Comments Add Comment

पोखरामा १० करोड लागतमा पशु बधशाला निर्माण गरिने

२२ पुस, पोखरा । पोखरामा आधुनिक बधशाला निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलमा पहिलो चरणमा १० करोडको लागतमा पशु बधशाला निर्माण गरिन लागेको हो ।

दुई चरणमा गरी बनाइने बधशाला पहिलो चरणमा ५ सय वटा खसी एकै दिन बध गर्न मिल्नेगरी निर्माण गर्न लागिएको पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख शिव वाग्लेले जानकारी दिए । यसका लागि जग्गाबाहेक करीब १० करोड लाग्ने अनुमान गरिएको उनले बताए ।

बधशाला निर्माणका लागि ८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । बधशाला निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५ करोड, पोखरा महानगरपालिकाले २ करोड र हेफर इन्टरनेसनलले १ करोड ५० लाख प्रदान गरिसकेको हो । संघीय सरकारले भने ३ करोड दिने बचन दिएको छ ।

बधशाला पोखरा महानगरपालिका वडा नम्बर १४, १५ र २१ मध्ये कुनै एउटा वडामा बनाउने तयारी गरिएको छ । सबै हिसाबले पोखरा २१ स्थित दोबिल्लामा बधशाला निर्माण गर्न उपयुक्त रहेको प्रारम्भिक निश्कर्ष निकालिएको महानगर स्रोतले बताएको छ ।

बधशाला निर्माणका लागि प्रशस्त रुपमा सरकारी जग्गा भएको, नजिकै खोला भएकाले पानीको स्रोत भएको र नजिकमा गाउँ नभएकाले दोबिल्ला उपयुक्त ठाउँ भएको समितिको निश्कर्ष छ ।

सो जग्गा यसअघि क्रसर उद्योगको रुपमा प्रयोग गरिए पनि अहिले भने खाली बगरका रुपमा रहेको छ । समितिले भने यसलाई गोप्य राखेको छ । अहिले नै बधशाला स्थलबारे जानकारी दिदा बनाउने भन्दा पनि बिगार्न सक्रिय हुने डरले समितिले ठाउँलाई गोप्य राखेको स्रोत बताउँछ ।

बधशाला स्थलको अन्तिम निर्णय गर्न पोखरा महानगरपालिकाका पशु विकास महाशाखा प्रमुख शिव वाग्लेको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति बनाएको बुझिएको छ ।

प्रस्तावित बधशालास्थल मध्ये जग्गाको उपलब्धता, वातावरणीय असर, लगानी, पूर्वाधार, फोहोरजन्य वस्तुको व्यवस्थापनलगायतको आधारमा बधशाला स्थल छनौट गरेर मूल समितिलाई ७ दिनभित्र बुझाउनेछ । त्यसपछि मूल समितिले निर्णय गरेर बधशाला निर्माण कार्य थालनी गर्ने बताइएको छ ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले नेपालको प्रचलित कानुन अनुसारको उपभोक्ताले गुणस्तरीय मासु खान पाउने अवस्था पशु बधशाला निर्माणले मात्र सम्भव हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment