+
+
Shares

बालबच्चाको लागि अभिभावकले गर्नैपर्ने प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३ गते १५:३७

कस्तो विद्यालयमा छोराछोरी पठाउँदै हुनुहुन्छ ? त्यहाँका शिक्षक-शिक्षिका कस्ता छन् ? कक्षाकोठा कस्तो छ ? सेवा-सुविधा के छ ? पठन-विधी कस्तो छ ? शुल्क के-कस्तो छ ? सहुलियत छ/छैन ?

तपाईंले यो प्रश्न सोध्नुअघि नै अहिले धेरैजसो विद्यालयले तपाईंको अन्र्तवार्ता लिन्छ । अर्थात छोराछोरी भर्ना गर्न गएका अभिभावकलाई सुरुमा विद्यालयले प्रश्नोत्तरमा सहभागी गर्छ ।

यसरी अन्र्तवार्ता लिनुको ध्येय हो, तपाईंले छोराछोरीलाई घरमा कस्तो वातावरण दिनुहुन्छ ? के विद्यालयबाट फर्केपछि छोराछोरीले पढ्न-लेख्न पाउँछन् ? उनीहरुलाई लेख-पढ गर्न कति अनुकुलता छ ? तपाईं अर्थात अभिभावक कति शिक्षित छन् ?

तपाईंले विद्यालयमा यी नै प्रश्नको हल गर्नुपर्नेछ । तर, अभिभावकसँग यसरी अन्र्तवार्ता लिनुको भित्री ध्येय भने फरक छ । खासमा विद्यालय प्रशासन तपाईंबाट के बुझ्न चाहन्छ भने, तपाईंको पारिवारिक स्थिती के छ ? तपाईंले छोराछोरीलाई पढाउन सक्नुहुन्छ कि हुन्न ? नियमित रुपमा शुल्क तिर्ने तपाईंसँग स्रोत/आम्दानी छ छैन ? विद्यालयले असुल्ने अतिरिक्त शुल्कमा तपाईं राजी हुनुहुन्छ/हुनुहुन्न ?

अहिले हाम्रा छोराछोरीको लागि शिक्षा निकै खर्चालु कुरा भएको छ । किनभने छोराछोरीलाई निजी विद्यालय पठाउँछौं । सरकारले बर्षेनी अर्बौं रुपैयाँ शिक्षाका लागि खर्च गर्छ । तर, सरकारी विद्यालयको स्तरोन्नती भएको छैन । सरकारी विद्यालयको पठन-विधी टिठलाग्दो छ । त्यही कारण छोराछोरीको पढाईका लागि हामी निजी विद्यालयकै ढोका ढकढक्याउन पुग्छौं । यो हाम्रो सामाजिक प्रवृत्ति बन्दैछ । बाध्यता पनि ।

यसरी सरकारी विद्यालयबाट विमुख हुँदै गएका हाम्रा छोराछोरीलाई शिक्षा-दिक्षा दिलाउन अभिभावकले भएभरको खर्च गर्नुपर्ने अवस्था छ । एउटा बच्चाको पठन-पाठनमा अहिले हजारौं होइन, लाखौं खर्च गर्नुपर्ने वाध्यता छ । किनभने निजी विद्यालयले घुमाई-फिराई अभिभावकको गोजी टकटक्याउँछ । आखिर हामी बाध्य छौं, भएभरको खर्च गरेर विद्यालय पठाउन ।

अभिभावकलाई प्रश्न

आफ्नो बच्चाको भविष्यका खातिर तपाईंले आज आफुलाई समर्पण गरिरहनुभएको छ । त्यसैले छोराछोरीको पढाईमा लाग्ने खर्चमा तपाईंले कुनै सम्झौता गर्नुहुन्न । आज दुःख गर्नुहुन्छ, अनेकौ कष्ट झेल्नुहुन्छ । के का लागि ?

छोराछोरीको भविष्यका लागि ।

त्यसो हो भने तपाईंसँग अब एउटा अहंम प्रश्न छ, ‘के तपाईंले निर्धक्क शुल्क बुझाईरहेको विद्यालयले तपाईंको छोराछोरीको भविष्य बनाइदिन्छ ?’

एउटा विद्यालय जसले बालबालिकालाई अक्षर मात्र चिनाउँदैन, उनीहरुको भविष्यको मार्गचित्र कोरिदिन्छ । अर्थात विद्यालय एक धरातल हो, जहाँ टेकेर बालबालिकाले आफ्नो सुदूर भविष्यको यात्रा तय गर्न सक्छ । त्यसैले विद्यालयलाई हामी आफ्ना छोराछोरीको भाग्य विधाता पनि ठान्ने गर्छौं ।

छोराछोरीलाई महंगो वा राम्रो विद्यालयमा पठाएपछि हामी ढुक्क हुन्छौं, छोराछोरीको भविष्य बन्ने भो भनेर । तर, छोराछोरीलाई जुन विद्यालयमा पठाएका छौं, जुन शिक्षक-शिक्षिकाको हातमा सुम्पेका छौं, के उनीहरुले छोराछोरीको भविष्य बनाउँछन् ?

विद्यालय वा शिक्षक-शिक्षिकाले भविष्य बनाइदिने त होइन, तर भविष्यको मार्गचित्र कोरिदिने हो । छोराछोरीलाई सक्षम तुल्याउने हो । उनीहरुमा उत्सुकता जगाइदिने हो । उनीहरुको खुवी र रुची पहिल्याएर त्यही अनुसार अगाडि बढ्न प्रेरित गर्ने हो ।

जब कुनै बच्चा विद्यालय पुग्छ, उनीहरु खेल्छन्, रमाउँछन्, पढ्छन्, लेख्छन् । यस क्रममा उनीहरुले आफ्नो रुची र खुवी पनि प्रकट गर्छ । त्यसलाई बुझेर शिक्षक-शिक्षिकाले यस्तो उपयुक्त वतावरण तय गरिदिनुपर्छ, जहाँ उनीहरुले आफुलाई थप निखार्न सक्छन् ।

तर, हामीले छोराछोरीलाई पठाउने विद्यालयमा त्यस्तो अनुकुलता छ ? शिक्षक-शिक्षिकामा त्यस्तो खुवी छ ? अभिभावकले प्रश्न गर्नुपर्ने कुरा हुन् यी ।

अभिभावकको प्रश्न

अक्सर अहिलेका विद्यालयले अभिभावकको अन्र्तवार्ता लिने गर्छ । तर, अब अभिभावकले अन्र्तवार्ता लिनुपर्ने भएको छ ।

सामान्य हिसाबले सोचौं, जब हामी आफ्नो उपचारको लागि कुनै अस्पताल जान्छौं । चिकित्सको शरणमा पुग्छौं । तब, हामी उक्त अस्पतालको क्षमता, अवस्था, चिकित्सकको दक्षता आदिमाथि प्रश्न उठाउँछौं । किनभने हामी, आफ्नो जीवन उनीहरुलाई सुम्पदै हुन्छौं ।

ठिक यसैगरी छोराछोरीलाई विद्यालय पठाउनु भनेको उनीहरुको भविष्य शिक्षक-शिक्षिकामाथि सुम्पनु पनि हो । यदि अदक्ष चिकित्सक छन् भने, हाम्रो उपचार नहुन सक्छ । हाम्रो जीवन समाप्त हुनसक्छ । ठिक त्यसैगरी अदक्ष वा कमसल शिक्षक छन् भने, हाम्रा छोराछोरीको भविष्य मर्नेछ ।

त्यसैले विद्यालयमा छोराछोरी भर्ना गर्नुअघि अभिभावकले केही प्रश्न गर्नैपर्छ । विद्यालयको पृष्टभूमी के हो ? वर्तमान अवस्था के छ ? भौतिक पूर्वाधार र सेवा सुविधा कस्ता छन् ? भन्ने प्रश्न त आधारभूत नै भए । यी प्रश्न त सोध्नैपर्छ । त्यसबाहेक पनि सोध्नैपर्ने अर्को प्रश्न भनेको शिक्षक-शिक्षिका कस्ता छन् ? उनीहरुको पृष्टभूमी के हो ? दक्षता के हो ?

किनपनि यो प्रश्न सोध्नुपर्छ भने, शिक्षक-शिक्षिकाको कारण कतिपय विद्यार्थी पथभ्रष्ट हुन सक्छन् । डिप्रेसनमा पर्न सक्छन् । शिक्षक/शिक्षिकाले मार्गदर्शन मात्र दिलाउँदैन, पथभ्रष्ट पनि बनाउन्छ । यस्तो जोखिम कुन अवस्थामा हुन्छ भने, कमसल र अबुझ शिक्षक/शिक्षिका छन् भने । त्यसैले कुनैपनि विद्यालयमा बालबच्चा भर्ना गर्नुअघि शिक्षक/शिक्षिकाको प्रवृत्ति, खुबी आदिमाथि प्रश्न उठाउनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?