+
+

माघे संक्रान्तिमा गोरखामा जुधाइयो १७ हल गोरू

विकास मरहट्टा विकास मरहट्टा
२०८१ माघ १ गते २०:२६

१ माघ, गोरखा। गोरुलाई दुई ग्रेडमा बिभाजन गरियो, ‘ए’ र ‘बी’ । ठुला गोरु ‘ए’ ग्रेडमा परे । मझौला ‘बि’ मा । अनि सुरु भयो गोरु जुधाइ । घम्साघम्सी हेर्न स्थानीयको भीड उस्तै थियो। सिठी बजाउँदै त कहिले कराउँदै उनीहरु मनोरन्जन लिइरहेका थिए ।

माघे सङ्क्रान्तिको अवसर पारेर शहिद लखन गाउँपालिका–६ घैरुङमा मंगलवार ९ हल गोरु जुधाइएको थियो । ‘ए’ ग्रेड तर्फ पाँच र ‘बि’ ग्रेड तर्फ चार हल गोरु जुधाइएको आयोजक हिमालय देवी युवा क्लबले जनाएको छ ।

‘ए’ ग्रेड तर्फको बिजेता गोरुलाई १५ हजार र उपबिजेतालाई १० हजार नगद पुरस्कार दिइएको क्लबका अध्यक्ष निर्मल गुरुङले बताए । ‘बि’ ग्रेडतर्फ भने बिजेतालाई ८ हजार र उपबिजेतालाई ४ हजार नगद पुरस्कार वितरण गरिएको उनले जानकारी दिए ।

गोरखा र धादिङ जिल्लाबाट गोरु सहभागी गराइएको थियो । हराउँदै गएको परम्परालाई जर्गेना गर्ने उदेश्यसहित क्लबले विगत ९ बर्षदेखि गोरु जुधाइ कार्यक्रम गर्दै आएको छ ।

यता भीमसेन थापा गाउँपालिका–५ वगुवामा पनि गोरु जुधाइ प्रतियोगिता भएको छ । वगुवा माछापोखरी नेवार समाज कल्याण गुठी, नवजागरण बिकास समाज, खाद्य सेवा समाज काठमाडौं र समुन्नत युवा क्लब वगुवाको संयुक्त आयोजनामा मंगलवार भएको कार्यक्रममा ८ हल गोरु जुधाइएको थियो।

३० मिनेटभन्दा बढी जुध्ने हल गोरुको हकमा बिजेताले १२ हजार र उपविजेतालाई ८ हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो । त्यो भन्दा कम समय जुध्नेको हकमा भने बिजेतालाई ८ हजार र उपबिजेतालाई ५ हजार नगद पुरस्कार दिइएको माघी मेला पर्व आयोजक समिति अध्यक्ष रामकुमार श्रेष्ठले बताए।

‘प्रतियोगितामा सहभागीताका लागि दर्ता शुल्क वापत एक हजार रुपैया लिएका थियौ,’ उनले भने, ‘हामीले सहभागी सबै गोरुका धनीलाई चार हजारका दरले रकम उपलब्ध गरायौ ।’ परम्परागत रुपमा चल्दै आएको प्रतियोगितालाई विगत ९ बर्षदेखि आफूहरुले निरन्तरता दिदै आएको उनले जानकारी गराए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?