Comments Add Comment

राष्ट्रपतिले आफैं भन्दिए हुन्छ, धेरै कमेन्ट भयो- कृष्ण सिटौला

३० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तल्लो तहका जनताका बारेमा सोच्नुपर्ने  कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् । जनतालाई सम्झेर राष्ट्रपतिले विलासिताको सुविधा लिन्न भनेर आफैं घोषणा गर्नुपर्ने सिटौलाको सुझाव छ ।

अहिले राष्ट्रपतिको सुविधालाई लिएर जनमानसमा व्यापक गुनासो आइरहेको छ । राष्ट्रपतिमाथिको आलोचनालाई गणतन्त्रमाथिकै प्रहार भन्दै प्रधानमन्त्री केपी ओलीले संसदमा सम्वोधन गरिसकेका छन् ।

यही प्रशंगमा हामीले गणतन्त्रवादी नेता सिटौलालाई सोध्यौं-राष्ट्रपतिको सुविधालाई लिएर जनमानसमा व्यापक प्रश्न उठिरहेको छ, यसमा तपाईको प्रतिक्रिया के छ ?

कांग्रेस नेता सिटौलाको जवाफ उनकै शब्दमाः

राजाले सामन्तहरुलाई सोच्ने हो । अहिलेका राष्ट्रपतिले श्रमिक, किसानहरुलाई सोच्ने हो । फरक यही हो । राजा सामन्तका प्रतीक हुन् । अहिलेका राष्ट्रपति, उपराष्ट्रपति जनताका प्रतीक हुन् । सामन्तका प्रतीक होइनन् ।

अहिले हाम्रो देशको कर्मचारीको न्यूनतम तलब हेर्नुहोस् त । कार्यालय सहयोगीहरुको तलब कति छ ? स्कुलका, प्राथमिक विद्यालयका शिक्षकहरुको तलब कति छ ? श्रमिक किसानहरुको के हालत छ ?

म अझै भन्छु- हाम्रा राष्ट्रपति र उपराष्ट्रपतिहरुको निजी जीवन पनि कम्युनिस्ट स्कुलिङबाट त्यहाँ पुग्नुभएको हो नि । वहाँहरुले त खासगरी यो देशका श्रमिकहरुलाई, साना-साना किसानहरुलाई, पहाडमा हिँड्दै गरेका भरियाहरुलाई अरबतिर गएर तातो घाममा काम गरिरहेका मानिसहरुलाई, दिनहुँ नेपालमा फिरिरहेका लासहरुलाई सम्झेर आफ्नो सुविधाको खोजी गर्नुपर्छ ।

यसो गर्नुभयो भने वहाँहरुको महानता ठहरिन्छ । सरकारले दिने विलासिताको सुविधा लिन्न भन्नुभयो भने वहाँको महानता ठहरिन्छ ।

म वहाँहरुलाई कुनै अपमान गर्न चाहन्न । व्यक्तिगतरुपले पनि उहाँहरु आदरणीय हुनुहुन्छ । दुबैजना संघर्षको मैदानबाट उठेका नेता हो ।

विद्यादेवी भण्डारी र नन्दबहादुर पुन दुबैजना मेरो फिलोसोफीसँग उहाँहरु मेल खानुहुन्न । म कांग्रेसको फिलोसोफीमा, लोकतन्त्रमा छु, उहाँहरु कम्युनिस्ट फिलोसोफीमा हुनुहुन्थ्यो । तर, आज राष्ट्रपति, उपराष्ट्रपति भइसेपछि उहाँहरुले अभिभावकको नाताले खास गरी तल्लो स्तरमा भएका जनतालाई सम्झन सक्नुपर्छ । यही हो मेरो वहाँहरुलाई सुझाव ।

राष्ट्रपति र उपराष्ट्रपति हाम्रा सेरेमोनियल संस्थाहरु हुन् । यी संस्थाप्रति हामी सबैले सम्मान जनाउनुपर्छ । राष्ट्र प्रमुख, उपप्रमुख संस्थालाई हामीले सम्मानपूर्ण नजरले नै हेर्नुपर्छ । जो होस् त्यहाँ । त्यहाँ कुनै पार्टी वा व्यक्ति हुन्न अब । राष्ट्रपति उपराष्ट्रपति भैसकेपछि विद्या भण्डारी, नन्दबहादुर पुन अब कुनै पार्टीविशेषका नेता होइन । मर्यादाक्रममै उहाँहरु नेपालको पहिलो र दोस्रो व्यक्ति हो । वहाँहरुलाई सम्मानपूर्ण नजरले हामीले हेर्नुपर्छ । वहाँहरुको संस्थालाई र वहाँहरुको सुविधालाई पनि हामीले ध्यान दिनुपर्छ ।

तर, किन यत्रो महंगीको बाटोमा, विलासिताको बाटोमा वहाँहरु आफैं हिँड्नुभएको हो ? वहाँहरुको व्यक्तिगत जीवन पनि त संघर्षबाटै आएको जीवन हो नि । विद्या भण्डारीको पनि कम संघर्षको जीवन छैन । वहाँ मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ । वालाकालदेखि नै राजनीतिमा होमिनुभएको छ । म वहाँलाई राम्रो जान्दछु । वहाँ आदरणीय महिला पनि त हुनुहुन्छ ।

उपराष्ट्रपति पुन पनि त संघर्षको मैदानबाटै आउनुभएको हो नि । मारिन पनि त सक्नुहुन्थ्यो नि । त्यो ठाउँमा पुगेका नेताले हामीलाई सुविधा चाहिँदैन है भन्दिए पनि त हुन्थ्यो नि । यति महंगा हेलिकोप्टर, महंगा गाडी किन ? चाहिएन भनेर उहाँहरुले आफैं सरकारलाई भन्दिए हुन्थ्यो जस्तो लाग्छ मलाई ।

पहिलेकै सरकारले नै उहाँहरुलाई त्यस्तो सुविधा दिने निर्णय गरेको रहेछ भने पनि ‘करेक्सन’ गरे भैहाल्छ नि त । अहिलेको सरकारले त्यसलाई परिवर्तन गर्दिए हुन्छ नि त । हिजोकाले गल्ती गरे, म पनि गल्ती गर्न पाउँ है भन्न त हुँदैन नि । हिजोकाले बढी सुविधा दिए, मैले फेरि बढी सुविधा पाइराखौं त भन्न भएन नि ।

हिजोकाले गल्ती गरे, किन मैले गल्ती नगर्ने भन्न पाइँदैन । हिजोकाले गल्ती गरे, म गल्ती दोहोर्‍याउँदिन चाहिँ भन्न पाइन्छ ।

देशको, जनताको आर्थिक स्थितिलाई मध्यनजर गरेर राज्यमा रहने र पुग्नेहरुको सुविधालाई तर्जुमा गर्नुपर्छ । त्यसैले राष्ट्रपतिजीले आफैं भन्दिए हुन्छ । धेरै कमेन्ट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment