Comments Add Comment

देवघाटमा माघे संक्रान्ति मेला सुरु

३० पुस, चितवन । चितवन, नवलपुर र तनहुँको संगम देवघाटमा माघे संंक्रान्ति मेला सुरु भएको छ । बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेपछि माघे संक्रान्ति मेला सुरु भएको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ९ बजे बेनीमा बाँसको लिङ्गो ठड्याएर विधिवत रुपमा मेलाको उद्घाटन गरिएको जानकारी दिए ।

मेलाको उद्घाटनमा गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी, महेश सन्यास आश्रमका पिठाधीश रमाणानान्द गिरी, हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती, वेदस्त साधना कुटिरस्कीका कृष्णानन्द सरस्वतीलगायतका विशिष्ठ व्यक्ति उपस्थित रहेको पौडेलले जानकारी दिए ।

सोमबार विहानैबाट देवघाटमा देश विदेशका विभिन्न ठाँउबाट भक्तजनहरु आउने क्रम सुरु भएको छ । सोमबार राति धाममा करिब दुई लाख ५० हजार भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने अनुमान छ ।

साँझमा मेला भर्न आउने संख्या अधिक हुन्छ । देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ । ती सवारी र्फकँदा आँपटारी हुँदै र्फकनेछन् । सवारीको पार्किङ्, विद्युत, शौचालय, सरसफाइ, खानेपानीलगायतको व्यवस्था भइसकेको छ ।

स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन गर्दै आएको छ ।

आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहनेछन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ गरिने छ ।

चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिने कार्यकारी निर्देशक घिमिरले बताए । नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी सिमाङ्कन गरिएको छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment