Comments Add Comment

नेपालमा टेलिभिजनको वास्तविक युग सुरु

विगत १२ बर्षदेखि नेपाली पत्रकारिता उद्योगमा रहेको हाम्रो समूहले अनलाइनखबर डटकममार्फत् डिजिटल मिडियाका क्षेत्रमा नेतृत्वदायी भूमिका खेलिरहेको यहाँहरूमा विदितै छ । यो सिलसिलामा आर्जित सीप र पूँजीको प्रयोग गरी ६ महिना अगाडि हामीले हिमालय टेलिभिजनको स्वामित्व लिएका थियौं । यस अर्थमा हिमालय टेलिभिजनको नयाँ यात्राको आधारशीला सन् २००६ मा थालिएको अनलाइनखबर डटकम नै हो ।

टेलिभिजनको युग

हामी आज नम्बर एक डिजिटल मिडियाको नेतृत्व गरिरहेको सुविधाजनक अवस्थामा छौं । डिजिटल युगको आगमनका बेला हामी किन टेलिभिजन माध्यममा आउने निर्णय गर्‍यौं त ? धेरैले मलाई यो प्रश्न सोध्ने गर्नुभएको छ ।

नेपाली सन्दर्भमा यो प्रश्नको यथार्थपरक जवाफ पाउने पर्याप्त आधार उपलब्ध रहेको हामीलाई लागेको छ । केही आधारभूत सूचकहरू हेर्दा त नेपालमा टेलिभिजनको वास्तविक युग बल्ल आरम्भ भएको जस्तो हामीलाई लागेको छ ।

डिजिटलाइजेशनको प्रकृया शुरु भएसँगै आम दर्शकले गुणस्तरीय दृश्य हेर्न पाउने सुनिश्चिता बढ्दै गएको छ । आज पनि मुलुकका झण्डै ४५ प्रतिशत मानिस सूचनाको पहिलो स्रोतका रूपमा टेलिभिजनमा निर्भर रहेको तथ्यांक स्वतन्त्र अनुसन्धानकर्ताहरूले सार्वजनिक गरिरहेका छन् ।

कन्टेन्ट वितरणका माध्यम र प्रविधि बदलिइरहन सक्छन् तर मौलिक सामग्रीप्रतिको दर्शकको रुचि र माग कायमै रहन्छ । त्यसैले हाम्रो सम्पूर्ण जोड मौलिक र गुणस्तरीय सामग्रीमा केन्द्रित रहनेछ

टेलिभिजन हेर्न आवश्यक पर्ने बिजुली बल्ल २४ सै घण्टा उपलब्ध हुन थालेको छ । गाउँ-गाउँमा सौर्य ऊर्जा र ग्रामीण विद्युतीकरणका कारण बिजुली सुलभ बन्दै गएको छ । टेलिभिजन सेटको मूल्य सुपथ हुँदै गइरहेको छ भने स्क्रीनको गुणस्तर पनि बढ्दै छ । वैदेशिक रोजगारीमा गएका दाजुभाइ दिदीबहिनीमार्फत समेत स्तरीय टेलिभिजन सेट गाउँ-गाउँमा पुगेका छन् । अर्थात् टेलिभिजन बल्ल आम दर्शकको पहुँचमा पुगेको छ ।

हातमा रिमोट कन्ट्रोल र साथमा टेलिभिजन स्क्रीन भएका दर्शकले गुणस्तरीय नेपाली सामग्री पाएनन् भने पक्कै पनि विदेशी सामग्रीमा रमाउनुपर्ने बाध्यतामा पुग्छन् । तसर्थ दर्शकको अभिरुचि र आवश्यकता अनुसारका सामग्री दिनु आजको चुनौती हो । गुणस्तरीय सामग्री पस्कन सक्यौं भने टेलिभिजन सबैभन्दा सशक्त सञ्चारमाध्यम बन्न सक्छ र बनाउन सकिन्छ ।

शासन व्यवस्थासँगै फेरिएका नागरिकका आकांक्षालाई सम्बोधन गर्नु, परिवर्तित शासकीय संरचनालाई स्थापित गर्नु तथा नागरिक र राज्यबीचको सम्वादमा सेतुको काम गर्नु हाम्रो प्राथमिकताको विषय हुनेछ । यस अर्थमा हामी शान्ति र समृद्धिको अभियानका भरोसायोग्य र विश्वसनीय हिस्सेदार हौं ।

टेलिभिजन हेराइको अनुभवलाई नवीनता दिने चुनौती र अवसर हामीलाई प्राप्त भएको छ । चुनौतीलाई अवसरमा बदल्न हिमालय टेलिभिजनले इन्फोटेन्मेन्ट च्यानलका रूपमा आफूलाई अगाडि सारेको छ । हामीले समाचार तथा समाचारमूलक कार्यक्रमका साथसाथै मनोरञ्जनात्मक कार्यक्रम, विश्वस्तरीय रियालिटी शो र खेलकूद लाइभ गरी चारवटा विधालाई प्राथमिकता दिएका छौं ।

हिमालय टेलिभिजन : एक वर्षभित्र नम्बर एक

नागरिकका दैनिक जीवनसँग जोडिएका विषयवस्तुलाई हामीले समाचार तथा समाचारमूलक कार्यक्रममार्फत आवाजविहीनहरूको आवाजका रूपमा पेश गर्नेछौं । चर्को गाली गर्ने पत्रकारिता हैन, विश्वसनीय रिपोर्टिङलाई मूलमन्त्रका रूपमा अवलम्बन गरेका छौं । म विश्वास दिलाउन चाहन्छु, सम्पादकीय स्वतन्त्रताको अभ्याससहित तयार पारिएका हिमालय टेलिभिजनका समाचार तथा समाचारमूलक सामग्रीले दर्शकमा सकारात्मक ऊर्जा भर्ने छ, सिर्जनशीलताका लागि उत्प्रेरणा प्रदान गर्ने छ ।

आम दर्शकको रुचिलाई ख्याल गर्दै साँझ ८ बजेको प्राइम टाइममा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण हुनेछन् जहाँ तपाईंहरूले विश्वका नम्बर एक रियालिटी शोहरूको फर्म्याटका आधारमा नेपालमा उत्पादित स्तरीय कार्यक्रमहरू हेर्न पाउनु हुने छ ।

क्रिकेट र फूटबलजस्ता लोकप्रिय खेलहरूको प्रत्यक्ष प्रसारणलाई पनि हामीले उत्तिकै प्राथमिकतामा राखेका छौं । पोखरा प्रिमियर लीग क्रिकेटको प्रत्यक्ष प्रसारणसँगै हामीले हाई डेफिनिशन प्रसारणको सफल परीक्षण गरेका थियौं । अब थप लीगहरूलाई यस क्रममा समाहित गर्न हामी उत्सुक छौं ।

म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु कि, हिमालय टीभी एचडी प्राविधिकरूपमा हाई डेफिनेसन अडियो-भिडियो मात्र हैन, नेपाली मन, नेपाली पन र नेपाली आवाजले भरिपूर्ण हाई डेफिनिशन प्रिमियम कन्टेन्ट र नागरिक आवाजको एउटा बुलन्द प्याकेज हुनेछ ।

टेलिभिजन स्क्रीनमार्फत् होस् वा मोबाइल स्क्रीन, आज भिडियो कन्टेन्टमा आम नेपाली दर्शकको पहुँच निकै बलियो छ । कन्टेन्ट वितरणका माध्यम र प्रविधि बदलिइरहन सक्छन् तर मौलिक सामग्रीप्रतिको दर्शकको रुचि र माग कायमै रहन्छ । त्यसैले हाम्रो सम्पूर्ण जोड मौलिक र गुणस्तरीय सामग्रीमा केन्द्रित रहनेछ ।

डिजिटल मिडियामा आर्जित सीपलाई उपयोग गर्दै हामीले केही दर्शकमैत्री निर्णय लिएका छौं । अब हिमालय टेलिभिजनका खबर बुलेटिनहरूमा विज्ञापन ब्रेक अधिकतम तीन मिनेटसम्मको मात्र हुने छ र त्यसको काउन्टडाउन स्क्रीनमा देखाइने छ । अर्थात्, हामीले पट्यारलाग्दो विज्ञापन ब्रेकलाई झण्डै तीन गुणाले कटौती गर्दै दर्शकमैत्री निर्णय लिएका छौं ।

आदरणीय दर्शकवृन्द, हामी निश्चय पनि महत्वाकांक्षी छौं, त्यो महत्वाकांक्षा भनेको भरोसायोग्य सञ्चारमाध्यमका रूपमा दर्शकको मनमनमा स्थापित हुनु हो । एक वर्षभित्र हामी सबैखाले सूचकहरूमा नम्बर एक बन्ने लक्ष्यसहित काम गरिरहेका छौं । यसमा दर्शक, विज्ञापनदाता तथा इन्ड्रष्टी स्टेक होल्डरहरूसँग दीर्घकालीन सहकार्यको अपेक्षा गरेका छौं । डिजिटल युगमा टीभी कन्टेन्टको नयाँ युग निर्माण गर्ने हाम्रो प्रयत्न रहने छ ।

(अनलाइनखबर डटकम एवं हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालद्वारा हिमालय टीभी एचडीको शुभारम्भ समारोहमा व्यक्त मन्तव्यको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment