । र, यस्ता रेडिमेड जवाफमा त्यती मिठास सुनिदैन ।

तर, बालबालिकासँगको साक्षतकारमा केपी शर्मा ओलीले मननयोग्य जवाफ दिए । उनले भने, ‘ठ्याक्कै एउटा नाम भनेर म यसको जवाफ दिन सक्दिन । किनभने हाम्रा अग्रज, पूर्वज सबै आदरणिय हुनुहुन्छ । तिनै पूर्वज, जसले यति ज्ञान-विज्ञान सिर्जना गर्नुभयो, यस्तो समाज रचना गर्नुभयो उहाँहरु सबै मेरा एकमुष्ठ आदर्श हुन् ।’

हाम्रो जीवन-पद्धती, खानपान र पूर्खाको देन

मानव समाजलाई आजको अवस्थासम्म ल्याउनका लागि जसले दुःख, संघर्ष, त्याग गरे, उनीहरु आफ्नो आदर्श रहेको उनले जुन कुरा बताए, त्यो निकै स्मरणिय थियो । उनले भने, ‘हाम्रा अग्रज, पूर्वजहरुप्रति कृतज्ञ छु ।’

हाम्रा पूर्खाहरुले हामीलाई जीवन जिउने विशिष्ठ कला सिकाए । जीवन-पद्दतीको अनमोल गुण सिकाए । कसरी बाँच्ने, के खाने, कसरी खाने भन्ने कुराहरुको सिलसिला सिकाए । वास्तवमा तिनै पूर्खाहरु हाम्रा आदर्श हुन्, जसले परम्परागत ज्ञान, सीप, कौशल, शिल्प सिके र त्यसको अभ्यास गर्दै आजको परिस्कृत समाजको निर्माण गरे ।

प्रधामन्त्री ओलीले भने, ‘तरकारीमा बेसार हाल्नुपर्छ भनेर कुन हजुरआमाले सिक्नुभयो होला, सिकाउनुभयो होला, जान्नुभयो होला ?’

वेसार, जसमा प्राकृतिक एन्टिबायोटिक गुण हुन्छ । खानेकुरामा यस्तो गुण मिश्रण गर्नुपर्छ भन्ने ज्ञान सामान्य होइन । आज हामीले पुस्तौ पुस्ता बेसार मिश्रति खानेकुरा खायौं, जसले कतिपय रोगहरु लागेन । निरोगी भयौं । ‘यो कुन हजुरआमाले पत्ता लगाउनुभयो ? म चिन्दिन’ उनले थपे, ‘तर, उहाँ मेरा आदर्श हुनुहुन्छ ।’

पूर्खाहरुले आफ्नो ज्ञान, खोज, विवेकबाट जे कुरा आर्जन गरे, त्यो आज हाम्रो निधी भएको छ । सम्पति भएको छ । प्रधामनमन्त्री ओली भन्दै गए, ‘अलिकति गोलभेडा, अलिकति खुर्सानी, अलिकति नुन मिसाएको अचार बनाउने कला कुन हजुरआमाले सिक्नुभयो होला ?

टिमुर जस्तो परपर्राउँदो चिज पनि खानुपर्छ, गुणी हुन्छ भनेर कुन हजुरआमाले पत्ता लगाउनुभयो होला ? यसरी हाम्रा पूर्वजहरुले कति गुण लगाएका छन्, कति । यी पूर्खाहरु सबै मेरा आदरणिय हुनुहुन्छ, स्मरणिय हुनुहन्छ, श्रद्धालु हुनुहुन्छ, हाम्रा पूर्खाले यति धेरै शास्त्रहरु रचना गरे, यति धेरै ज्ञानज्ञुनका कुरा गरे, ति तमाम पूर्खा नै मेरा आदर्श हुन् ।’

अक्सर हामी आफ्नो आदर्श व्यक्तिको प्रसंग उठ्नसाथ कुनै नेता, अभिनेता आदिको नाम स्मरण गर्छौं । जबकी आफ्नै पूर्खालाई भने विर्सन्छौं । ति पूर्खा, जसले आजको समाज रचना गरे । मानव सभ्यताको विकास गरे । ढुंगाको ओडारबाट मान्छेलाई सुरक्षित घरमा स्थान्तरण गरे । सद्भावसहितको समाजको विकास गरे ।

ति पूर्खा, जसले खानेकुरा पत्ता लगाए । खाने शैली विकास गरे । उनीहरु हाम्रा आदर्श हुन् । तर, हामी उनीहरुबाट पाठ सिक्ने होइन, बरु ‘पुराना कुरा’ भनेर तिरस्कार गर्ने गर्छौं । तिनै पूर्खाको सीप, दक्षता, ज्ञानलाई अनुसरण गर्ने होइन, बरु ‘उहिलेका कुरा’ भनेर अस्विकार गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment