२७ पुस, काठमाडौं । सरकारी सहभागितामा पृथ्वीजयन्ती मनाइएको छ ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी जयन्ती मनाएको हो ।
कमलादीस्थित प्रज्ञा भवनबाट बाजागाजासहित शुरु भएको र्यालीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी भएका छन् ।
प्रज्ञा भवनबाट अघि बढेको र्याली सिंहदरवारको मूलद्धार अगाडि रहेको बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक अगाडि पुगेर समापन हुनेछ । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी आफैं पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।
२७५ वर्षअघि बाइसे र चौबिसे राज्यमा विभाजित भएको र ब्रिटिस साम्राज्यले भारतमा कब्जा जमाएसँगै नेपाल निल्न खोजेका बेला तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा साना राज्यहरुलाई बलपूर्वक एकीकरण गरेको इतिहास छ ।
शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो ।
तर, गणतन्त्र स्थापनापछि सो प्रचलन हट्यो । पछिल्लो केही वर्षबाट भने सार्वजनिक विदा नदिएपनि कार्यक्रमहरुमा सरकारी अधिकारीहरुको सहभागिता हुन थालेको छ ।
सार्वजनिक विदा नदिए पनि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई जनस्तरबाटै सम्मान गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री बास्कोटाले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग सन्देशमार्फत पृथ्वी नारायण शाह नेपाल एकीकरणका नायक भन्दै उनको योगदान नेपाली जनताले कहिल्यै नबिर्सने बताएका छन् ।
प्रतिक्रिया 4