Comments Add Comment

भरतपुरमा यसरी सकियो सिटी हलको किचलो

२० पुस, चितवन । भरतपुर महानगरपालिकाको महत्वकांक्षी योजनाका रुपमा रहेको सिटी हल निर्माणको काम अघि बढ्ने भएको छ । महानगरपालिकाले भरतपुर–१० मा रहेको जिल्ला समन्वय समितिको ४ बिगाहा ४ कठ्ठा जग्गामा आधुनिक सिटी हल बनाउने तयारी अघि बढाएको छ ।

अब जिल्ला समन्वय समितिका प्रमुख बसेको क्वार्टर क्षेत्रदेखि पूर्वतर्फ बाइपास रोड सडकसम्मको भागलाई समेटेर सिटी हल बनाउने प्रकृया अघि बढेको छ । सिटी हल निर्माण गर्ने यो स्थानसँग उत्तरमा वाइपास रोड जोडिन्छ ।

यहाँको आवश्यक जग्गा महानगरलाई दिने भनी गरिएको निर्णयलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पनि स्वीकृति प्रदान गरेको छ । यो जग्गा महानगरपालिकाको स्वामित्वमा ल्याउने तयारी भैरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

शहरी विकास मन्त्रालयबाट आएको सहसचिवको टोलीले सिटी हल बन्ने जग्गाको नापजाँच गरेर फर्किएको छ । माटो परीक्षणका लागि प्राविधिकहरु आउने तयारीमा छन् । सिटी हलको नक्सा ड्रोइङ डिजाइन र डीपीआरको काम पनि सहरी विकास मन्त्रालयले नै अघि बढाएको महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् ।

क्यान्सर अस्पतालको जग्गामा सम्भव भएन

शहरी विकास तथा भवन निर्माण विभागले देशभर १७ ठाउँमा सिटी हल बनाउने योजना ल्याएको छ । जसमध्ये सबैभन्दा ठूलो प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा र सबैभन्दा सानो सुर्खेतमा बन्नेछ । प्रचण्डको गृहनगर भरतपुरमा मध्यम क्षमताको सिटी हल बनाइनेछ ।

सुरुमा महानगरपालिकाले वीपी क्यान्सर अस्पतालको जग्गामा सीटी हल बनाउने प्रस्ताव गरेको थियो । महानगरपालिकाले क्यान्सर अस्पतालको ७६ विघामध्ये ५ विघा जग्गामा सिटी हल बनाउने निर्णय गरेर मन्त्रिपरिषदमा यसअघि नै फाइल पठाइसकेको थियो । तर, विपक्षी नेपाली कांग्रेसको विरोधका कारण महानगर आफ्नो निर्णयबाट पछि हट्न बाध्य भयो ।

गत साउन ६ गते कांग्रेस चितवनका सभापति र साउन १० गते कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवले विज्ञप्ति नै निकालेर क्यान्सर अस्पताल क्षेत्रमा सिटी हल बनाइए आन्दोलित हुने चेतावनी दिएका थिए ।

कांग्रेसका वकिलहरुको सम्मेलनमा गैंडाकोट आएका बेला पार्टीका शीर्षनेताहरुले एक मुख भएर सिटी हल निर्माणको विरोध गरेका थिए । भरतपुर क्यान्सर अस्पतालमा वीपीको नाम जोडिएको हुनाले कांग्रेसले अस्पतालको जमीनमा सिटी हल बनाउन नदिने भन्दै कांग्रेसको केन्द्रीय नेतृत्व नै यसको विरोधमा लाग्यो ।

यसैवीच महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय अगाडिको खाली चौर (गेष्ट हाउस चौर) मा सिटी हल बनाउने निर्णय गर्‍यो । जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दल, जिल्ला समन्वय समिति र भरतपुर महानगरपालिकाको गत भदौ २७ मा बसेको संयुक्त बैठकले गेस्ट हाउस चौरमा सिटी हल बनाउने निर्णय गरेको थियो ।

तर, यो निर्णय बाहिर आउन पाउँदा नपाउँदै अन्य साना दल र स्थानीयहरुले त्यसको विरोधमा आन्दोलन नै गरे । खेलाडीहरुसमेत महानगरसँग रुष्ट बने ।

अन्ततः जिल्ला समन्वय समितिका प्रमुख बसेको क्वार्टर क्षेत्रदेखि पूर्वतर्फ बाइपास रोड सडकसम्मको भागलाई समेटेर सिटी हल बनाउने प्रकृया अघि बढाउने सहमति जुटेको महानगरपालिकाले जनाएको छ ।

जिल्ला समन्वय समितिको क्वाटर क्षेत्रमा सिटी हल बनाउँदा गेष्ट हाउस चौर, शहीद मञ्च, कभर्ड हल, खेलकुद विकास समिति, पत्रकार महासंघको कार्यालय, राष्ट्रिय समाचार समिति भवन जोगिने भएका छन् ।

सिटी हल बन्ने जग्गा अहिले जिल्ला समन्वय समितिका नाममा छ । जग्गा महानगरलाई दिँदै गर्दा भरतपुर महानगरसँग जिल्ला समन्वय समिति (जिसस) ले दुई सर्त राखेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जग्गा अभावमा राष्ट्रिय गौरवको आयोजना गुम्ने देखिएपछि महानगरलाई जग्गा उपलब्ध गराइएको बताए ।

हाल कायम रहेका सटर क्षेत्रमा व्यावसायिक सटर बनाइदिएर त्यसको आम्दानी जिससको कोषमा दिनुपर्ने र आवास भवनहरु स्थानान्तरणमा महानगरले लगानी गर्नुपर्ने सर्त महानगरसँग राखिएको उनले बताए ।

कांग्रेस भन्छ– यो दीर्घकालका लागि अनुपयुक्त स्थल

यसैवीच भरतपुर महानगरपालिकाले सिटी हल बनाउने भनेर निर्णय गरिएको स्थान दीर्घकालका लागि अनुपयुक्त रहेको कांग्रेस चितवनको भनाइ छ । कांग्रेस चितवनका सचिव उत्तम जोशीले जहाँ पनि कांग्रेसले अवरोध गर्‍यो भन्ने सन्देश जाने भएकाले अहिले बनाउने भनिएको स्थानका बारेमा आफूहरु चुप लागेर बसेको बताए ।

कांग्रेसलाई विकासविरोधी देखाउने प्रयास भैरहेको जोशीको भनाइ छ । ‘अहिले सिटी हल बनाउन लागिएको ठाउँ तत्कालका लागि समस्या नभए पनि दीर्घकालका लागि समस्या आउने खालको छ, घना वस्ती छ’ सचिव जोशीले अनलाइनखबरसँग भने, ‘भरतपुर महानगर भनेको वडा नं १० वा ११ मात्रै हैन, सहरलाई गाउँसँग पनि जोड्नुपर्छ ।’

महानगरका लागि गीतानगर, पटिहानी, आँपटारी र सानो नगरवन विकल्पका रुपमा रहँदा रहँदै यही कोचिन खोज्नु राम्रो नभएको जोशीको तर्क छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने भनिएको क्रिकेट रंगशालाको स्थान छनौट राम्रो भए पनि सिटी हलका लागि अहिले पनि उपयुक्त नभएको उनको बुझाइ छ । यहाँ सिटी हल बनाउँदा भोलिका दिनमा पछुताउनुपर्ने अवस्था आउन सक्ने कांग्रेस सचिव जोशीले बताए ।

खुशी देखिइन् मेयर दाहाल

सिटी हलका लागि रकम आइसक्दा पनि निर्माण गर्ने स्थानको टुंगा लगाउन नसकेपछि तनावमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल यतिबेला भने खुसी देखिएकी छिन् ।

‘हामीले शहरी विकास मन्त्रालयमा पनि भनेका छौं छिटोभन्दा छिटो देशकै नमूना सिटी हलको डिजाइन तयार गरिदिनुस्’ मेयर दाहालले अनलाइनखबरसँग भनिन् ‘महानगर आफैंले पनि यो काम गर्न सक्थ्यो, तर हामीले सहरी विकास मन्त्रालयलाई नै जिम्मा दिएका छौं ।’

अहिले बन्न लागेको सिटी हलमा पार्किङको कुनै समस्या नहुने महानगरपालिकाको दावी छ । निर्माणको क्रममा रहेको अन्र्तराष्ट्रियस्तरको ओद्योगिक प्रर्दशनी केन्द्र र सिटी हल नजिकै रहनेछन् । सिटी हलमा कार्यक्रम गर्दा उसको आफ्नो पार्किङमा सवारी नअटे प्रर्दशनी केन्द्रमा र प्रर्दशनी केन्द्रमा कार्यक्रम हुँदा सिटी हलको खाली जमिनमा पार्किङ गर्न सकिने मेयर दाहालले बताइन् ।

‘यहाँको ट्राफिक व्यवस्थापनमा कुनै समस्या ल्याउँदैन’ मेयर दाहालले भनिन् । सिटी हल बनाउने भन्दैं अघिल्लो बर्ष आएको ५१ करोड रकम फ्रिज भएको थियो । त्यसपछि पटकपटक महानगरपालिकाले सिटी हलका लागि जग्गाको खोजी गर्दै भौंतारिए पनि उपर्युक्त जग्गामा सहमति हुन नसक्दा मेयर दाहालसमेत दिग्दार भएकी थिइन् । तर, अहिले अवस्था सहज भएको भन्दै उनले खुसी भएको प्रतिक्रिया दिइन् ।

तीन महिनाभित्र नै डीपीआरसहित ड्रोइङ डिजाइनका सवै काम सकिने र त्यस लगत्तै शिलान्यास गर्ने योजनामा महानगरपालिका रहेको दाबी मेयर दाहालको छ । चार हजार क्षमताको सिटी हलमा साना साना कार्यक्रम, तालिम र सेमिनार गर्न मिल्ने गरी हलहरु रहनेछन् ।

सिटी हल बहुबर्षीय योजनाअन्र्तगत निर्माण गर्ने लक्ष्य छ । निर्माण पूरा हुन तीनदेखि चार अर्ब खर्च लाग्ने अनुमान गरिएको मेयर दाहालले बताइन् । एउटा सिटी हल भरतपुरमा अति आवश्यक नै थियो भन्दै मेयर दाहालले कार्यक्रम गर्न पर्‍यो भने पार्टी प्यालेस वा होटल खोज्दै जानुपर्ने वाध्यताको अन्त्य हुने दाबीसमेत गरिन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरू गर्न मिल्ने अन्तर्राष्ट्रिय स्तरको सभा हल भरतपुरमा बन्नु सबैका लागि गौरवको विषय भएको भरतपुर महानगरपालिका वडा नः १० का वडाध्यक्ष अरुणपीडित भण्डारी बताउँछन् । सिटी हल महानगरको धेरै मापदण्ड मध्येको एक मापदण्ड भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment