Comments Add Comment

धन्य नेपाली महिला क्रिकेट !

७ माघ, काठमाडौं । ०७४ साल मंसिरमा थाइल्यान्डमा भएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको एसिया क्षेत्र छनोट खेलेपछि नेपाली महिला क्रिकेट टिम गुमनाम भयो । झण्डै १५ महिने यो अवधिमा नेपाली क्रिकेट टिम बेवारिसे बन्दा धेरै खेलाडी निराश बने, कतिले खेल्नै छाडे ।

लामो समयसम्म बेखबरजस्तै बनेको नेपाली महिला क्रिकेट टिमले बल्लतल्ल उठ्दै थाइल्यान्डमै आफ्नो खेल देखायो । नेपाली टिम ‘थाइल्यान्ड महिला टी–२० क्रिकेट स्मास’ प्रतियोगितामा भाग लियो र दोस्रो भयो ।

आइतबार स्वदेश फर्किएपछि नेपाली टोलीका प्रशिक्षक विनोद दासलाई नेपाल पहिलो नभएको दुःखी हुने कि दोस्रो भएकोमा खुशी भन्ने प्रश्न गर्दा उनी भन्छन्, ‘हामी दोस्रो हुनुपरेकोमा दुःखी हुनुपर्छ । हाम्रो टिमको खेल क्षमतामा कुनै कमी छैन । हामीले जित्न सक्ने खेल नै हो ।’

आयोजक थाइल्याण्डसँग पराजित हुँदै उपविजेता भए पनि लामो समयदेखि खेलविहीन बनेका नेपाली महिला क्रिकेट टिमले यस्तो स्तरको प्रदर्शन गर्नु ठूलो कुरा नै हो ।

प्रशिक्षक दास लामो समयदेखि घरेलु प्रतियोगिता पनि नहुँदा सुरुमा खेलाडी खोज्नै सकस परेको बताउँछन् । ‘लामो समयदेखि खेल नभएको अवस्थामा कहाँदेखि सुरु गर्ने भन्ने कुरामै गाह्रो भयो ।’

नेपाली महिला क्रिकेट टिमको धुमिलो तयारी लिएर थाइल्यान्डमा सफा नतिजा खोजिरहेका थिए । नेपाल फाइनलसम्म राम्रो मात्रै हैन निकै राम्रो नतिजा निकाल्दै उपाधि नजिक पुगेको थियो । समूह चरणमा र सेमिफाइनलमा उत्कृष्ट जित निकालेको टोली फाइनलमा भने नराम्ररी पराजित भयो ।

समूह ‘ए’ को विजेता बनेको नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा युएईलाई पनि ६ विकेटले नै पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा थाइल्यान्ड ‘ए’ लाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।

कप्तान रुबिना क्षेत्री भन्छिन्, ‘यहाँ केही जित्यो भने मात्रै ओहो भनेर सोच्न थालिन्छ, नभए त वास्ता हुँदैन । अब हामीले सोचेका छौँ । जितेर देखाउँछौँ र भन्छौँ ल अब त केही गर ।’

सेमिफाइनलमा पनि इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । यसपटक नेपाल इतिहास रच्नबाट एक कदमले मात्रै चुकेको हो । फाइनलमा नेपालको भेट बलियो प्रतिद्वन्द्वी आयोजक थाइल्यान्डसँग भयो ।

एसोसिएट राष्ट्रमा महिला क्रिकेट टिममध्ये थाइल्यान्ड नम्बर एक टिममै गनिन्छ । त्यसकारण पनि नेपाललाई त्यो उपाधि जित्नु सगरमाथाको चुचुरोमा टेक्नुभन्दा कम थिएन ।

नभन्दै नेपाल ७० रनको फराकिलो अन्तरले पराजित भएसँगै उपविजेता बन्यो ।

प्रशिक्षक दास भन्छन्, ‘हामी जित्न सक्थ्यौँ । तर हामीले त्यही खेलमा राम्रो खेल्न सकेनौँ । नेपालले पहिलो पटक ट्रफी जित्ने अवसर गुमाएको छ । हाम्रो पनि उत्तिकै सम्भावना थियो । हामीले त्यो मौका गुमाउन पुग्यौं ।’

नेपालले थाइल्यान्डलाई पराजित गर्दै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने अवसर गुमाउँदा कप्तान रुविना क्षेत्री जति दुःखी छन् त्यो भन्दा बढी दुःखी नेपाली महिला क्रिकेट बेवारिसे बनेकोमा छिन् ।

उनी भन्छिन्, ‘सबै खेलमा राम्रो हुन्छ भन्ने पनि छैन । हामीले राम्रो खेल्ने प्रयास गर्‍यौं । थाइल्यान्ड भन्ने वित्तिकै सबैजना अलिकति झस्किएको जस्तो भयो । खै किन केही खेलाडी डराएका थिए । एक जना मात्रले कमजोर महसुस गर्दा पनि टिमलाई असर पर्छ ।’

यतिबेला नेपाली महिला क्रिकेट टिमलाई विभिन्न तरिकाले हेर्ने गरिए पनि अभावका बीच फाइनलमा पुग्नु सामान्य उपलब्धी होइन । त्यहीँ थोरै विचार गरेर यिनीहरु पनि केही हुन् भन्ने सोचिदिएको भए उपाधि जित्ने बलियो सम्भावना पनि देखिएको छ । करिब डेढ वर्षदेखि कुनै प्रतियोगिता खेल्न नपाएको नेपाली टिमबाट के अपेक्षा होला ? कस्तो नतिजा ल्याउला ? यो पक्ष निकै दुःखदायी छ ।

घरेलु क्रिकेट ठप्प रहेका बेला पनि पुरुष टिमले विभिन्न फ्रेन्चाइज लिगहरु खेलिरहँदा महिला टिम भने कहाँ खेल्न पाइन्छ भन्ने खोजीमा भौतारिरहेका थिए । ‘हामीले हामीलाई यति लाखमा किन, यति पुरस्कार देउ यस्तो केही भनेका छैनौँ । भनेका छौँ त खेल्न देऊ’ कप्तान रुबिनाले दुःखेसो गरिन् ।

नियमित क्रिकेट नै खेल्न नपाउनु नै महिला टिमको कमजोर पक्ष बन्यो । पर्याप्त समय नहुनु र क्रिकेट हाँक्नेले बेवास्ता गरिदिनु । रुबिना भन्छिन्, ‘यहाँ केही जित्यो भने मात्रै ओहो भनेर सोच्न थालिन्छ, नभए त वास्ता हुँदैन । अब हामीले सोचेका छौँ । जितेर देखाउँछौँ र भन्छौँ ल अब त केही गर ।’

लक्ष्य टी–ट्वान्टी विश्वकपमा छनोट

नेपाली महिला क्रिकेट टिमले ‘थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिता’ लाई आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेट प्रतियोगिताको तयारीको रुपमा पनि लिएको थियो ।

नेपालको मुख्य लक्ष्य आगामी फेब्रुअरी १८ देखि २७ तारिखसम्म थाइल्यान्डमै आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेट प्रतियोगिता हो ।

एसिया क्षेत्रबाट विजेता बनेको राष्ट्रले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट २०१९ र आईसीसी महिला विश्वकप २०२० को छनोट खेल्न पाउने छ । त्यसकारण पनि अब नेपाली महिला क्रिकेट टिम महत्वपूर्ण घडीमा उभिएको छ ।

आफ्नो कमी कमजोरीलाई सुधार गर्ने थलोको रुपमा ‘थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिता’ लाई नेपालले हेरेको थियो ।

यसबारे कप्तान रुविना भन्छिन्, ‘हाम्रो कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने माध्यमको रुपमा यो प्रतियोगितालाई लिएका थियौँ । हामीलाई थाहा भइसकेको छ हाम्रो कमी कमजोरी कहाँ छ भनेर । अब सुधार गर्नु बाँकी छ । हाम्रो मुख्य लक्ष्य भनेको आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट हो ।’

फेब्रुअरीमा आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकपको लागि एसिया छनोटमा आयोजक थाइल्यान्डसँगै नेपाल, चीन, हङकङ, कुवेत, मलेसिया र युएई गरी सात टिमले भाग लिँदै छन् । यो प्रतियोगिता राउण्ड रोविनमा हुनेछ ।

यो प्रतियोगिताबाट लामो अनुभव बटुलेको बताएका प्रशिक्षक दास भन्छन् ‘नेपालको मुख्य प्रतिद्वन्द्वी थाइल्यान्ड नै हो ।’

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको लागि एसिया छनोटको लागि नेपालले केही दिनमै क्लोज क्याम्प गर्दै छ ।

क्लोज क्याम्पमा अहिलेका टिमका खेलाडीसहित थप खेलाडी हुने प्रशिक्षक दास बताउँछन् ‘सबै जनाले राम्रो प्रदर्शन गरेका छन् । सबैलाई अवसर दिनु पर्छ । अन्तिम पटक हामीले ४० जनालाई छनोट गरेर २४ जना क्लोज क्याम्पमा राखेका थियौं । यो पटक पनि कोही प्रतिभावान खेलाडी छन् भने उनले मौका पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment