Comments Add Comment

मुलपानीमा क्रिकेट रंगशाला निर्माण कहाँ पुग्यो ?

५ मन्त्री फेरिए, फेरिएन मुलपानी रंगशालाको नियती

५ माघ, काठमाडौं । पूर्वघोषित लक्ष्यअनुसार मुलपानी क्रिकेट रंगशालाको निर्माण अर्को वर्ष पूरा हुनुपर्ने हो । तर, निर्माण स्थलमा गएर हेर्दा ठूलो हिस्सा काम बाँकी नै देखिन्छ ।

मुलपानीमा करिब २० हजार दर्शक क्षमताको अत्याधुनिक क्रिकेट रंगशाला निर्माण थालिएको चार वर्ष भयो । पाँच वर्षमा निर्माण सक्ने लक्ष्य थियो । तर, काम कछुवा गतिमा रहेकाले घोषित मितिमा पूरा नहुने पक्कापक्की छ ।

पहिलो चरणको ठेक्का हुँदा १७ करोड लागेको थियो । अहिलेसम्म मैदान सम्याउने र तीन वटा प्याराफिट ब्लग निर्माण गर्ने काम भएको छ भने पिच बनाउने र बाउन्ड्री लाइनमा पर्खाल लगाउने काम जारी छ ।

राष्ट्रिय खेलकुद परिषदको काम तेस्रो चरणको टेन्डर आहृवान गरेर काम अघि बढाउनु हो ।सदस्यसचिव केशवकुमार विष्ट भन्छन्, ‘रंगशालाका लागि पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छौं ।’

रंगशाला निर्माणकै क्रममा राखेपलाई अर्को चुनौति आइपरेको छ । त्यो हो, भक्तपुर जाने बाटो सार्नु ।

अहिले रंगशालाको पूर्वपट्टी रहेको भक्तपुर जाने बाटो सारेर पश्चिमपट्ट िल्याउनु राखेपलाई चुनौती छ । त्यसपछि मात्रै रंगशालाको कामले तिव्रता पाउन सक्छ ।

पिच निर्माण धमाधम

तेस्रो चरणको टेन्डर आहृवान नभए पनि राखेपले अहिले पिच निर्माणको काम अगाडि बढाएको छ । स्थानीयबासी आरके विष्टको संयोजकमा सातवटा पिच निर्माण भइरहेका छन् । रातो माटो र कालो माटोको समिश्रण गरेर पिच बनाउने तथा दुबो रोप्ने, पानी हाल्ने जस्ता काम भइहरहेको विष्टले जानकारी दिए ।

संयोजक विष्ट भन्छन्, ‘पिच निर्माणका लागि टेन्डर प्रक्रियामा जाँदा झन्झट हुने भएकाले राखेपले काठमाडौं जिल्ला विकास समितिमार्फत अहिले यो काम गरिरहेको छ । पिच निर्माणमा हामी करिब करिब अन्तिम चरणमा पुगेका छौ ।’ पिच बनाउनका लागि क्युरेटरसहित ५-६ जनाले काम गरिरहेको उनले जानकारी दिए ।

मैदान निर्माणको लागि २०७१ सालमा प्रेरा मुन्ना एण्ड आचार्य जेवी कम्पनीले टेन्डर पाएको थियो । २०७३ साल असार मसान्तसम्ममा पहिलो चरणको काम सक्नुपर्ने शर्त थियो ।

पहिलो चरणको काम अन्तर्गत मैदान सम्याउने र ३ वटा प्याराफिटको ब्लक बनाउनुपर्ने थियो । तर विभिन्न कारण देखाउँदै कम्पनीले तीन पटक म्याद थप्यो । पहिलो र दोस्रो चरणमा ६-६ महिना म्याद थप गरिएको थियो । दुई पटकको म्याद थपमा काम नसकेपछि २०७४ असोज मसान्तसम्म सक्ने गरी तीन महिनाको समय थप गरियो । ठेकेदारले कम्पनीले भूकम्प, नाकाबन्दी र जग्गाको मुआब्जाका कारण समय थप्नुपरेको दाबी गरेका थिए ।

त्यसबेला सदस्यसचिव केशवकुमार विष्टले ठेकेदार कम्पनीको लापारवाहीका कारण समयमै पहिलो चरणको निर्माण नसकिएको आरोप लगाएका थिए । तर बहुप्रतिक्षित रंगशाला निर्माणमा ढिलाई हुनुमा राखेपा स्वयम् जिम्मेवार देखिन्छ । मुआब्जा विवाद र ठेकेदारको लापरबाहीमा राखेपले तत्काल एक्सन लिएर अघि बढ्न सकेन ।

जग्गा विवादले ढिलाई

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुख्य विवाद थियो, जग्गाको मुआब्जा । मैदानको बिच भागमै करिब ५२ आना व्यक्तिगत जग्गा थियो । यही जग्गा लामो समय राखेपलाई टाउको दुखाई बन्यो ।

निर्माण सुरु हुनु अगाडि नै उब्जिएको विवाद २०७५ सालमा आएर मात्रै साम्य भएको छ । यही विवादको कारण पहिलो चरणको काममा बाधा मात्रै पुगेन, करिब एक वर्ष निर्माण अवरुद्ध भयो ।

राखेपका तत्कालिन सदस्यसचिव युवराज लामाकै पालामा यो रंगशालाको काम अघि बढेको थियो । त्यसबेला जग्गाको मुआब्जामा विवाद देखिए पनि त्यसलाई बेवास्ता गर्‍यो राखेपले । तर, समस्या त्यतिबेला गहिरियो जब जग्गाधनीले पनि आफ्नो जग्गामा दुईवटा घर ठड्याए ।

राखेपले २०७१ साल माघमा पहिलो चरणको टेन्डर आहृवान गरेर निर्माण सुरु गरेको हो । रंगशालाको प्याराफिट र मैदान बन्दै थियो, विवाद पनि दिनप्रतिदिन चुलिदै थियो । मैदानकै भागमा पर्ने करिब ५२ आनाको जग्गाको मुआब्बा नसकिन्जेल निर्माण अघि नबढ्ने भनिएपछि विवाद समाधानतर्फ राखेप लाग्यो । राखेपले जग्गाको पैसा दिने भए पनि जग्गाधनीले जग्गाको बदला जग्गा नै चाहिने अडान राखे ।

अन्ततः पछि राखेपले मुलपानी क्रिकेट मैदानकै कुनै भागमा जग्गाको बदला जग्गा दिने निर्णय गर्दै युवा तथा खेलकुद मन्त्रालयमा फाइल पठायो । त्यो फाइल तत्कालिन युवा तथा खेलकुदमन्त्री राजन केसीको पालामा मन्त्रालय पुगेको थियो । तर, लामो समयसम्म फाइल थन्किएर बस्यो । पछि मन्त्री जगतबहादुर विश्वकर्माले त्यो फाइललाई मन्त्रीपरिषद्बाट पारित गर्दै विवाद समाधान गरे ।

अहिले विवाद सुल्झिएको छ । तर अझै जग्गाधनीलाई स्थान्तरण गरिएको छैन । अब राखेपले जग्गाधनीलाई त्यति नै जग्गा मैदान परिसरकै कुनै भागमा दिएर सार्नुपर्ने छ ।
जग्गाधनी फुलमाया लामा भन्छिन्, ‘हामीले जग्गा सट्टाभर्नाको लालपुर्जा पायौं ।’

सुकुम्बासीबाट हैरान राखेप

रंगशालाको केही जग्गा त्यहाँका सुकुम्बासी तथा स्थानीयले कब्जा गरेको भनेर अहिले राखेपले दोस्रो चरणको ठेक्का आहृवान गरी वरीपरी बाउन्ड्री लाइनमा स्थायी पर्खाल र मुख्य गेट बनाउने कार्य थालेको छ ।

करिब दुई किलोमिटरभन्दा बढि पर्खाल लगाउने र मुख्य गेट बनाउने जिम्मा ड्रागोन कालिका जेभीले लिएको छ । चार करोड ८० लाखभन्दा बढि रकममा राखेपले ठेक्का सुम्पिएको हो । २०७५ असार मसान्तसम्म सक्नुपर्ने गरी पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीको काम पनि सुस्त गतिमै छ ।

अहिले तत्काल ६-७ वटा सुकुम्बासी घरलाई हटाउनुपर्ने अवस्था छ । यसअघि पनि राखेपले १० घर सुकुम्बासीलाई २ लाखका दरले नगद दिएर उठाएको थियो । अझै राखेपलाई यही समस्याले सताइरहेको छ ।

स्थानीयबासी आरके विष्ट भन्छन्, ‘उनीहरु वास्तविक सुकुम्बासी होइनन् । अन्त जग्गा जमिन छ उनीहरुको । अब यहाँ नेतालाई भनेर बस्न पाइहालिन्छ कि भन्ने मनशाय मात्रै हो । केही नेताले एक-दुई भोटको लागि उनीहरुलाई संरक्षण गरेका छन् ।’

निरीक्षण मात्रै धेरै

युवा तथा खेलकुद मन्त्रालय वा त्यसअन्तरगतको कुनै निकायमा उच्च जिम्मेवारी सम्हाल्नासाथ जोकोही मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निरिक्षण गर्न पुग्छन् । मुलपानी क्रिकेट मैदानको टेन्डर आहृवान गरेदेखि अहिलेसम्म ५ जना युवा तथा खेलकुद मन्त्रीले मैदानको अवलोकन गरिसकेका छन् ।

मुलपानी क्रिकेट मैदानको टेन्डर आहृवान हुँदा पुरुषोत्तम पौडेल युवा तथा खेलकुदमन्त्री थिए । मुलपानी क्रिकेट रंगशालामा अहिलेसम्म पाँच खेलकुदमन्त्रीले पाउकष्ट गरि।केका छन् । खेलकुदका पदाधिकारीको त कुरै नगरौं । तर, जति धेरै अनुगमन भए पनि कामले तिव्रता कहिल्यै पाएन । सबै खेलकुदमन्त्रीले मुलपानी क्रिकेट मैदान निर्माण तिव्र गतिमा हुने आश्वसन दिन्छन्, तर व्यवहारमा त्यो देखिँदैन ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अब पहिलेको जस्तो ढिलासुस्ती कदापी नहुने बताउँदै आएका छन् । ‘तीव्र गतिमा अगाडि बढ्ने संकल्प अहिलेको सरकारले लिएको छ । त्यसकारण मिनेट-मिनेटको हिसाबले काम गरिरहेका छौं,’ मन्त्री विश्वकर्मा भन्छन् ।

के थियो गुरू योजना ?

राखेपको स्वामित्वमा रहेको मुलपानी क्रिकेट मैदानको गुरुयोजना अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिले तयार पारेका थिए ।

गुरु योजनाअनुसार मुलपानीमा रहेको करिब २ सय ९६ रोपनी जग्गामा विशाल संरचना निर्माण हुनेछन् । गुरुयोजना तयार पार्दा करिब २० हजार क्षमताको रंगशाला बनाउने भनिएको थियो ।

रंगशाला परिसरमै खेलकुदको प्रशासनिक कार्यालय, इन्डोर हल, होस्टेल, स्वीमिङ पुल, जिम हल लगायतका विभिन्न भौतिक संचरना निर्माण हुनेछ ।

करिब ५ बर्षको समय अवधिमा सम्पन्न गर्नेगरी अन्तर्राष्ट्रियस्तरको रंगशालाको मास्टर प्लान बनाइएको थियो । योजनाअनुसारको सम्पूर्ण भौतिक संरचना निर्माण गर्नका लागि करिब ७९/८० करोड लाग्ने राखेपको अनुमान छ । तर अहिले मास्टर प्लानअनुसार एक छेउमात्रै काम भएको छ । राखेपले सुरुवाती समयमा गरेको अनुमानभन्दा ठूलो रकम खर्चिनु पर्ने अवस्था छ ।

राखेपले जति ढिलो गर्छ त्यति यसको भार बढ्दै जानेछ भने खेलाडीमा देखिएको उत्साह पनि सेलाउँदै गइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment