Comments Add Comment

धनी बाबुका छोराछोरी कृषि पढ्दै अमेरिका जाँदै !

१९ पुस, चितवन । पुस ३ गते खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा युवा कृषकलाई दिइएको आवासीय तालिमको उद्घाटन गर्दै कृषिमन्त्री चक्रपाणि खनालले भने ‘माटोसँग खेल्ने युवा देशमा चाहिएको छ ।’

माटोसँग खेल्ने युवा जनशक्ति देशभित्र नै आवश्यक रहेको मन्त्री खनालको कथन छ । तर के, नेपालका विश्वविद्यालयहरुले त्यो अनुरुपको शिक्षा दिएर माटो टेक्ने जनशक्ति तयार गर्न सकेका छन् त ?

कृषि शिक्षा लिएर पढोका विद्यार्थीहरु व्यवसायी बन्ने प्रतिशत अति नै न्यून छ । यसको मूल समस्या के हो भने कृषि कर्म गर्न नचाहने शहरिया धनी बाबुका छोराछोरीहरुले नै स्नातक तहको बीएससी-एजी अध्ययनको अवसर पाउँछन्, जो खेतबारीमा कहिल्यै पस्दैनन् ।

राज्यको लगानीमा कृषि शिक्षा अध्यापन थालेको चार दशकभन्दा बढी समय बित्यो । तर, पनि कृषि उत्पादन व्यवसायिक हुन सकेन । शिक्षा लिनेहरू सर्टिफिकेट बोकेर कि त सरकारी जागिरे बने, कि विदेशतिर उडे । कृषि शिक्षा उत्पादनसँग जोडिन सकेन ।

विद्यार्थीहरूले शिक्षा लिएर कृषकलाई सिकाउलान् भन्ने अवस्था छैन ।

लक्ष्य अमेरिका

कृषि तथा वनविज्ञान विश्वविद्यालय

नेपालमा कृषि शिक्षा लिएका अधिकांश विदेश हानिएका छन् । नेपालमा कृषि शिक्षा लिएका अधिकांश विदेश जाने गरेको पाइन्छ । विदेशमा छात्रवृत्ति पाइने र धेरै कमाउन सकिने आशमा धेरैले कृषि शिक्षा लिने गरेको जानकारहरूको भनाइ छ । तर, नेपालमै भने कृषि क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । कृषि पढेर कृषि उद्यमी बन्ने लक्ष्य भएका विद्यार्थीको संख्या कम छ ।

कृषि शिक्षा पढेका धेरैले सजिलै अमेरीका जान पाउने भएकाले यसमा आकर्षण बढेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्रा.डा. श्रवणकुमार शाह बताउँछन् ।

‘निजी विद्यालय पढेका धनी बाउका छोराछोरी कृषि पढ्न आएका होइनन्, अमेरीका जाने भनेर पढ्न आएका हुन्, विदेशमा पढ्न जानेलाई राज्यले लगानी गरिरहेको छ,’ शाह भन्छन्, ‘विदेशमा कृषि पढेकाहरू फिल्डमा गएर आफैं काम गर्ने गरेका छन् । ट्याक्टर चलाउँछन्, किसान नै भएर काम गर्छन् तर नेपाली विद्यार्थी भने आफ्नै देशमा काम गर्न लाज मान्छन् ।’

पढेलेखेका मानिसले खेती किसानी गर्नु हुँदैन भन्ने परम्परागत सोच अझै परिवर्तन हुन नसक्दा यस्तो अवस्था आएको विज्ञ बताउँछन् । जागिरे मानसिकताले अझै नेपालीलाई उद्यमशील कृषक बनाउन रोकेको छ ।

बीएससी-एजी पढेपछि छात्रवृत्तिमा विदेशमा माथिल्लो तह अध्ययनको अवसर पाइने सम्भावना र प्राविधिक विषय पनि पढ्नुपर्छ भन्ने धारणाको विकासले पनि यसमा विद्यार्थीको आकर्षण बढेको छ । यो विषय पढेका विद्यार्थी बेरोजगार छैनन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालका अनुसार प्रवेश परीक्षामा नाम निकाल्नेहरु कृषिसँग कम साइनो भएका विद्यार्थी बढी छन् । मेरीट प्रवेश परीक्षा प्रणालीमै सुधारको खाँचो औंल्याइएको छ

सरकारदेखि, उद्योग, एनजीओ, आईएनजीओ, ट्रेड स्कुलदेखि धेरै क्षेत्रमा काम पाइरहेका छन् । यो विषय अध्ययन गर्नेहरूलाई रोजगारीको समेत ग्यारेन्टी छ । विदेशमा छात्रवृत्ति पाइने र धेरै कमाउन सकिने आशमा धेरैले कृषि शिक्षा पढ्ने गरेका छन् ।

सरकारको लगानी खेर

कृषि शिक्षा सस्तोमा दिलाउन सरकारले लगानीसमेत गरेको छ । ‘एक जिल्लामा कम्तीमा एउटा कृषि क्याम्पस’ सञ्चालनको नीति सरकारको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विएससी एजी पढ्ने विद्यार्थीले चार वर्षे कोर्षको जम्मा करिब दुई लाख रुपैयाँ तिर्ने गर्दछन् । अझै छात्रवृत्तिमा पढ्ने विद्यार्थीले जम्मा ३१ हजार रुपैयाँ तिरे पुग्छ ।

पाँच बर्षे भेटेनरी पढ्ने विद्यार्थीले पाँच वर्षको करिब चार लाख रकम मात्रै तिर्ने गरेका छन् । छात्रवृत्ति पाउनेले सेमेष्टरको जम्मा छ हजार तिर्ने गरेका छन् । जबकी यही कोर्ष निजी कलेजमा पढ्दा उसको क्याम्पसमा मात्रै बुझाउने खर्च १२ लाखको हाराहारीमा हुने जानकारहरु बताउँछन् ।

फेरि विश्वविद्यालयबाट विभिन्न शीर्षकमा विद्यार्थीहरुले रकमसमेत लिइरहेका हुन्छन् । विश्वविद्यालयमा प्रदान गरिने सुविधाहरुको हिसाव मिलाउँदा विद्यार्थीहरुले लगभग विना खर्च नै कृषि र भेटेनरी शिक्षा लिने गरेका छन् ।

तर, पढिसकेपछि विद्यार्थीहरुको पहिलो रोजाई विदेश नै हुन्छ । विश्वविद्यालयका प्रा.डा. श्रवणकुमार शाह बिदेश जाने विद्यार्थीहरुको ‘नो अब्जेसक्न लेटर’ बनाइदिँदा बनाइदिँदा हैरान नै परिने बताउँछन् । ‘सरकारले चार-पाँच वर्षसम्म लगानी गरेका विद्यार्थी धमाधम विदेश गएका छन्,’ उनी भन्छन्, ‘राज्यको लगानी वालुवामा पानी भएको छ ।’पशु विज्ञान, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकाय रामपुरकी डीन प्रा.डा. शारदा थपलियाले भेटेनरी पढ्ने विद्यार्थीहरुले पाँच वर्ष पढ्दा उनीहरुले पढ्नका लागि विश्वविद्यालयमा तिरेकोभन्दा बढी रकम विभिन्न शीर्षकमा लैजाने गरेको बताइन् ।

कहिल्यै पनि खेतबारीमा नटेक्ने परिवारका सदस्य जो निजी तथा आवासीय (बोर्डिङ) स्कुल पढेका छन् उनीहरूले नै कृषि अध्ययनको मौका पाउँदै आएका छन् ।

मेरिट परीक्षा प्रणालीको करामत

चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको कृषि शिक्षाका लागि लिने प्रवेश परीक्षा मेरीट बेसमा हुने भएकाले निजी विद्यालयमा पढेका विद्यार्थीहरूले कृषि शिक्षा पढ्ने अवसर पाएका छन् ।

मेरीट बेस प्रणालीमा प्रवेश परीक्षामा जसले धेरै नम्बर ल्याउँछ, उही छनौट हुन्छ ।

यस्तो प्रणालीका कारण प्रायः सहरका निजी स्कुलमा पढेका विद्यार्थीहरु बिएससी-एजी पढ्नका लागि छनोट हुने गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल बताउँछन् । उनका अनुसार प्रवेश परीक्षामा नाम निकाल्नेहरु कृषिसँग कम साइनो भएका विद्यार्थी बढी छन् ।

ग्रामिण भेगका किसानका छोराछोरीका लागि यो शिक्षा ‘आकाशको फल आँखातरी मर’ भनेजस्तै भएको छ । सरकारी विद्यालय पढेर आईएससी पास गरेका न्युन विद्यार्थी मात्रै बिएससी एजीको प्रवेश परीक्षा उत्तीर्ण हुन्छन् ।

पारिवारिक रूपमा कृषि पेसा गर्दै आएको र पछि पनि कृषिलाई नै आफ्नो पेसा बनाउन चाहने सरकारी विद्यालयमा पढेका विद्यार्थी प्रवेश परीक्षामा कम उत्तीर्ण हुन्छन् ।

३४ वर्षसम्म रामपुरमा कृषि शिक्षा पढाएका प्रा.डा. महदत्त शर्मा भन्छन्- पढ्ने र पढाउने मात्रै काम भयो देशका लागि केही भएन ।

जो प्रवेश परीक्षा पास गरेर विएससी एजी उत्तीर्ण हुन्छ, ऊ कृषि पेशामा लाग्दैन । विश्वविद्यालयबाट दीक्षित जनशक्ति कि त सरकारी जागिर वा एनजीओ आईएनजीओमा रमाएको छ । धेरै त विदेश पलायन हुन्छन् ।

यस्तो अवस्थाले कृषि विषय पढाइमा राज्यको लगानी खेर गैरहेको छ । त्यसैले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका रजिष्ट्रार प्रा. डा. मनराज कोलाक्षपति प्रवेश परीक्षा प्रणालीमा नै सुधार आवश्यक रहेको बताउँछन् ।

प्रवेश परीक्षामा विषेश प्रकारको आरक्षण राख्नुपर्ने माग पनि उठ्दै आएको छ । हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयले कृषिका लागि केन्द्रीय क्याम्पस रामपुरका लागि १६८ सिट निर्धारण गरेको छ ।
प्रादेशिक कोटाअन्तर्गत २१ जनाले पढ्न पाउँछन् । त्यसमा मात्रै सरकारी विद्यालय पढेका विद्यार्थीहरुले प्राथमिकता पाउँछन् । आंगिक क्याम्पसको ५४ जनाको कोटामा ७ जना विद्यार्थीले मात्रै यस्तो अवसर पाउँछन् ।

खुम्चिँदो ज्ञान, छैन प्राक्टिकल

कृषि शिक्षा कक्षा कोठाभित्र मात्रै सीमित भएको विद्यार्थी र प्राध्यापकहरु बताउँछन् । ‘विद्यार्थीले सैद्धान्तिक शिक्षा मात्रै लिन्छन्, प्राक्टिकल गर्दैनन् गराइँदैन, ज्ञान पनि सीमित छ,’ कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्रा.डा. श्रवणकुमार शाहले भने, ‘उचित ल्याबहरु पनि छैन, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने काम नै हुँदैन । शिक्षकसँग डेडिकेशन पनि छैन ।’कृषि शिक्षा पढ्ने विद्यार्थीहरुका लागि प्राक्टिकल ज्ञान पनि अनिवार्य हुनुपर्दछ । तर, पछिल्लो समयमा विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुले यस्तो मौका नै पाउँदैनन् ।

यस्तो अवस्थाले गुणस्तरहीन विद्यार्थी उत्पादन भैरहेको उनी बताउँछन् । शाहका कुरामा सहमत छन्, प्रा.डा. गणेश गुरूङ पनि । कृषि शिक्षाको पढाई भाषण दिए जस्तो हुँदै गएको गुरूङ बताउँछन् ।

३४ वर्षसम्म रामपुरमा कृषि शिक्षा पढाएका प्रा.डा. महदत्त शर्मा विश्वविद्यालयबाट उत्पादित कृषि जनशक्तिले देशमा कुनै नयाँ कुरा गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘पढ्ने र पढाउने मात्रै काम भयो देशका लागि केही भएन ।’

कृषि विषयमा आकर्षण बढ्दो

कृषि शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो छ । त्यसैले सम्बन्धन माग्ने निजी क्याम्पसहरूको दबाव विश्वविद्यालयमाथि बढेको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा यो कार्यक्रम सञ्चालनमा छ । मध्यपश्चिम विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले समेत यो शैक्षिक कार्यक्रम चलाउन खोजिरहेका छन् ।

नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजारभन्दा बढी विद्यार्थीलाई कृषि विषयमा स्नातक तहसम्म पढाउने गरेका छन् । ती विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा कृषिसँग सम्बन्धित विषय पढ्नका लागि आवेदन दिनेहरुको संख्या ११ हजारभन्दा बढी हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले ४००, कृषि तथा वन विज्ञान विश्वविद्यालयले ४१८ र पूर्वाञ्चल विश्वविद्यालयले २४० विद्यार्थीलाई वार्षिक रुपमा कृषि विषय पढाउँदै आएका छन् । तीनवटै विश्वविद्यालयमा गरी १४८ जनाले स्नातक भेटेनरी र रामपुरमा १६ जनाले मत्स्यविज्ञान (फिसरिज) पढ्दै आएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले केन्द्रीय क्याम्पसमा १६८ जना विद्यार्थीलाई कृषि शिक्षा पढाउँदै आएको छ ।

विश्वविद्यालयले पाँचवटा आंगिक क्याम्पसमा बिएससी-एजी कार्यक्रम सञ्चालन गरेको छ । थप दुई सञ्चालनको तयारीमा छन् । विश्वविद्यालयले गत असार २० गते आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएको थियो । तर, विद्यार्थी तथा प्राध्यापकको विरोधपछि विश्वविद्यालय विवादमा परेको छ ।

त्रिभुवन विश्वविद्यालयले लमजुङको सुन्दरबजारमा एक सय, पक्लिहवामा एक सय, झापा र चितवनमा ५०/५० जना विद्यार्थी पढाउँदै आएको छ । त्रिविको सम्वन्धनमा दाङको तुलसीपुर र घोराही, इलाम निजी क्याम्पसले कृषि शिक्षा ५०/५० जना विद्यार्थी पढाइरहेका छन् । बैतडीमा त्रिविकै सम्वन्धनमा समुदायस्तरबाट सञ्चालित क्याम्पसले विद्यार्थी पढाइरहेको त्रिविका डिन केशवराज अधिकारी बताउँछन् ।

पूर्वाञ्चलको सम्बन्धनमा निजी कलेजले चितवनको भरतपुरमा ५० र काठमाडौंमा ५० जना विद्यार्थी पढाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment