Comments Add Comment

फिफाबाट तीन करोड होइन, साढे बाइस करोड आएको हो : कर्माछिरिङ शेर्पा

१८ पुस, काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा) का पूर्वउपाध्यक्ष मणि कुँवरनिकट मानिने चारवटा जिल्ला संघले सोमबार एन्फा नेतृत्वमाथि १४ बुँदे आरोप लगाएका छन् ।

उनीहरूले यसअघि ११ पुसमा पत्रकार सम्मेलन गरेर एन्फा निर्वाचनमा आर्थिक चलखेल भएको भन्दै एन्फाका मानार्थ अध्यक्ष टासी घले, महासचिव इन्द्रमान तुलाधर, सदस्यहरू मधुसुधन उपाध्याय, दीपक खाती, दावा लामा र रविन्द्रमान जोशीबीचको अडियो सार्वजनिक गरेका थिए ।

नाताले एन्फाका पूर्वउपाध्यक्ष गणेश थापाका साला कुँवर गत अधिवेशनमा कर्माछिरिङ शेर्पाका प्रत्यासी थिए । कुँवर निकटस्थहरूले पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाए पनि यसबारेमा एन्फाले आधीकारिक धारणा सार्वजनिक गरेको छैन ।

कुँवर समूहको आरोपको विषयमा आधिकारिक धारणा जान्न अनलाइनखबरले एन्फा अध्यक्ष शेर्पासँग गरेको संक्षिप्त वार्ताः

मणि कुँवर समूहले सार्वजनिक गरेको अडियोमा चुनावका बेला पैसा बाँडेको भनिएको छ । यो विषयमा एन्फाको आधिकारिक धारणा के हो ?

वास्तविक कुरा बुझ्नका लागि त त्यसमा जजसलाई संलग्न भनिएको छ उहाँहरूलाई नै सोध्नु राम्रो होला । कुन उद्देश्यले ल्याइयो ? कसले बनायो ? किन बनायो ? उहाँहरूलाई नै थाहा हुने कुरा भयो ।

तर, एन्फाको अध्यक्षको नाताले म के भन्छु भने यदि त्यस्तो आपराधिक कार्य भएको छ भने त्यसको अनुसन्धान हुनुपर्छ । पत्रकार सम्मेलन गरेर बस्नु भन्दा अनुसन्धान गर्ने निकायलाई सहयोग गर्नु राम्रो होला ।

नयाँ टीम आएपछि नेपाली फुटबलमा राम्रो काम भएको छ । फुटबलको नाममा मोजमस्ती गर्दै आएकाहरूको लुटको स्वर्गमा हलचल मच्चिएपछि एन्फामाथि नचाहिने आरोप–त्यारोप गरिएको मात्रै हो । उनीहरूले जति नै विफल पार्न खोजे पनि नेपाली फुटबललाई माथि उठाएरै छोड्छु । नेपाली फुटबलबाहेक मेरो अरु कुनै स्वार्थ पनि छैन ।

यति गम्भीर आरोप लागिसकेपछि त एन्फाले नै अनुसन्धान गर्नुपर्ने होइन र ?

आपराधिक कार्यको अनुसन्धान गर्न सरकारका विभिन्न निकाय छन् । वास्तविकता के हो भनेर बुझ्ने काम हामी गरिरहेका छौं । एउटै विषयमा पटक–पटक पत्रकार सम्मेलन गर्नुले नेपाली फुटबलको भविश्य डामाडोल पार्न चाहनेको खेल हो भन्ने चाहिँ हामीलाई लागेको छ ।

सोमबार कुँवर समूहले गरेको पत्रकार सम्मेलनमा फिफा कांग्रेसमा विदेशी नागरिकलाई सहभागी गराइएको भनिएको छ । विदेशी नागरिकलाई नेपालको प्रतिनिधि बनाएर पठाउन मिल्छ ?

विरोधीले कहाँ, कहिले के भने भन्छ भन्ने भन्दा पनि सत्य के हो भन्ने कुरा बुझ्न जरुरी छ । तपाईंले नविन पाण्डेको विषयमा कुरा गर्न खोज्नु भएको हो भने उहाँ विदेशी नागरिक होइन । उहाँ नेपाल र नेपालीलाई माया गरेर फर्कनुभएको गैरअवासाीय नेपाली हो ।

अर्कोतिर हाम्रो संविधानले नै गैरआवासीय नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने भनिएको छ । संविधानको भाग २ मा गैरआवासीय नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोगको अधिकार हुने व्यवस्था छ । त्यस्तो तर्क गर्नेहरूले त राष्ट्रिय टीमको प्रशिक्षक पनि विदेश राख्न मिल्दैन भन्ने होला होइन ?

एन्फामा बसेर उहाँले स्वयंसेवीको रुपमा सहयोग गरिरहनुभएको छ । एन्फाबाट एक पैसा पनि लिनु भएको छैन । शुद्ध मन, इमानन्दारीकासाथ काम गर्नेलाई लक्षित गरेर प्रहार गर्दा नेपाली फुटबलमाथिकै प्रहार हो भन्ने बुझेको छु ।

तपाईलाईं म एउटा जानकारी दिन चाहन्छु, फिफा र एएफसीमा उजुरी दिँदा ‘यो अर्थहिन कुरा हो’ भन्ने जवाफ आएपछि पत्रकार सम्मेलन गरेर हल्लाखल्ला गरेका हुन् ।

साधारणसभाबाट पारित आर्थिक नियमावली कार्यान्वयन नगर्नुको कारण के हो ?

आर्थिक नियमावली ‘ट्रान्सलेट’ गरेर फुटवलको सर्वोच्च निकाय फिफामा पठाएका छौं । फिफामा ‘एप्रुभ’ हुने अन्मित चरणमा पुगेको छ । अहिले हामी प्रचलित ऐन कानून अनुसार काम गरिरहेका छौं ।

फिफा विश्वकपको टिकट वितरणमा पारदर्शिता नभएको त साँचो हो नि ?

यो मिथ्या आरोप हो । नेपाली फुटबलको विकास गर्न लागेको मान्छेका लागि त्यो टिकटको विषय सामान्य हो । वर्ल्डकपको टिकटजस्तो आयो त्यस्तै वितरण गरेका छौं । अपारदर्शिता भयो भनेर के भन्न खोज्नु भएको हो जसले भनेको हो उहाँहरूलाई नै सोध्नु ठीक होला । म यति भन्छु, नेपाली जनताले विश्वकप हेर्न पाउँदा अनावश्यक कोकोहोलो मच्चाउनुको तुक छैन ।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा फिफाबाट प्राप्त करिब तीन करोड रुपैयाँ विना प्रक्रिया एन्फा तथा होस्टल भवन पुनर्निर्माणको नाममा अनियमितता गर्न खोजिएको भनिएको छ । वास्तविकता के हो ?

आरोप लगाउनेहरूले नै अनियमितता भएको भनेका रहेनछन् । गर्न खोजिएको मात्रै भनेका रहेछन् ।

फिफाबाट प्राप्त भएको तीन करोड होइन साढे २२ करोड हो । त्यसबाट धरान, च्यासल र बुटवलस्थित एन्फा एकेडमीलाई ५०÷५० हजार डलर, एम्बुलेन्स खरिदमा एक लाख, जिल्लाको ग्रास रुट फुटबलमा ४५ हजार डलर लगाउने भएका छौं ।

चाहिन्छ भने म पुरै विवरण दिन्छु । फिफाबाट आएको रकम एक पैसा हिनामिना भएको पाउनु भयो भने मेरो विरोधमा ठूलो समाचार बनाएर लेख्नुहोला ।

जथाभावी भत्ता वितरण गरेको, होटलसँग आन्तरिक सम्झौता गरेर गुमराहमा राखेको भन्ने कुरा के हो ? यसले सिधै आर्थिक अनियमिततातर्फ संकेत गरेको छैन र ?

अनियमितता गरेको छ भने प्रमाण पनि होला । पैसा खुवाएको हो भने प्रमाण खै त ? आरोप मात्रै लगाएर हुन्छ र ।

रौतहटमा फिफाले बनाउन लागेको महिला टेक्निकल सेन्टरको काम अपारदर्शी ढंगले अगाडि बढाइएको भन्ने कुरा के हो ?

यो फिफाबाट अनुमोदन भएको आयोजना हो । सबै काम ई–बिडिङ गरेर गरेका हौं । अपारदर्शिताको कुनै गुञ्जायश छैन ।

तपाई नेतृत्वमा आउनुभएपछि पनि एन्फाले अपेक्षाकृत रुपमा काम गर्न नसकेको त स्वीकार्नुहुन्छ नि ?

हामी आएपछि जादुको छडी भए जसरी काम भयो भनेर भन्दिनँ तर, काम हुँदै नभएको भन्ने सत्य होइन । नेपाली फुटबललाई यति थिलथिलो अवस्थामा पुर्‍याइएको थियो कि हामी यतिबेला त्यसको फाउन्डेसन निर्माणमा लागेका छौं । कृषिसँग तुलना गरेर हेर्ने हो भने बाँझो खेत खन्ने, माटो कमलो बनाउने र बीउ छर्ने काममा बढी जोड दिइरहेका छौं ।

४५ जिल्लामा ‘ग्रासरुट’ फुटवलको काम भइरहेको छ । पत्रकार सम्मेलन भएका चार वटै जिल्ला मध्ये काठमाडौं, भक्तपुर र धादिङले ‘ग्रासरुट’ फुटबललाई निरन्तरता दिएको छैन । ललितपुर जिल्ला त झन उद्घाटन पनि गरेको छैन । यसबाटै उहाँहरू नेपाली फुटबलको विकासमा लागिरहनुभएको छ वा विनास भन्ने आफैंमा प्रष्ट छैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment