Comments Add Comment

गोरखा क्याम्पसको छात्रावासमा शिक्षक र कर्मचारी !

६ माघ, गोरखा । गोरखा क्याम्पस गोरखामा अध्यनरत छात्रालाई आवासीय सुविधाका लागि बनाइएको छात्रावासमा क्याम्पसका शिक्षक र कर्मचारीहरु बस्न थालेका छन् ।

बारमबार आवेदन माग गरेपनि निवेदन दिने छात्रा कोही नभएको क्याम्पस प्रशासनले जनाएको छ ।

०६५ सालमा अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईले छात्रावास निर्माणका लागि मन्त्रालयबाट एक करोड रकम बिनियोजन गरेका थिए ।

उक्त रकमबाट ०६६/६७ सालमा २८ कोठे भवन निर्माण गरियो । तर, छात्रावासमा बस्न क्याम्पसका कुनै पनि छात्राहरुले रुचि देखाएनन् ।

‘२०६८ सालमा पहिलो पटक छात्रावासमा बस्न चाहनेका लागि निवदेन खुलायौ,’ तत्कालीन क्याम्पस प्रमुख रामशरण बानियाले भने, ‘एकजनाको मात्र निवदेन पर्‍यो, तर केही समयपछि उनी पनि विवाह गरेर गइन् ।’ वर्षेनी निवदेन माग गरेपनि छात्रावासमा बस्ने रुचि कसैले नदेखाएको उनले बताए ।

‘ठाउँ अलि कोल्टे छ, असुरक्षित महसुस गरेर छात्राहरु नबसेका हुन् की जस्तो लाग्छ, फेरि यस क्याम्पसमा पढ्ने अधिकांश छोरीबुहारी छन्, बुहारीहरु व्यस्तताका कारण प्राय जाँच दिन त आउँदैनन्, छोरीहरु यहाँ भन्दा बजारमै बस्न रुचाउछन्,’ बानियाले थपे ।

छात्राहरुले रुचि नदेखाएपछि छात्रका लागि पुनः आवेदन खुलाइयो । तर, छात्रावासमा बस्नका लागि छात्रहरुले पनि रुचि देखाएनन् ।

करिब तीन वर्ष प्रयोगविहीन रहेको भवनमा २०७० सालबाट शिक्षक र कर्मचारीहरु बस्न थाले ।

हाल १२ वटा कोठामा शिक्षक र कर्मचारी बस्दै आएको क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले बताए । ‘छात्राहरुका लागी बनाएको भवनमा सकेसम्म छात्रा नै बसुन् भनेर बारमबार आग्रह गरिरहेका छौ, कक्षा कक्षामा गएर पनि भनिरहेका छौं, तर कोही पनि बस्न चाहदैनन्,’ उनले भने ।

छात्राहरु बस्न आएमा सुरक्षा गार्डको समेत व्यवस्था गरिने उनको भनाइ छ । ‘छात्राहरु बस्न आउँछन् भने हामी कम्पाउण्ड थप बलियो बनाउँछौं, दुईजना सुरक्षा गार्ड पनि माग गरिसकेका छौ, यातायातको पनि व्यवस्था गर्छाै तर कोही बस्न मान्दैनन्,’ उनले भने, ‘अधिकांश विद्यार्थी जागिरे छन्, फेरि बढी बुहारी पढ्छन् उनीहरु घरमै बस्छन्, बाँकी छात्राहरु यहाँ भन्दा बजारमै आफन्तकोमा बस्न रुचाउँछन् ।’

पानी, बत्तिलगायतका सबै सेवा भएपनि छात्राहरु बस्न नचाहँदा भवन प्रयोगमा आउन नसकेको उनले बताए ।

प्रयोगमा नआएको छात्रावासको भवनमा स्नातकोत्तरको कक्षाहरु संचालन गर्ने क्याम्पसको तयारी छ ।

भूकम्पले केही क्षति पुगेको उक्त भवन मर्मतका लागि गत आर्थिक वर्ष ५६ लाख रकम आएको थियो ।

उक्त रकमबाट भवनको माथिल्लो तलाको गाह्रो मर्मत गरिएको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए ।

२०३५ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा र व्यवस्थापन संकाय अध्यापन हुँदै आएको छ ।

कुल ६ सय ६८ जना विद्यार्थी मध्य अधिकांश विद्यार्थी बारपाक सुलिकोट, चुमनुव्री, धार्चे र आरुघाट गाउँपालिकाका रहेको क्याम्पस प्रमुख श्रेष्ठले बताए ।

क्याम्पसमा अध्यनरत बिद्यार्थी मध्य ४९३ -७३ प्रतिशत) छात्रा छन् भने १७५ -२५ प्रतिशत) छात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment