Comments Add Comment

तीनवटा अन्तर्राष्ट्रिय ‘रियालिटी’ शो अब हिमालय टेलिभिजनबाट

२ माघ, काठमाडौं । विश्व बजारमा नम्बर एक स्थान कायम गर्न सफल विभिन्न विधाका तीनवटा नयाँ रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुने भएका छन् ।

विश्वको नम्बर एक गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाल संस्करण ‘भ्वाइस अफ नेपाल सिजन २’ अबहिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । द नेदरल्याण्ड्स्स्थित टाल्पा मिडिया होल्डिङको स्वामित्व रहेको ‘द भ्वाइस’लाई एएनसी प्रोडक्शनले उत्पादन गर्नेछ । योसँगै ‘भ्वाइस अफ नेपाल’को डिजिटल अडिसन घोषणा भएको छ ।

त्यसैगरी विश्व नम्बर एक डान्स रियालिटी शो ‘डान्सिङ विथ स्टार’को नेपाल संस्करण पनि यसै वर्षबाट प्रसारण शुरु हुने भएको छ । बीबीसी स्टुडियोसँगको सहकार्यमा निर्माण हुने रियालिटी शोमा विभिन्न क्षेत्रका चर्चित सेलिब्रिटीहरूले व्यावसायिक नृत्य कोरियोग्राफरसँग जोडी बाँधेर नाच्नेछन् ।

डान्सिङ विथ स्टारको भारतीय संस्करण ‘झलक दिखलाजा’ की विजेता नेपाली चेली तेरिया मगर डान्सिङ विथ स्टार नेपालको ब्राण्ड एम्बासडर रहनेछिन् ।

विश्वको नम्बर एक फेशन रियालिटी शो ‘नेक्स्ट टप मोडल’को नेपाल फ्रेञ्चाइजका रूपमा ‘नेपाल्स नेक्स्ट टप मोडल’ पनिहिमालय टेलिभिजनमा प्रसारण हुनेछ । यसको पहिलो सिजन केही महिनाभित्रै प्रसारण हुने टेलिभिजन व्यवस्थापनले जनाएको छ ।

‘हरेक वर्ष चार वटा रियालिटी सो हिमालय टेलिभिजनबाट प्रसारण गर्ने तालिका तय भइसकेको छ’ टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले भने, ‘विश्वबजारमा करोडौं दर्शकले रुचाएका सामग्री अविच्छिन्नरुपमा नेपालीदर्शकले हेर्न पाउनेगरी तालिका मिलाएका छौं ।

हिमालय टेलिभिजनले यसअघि नै एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’का दुई सिजनसम्पन्न गरिसकेको छ । मंगलबार होटल सोल्टीमा आयोजित हिमायलय टेलिभिजनको एचडी शुभारम्भ कार्यक्रममा ‘हिमालय रोडिज’ सिजन २ का बिजेतालाई नगद १० लाख रुपैयाँ र यामाहा मोटरसाइकल पुरस्कारस्वरुप हस्तान्तरण गरिएको छ ।

विगत सातवर्षदेखि समाचारमूलक तथा मनोरञ्जनात्मक सामग्री प्रसारण गरिरहेको हिमालय टेलिभिजनले प्रिमियम कन्टेन्ट र उच्च प्रविधिसहित आफ्नो एचडी प्रसारण सेवा शुरु गरेको छ । नेपालको नम्बर एक डिजिटल मिडिया अनलाइनखबर डटकमको नेतृत्वले टेलिभिजनको स्वामित्व खरीद गरेसँगै हिमालय टेलिभिजनले एचडी प्रविधिमा प्रसारण शुरु गरेको हो ।

हिमालयन टेलिभिजनले मंगलबार साँझ सोल्टी होटलमा हिमालय टीभी एचडी शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अतिथिहरुले सामुहिक रुपमा रिमोट थिचेर एचडीको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, श्रममन्त्री गोकर्ण विष्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको उपस्थिति थियो । कार्यक्रममा उद्योगी व्यवसायी, सञ्चारकर्मी एवं प्रवुद्ध व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।

यो पनि पढ्नुहोस नेपालमा टेलिभिजनको वास्तविक युग सुरु

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment