Comments Add Comment

सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता माघ १ देखि पोखरामा हुने

२९ पुस,  पोखरा । पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता यही माघ १ गतेदेखि ५ गतेसम्म पोखरा रंगशालामा हुने आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यसअघि प्रतियोगिताको पहिलो संस्करण रोल्पामा भएको थियो । पुरुषतर्फको दोश्रो संस्करण भने पुस २३ गतेदेखि २७ गतेसम्म सुनसरीको इटहरीमा संचालन भएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीयसहित १० टिमले सहभागिता जनाउने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विभागीय क्लवहरु नेपाल पुलिस क्लव, त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले सहभागिता जनाउने उनले बताए ।

उनका अनुसार प्रतियोगितामा प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशले सहभागिता जनाउनेछन् ।

लिगकम नकाउटका आधारमा हुने प्रतियोगिताको पोल ‘ए’ मा एपीएफ क्लव, प्रदेश १ र सुदूरपश्चिम प्रदेश, पोल ‘बी’ मा प्रदेश ५, प्रदेश २ र कणर्ाली प्रदेश, पोल ‘सी’मा त्रिभूवन आर्मी क्लब प्रदेश ३ तथा पोल ‘डी’मा नेपाल पुलिस क्लव र गण्डकी प्रदेश रहेका छन् ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले १ लाख ७० हजार, तृतीयले १ लाख र सान्त्वना टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए ।

प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित ट्रफी र प्रमाण पत्र तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिबेरो र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने अनुमान गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टिमहरुलाई दैनिक भ्रमण खर्च, यातायात खर्च र ट्रयाक सुटसहित अन्य सम्पूर्ण खर्च आयोजकले नै प्रदान गर्ने उनले बताए ।

लिग कम नकाउटको आधारमा हुने प्रतियोगिताका लागि एक सय र दुई सय गरी दुई प्रकारको टिकट दर कायम गरिएको छ ।

लिग र क्वाटरफाइनलसम्म एक सय र सेमिफाइनल तथा फाइनल खेलका लागि २ सय टिकट दर कायम गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment