+

युएईविरुद्ध क्रिकेट सिरिज खेल्ने नेपाली क्रिकेट टिमको विदाइ

२०७५ माघ  ८ गते १४:०४ २०७५ माघ ८ गते १४:०४
युएईविरुद्ध क्रिकेट सिरिज खेल्ने नेपाली क्रिकेट टिमको विदाइ

८ माघ, काठमाडौं । युएईविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने नेपाली क्रिकेट टीमलाई विदाइ गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाली क्रिकेट टीमलाई विदाइ गरिएको हो । विदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले विदाइ गरे । सोमबार नेपाली टीम युएईतर्फ ४ बजेर २० मिनेटमा प्रस्थान गर्दै छ ।

विदाइपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नतिजाअनुसार वरियता कायम हुने हुँदा अबको खेल सबै महत्वपूर्ण रहेको बताए । कप्तान पारसले भने, ‘अर्को एउटा खेल खेलेको वित्तिकै पनि नेपाल एक दिवसीय वरियतामा आउने हुदा हाम्रो लागि यो सिरिज निकै महत्वपूर्ण छ ।’

युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।

नेपाली क्रिकेट टिमका कप्तान पारसले युएई र नेपालको खेल एउटै स्तरको भएको कारण सिरिज जित्ने दाबी गरे । पारसले भने, ‘पछिल्लो ३–४ वर्षलाई हेर्ने हो भने हामी युएईसँग ५०–५० मै छौं । हामीसँग सिरिज जित्ने राम्रो अवसर छ । त्यसको लागि हाम्रो कुनै एक पक्ष भन्दा पनि ब्याटिङ बलिङ र फिल्डिङ तीनै पक्षमा बलियो हुन आवश्यक छ ।

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारेखमा खेल्नेछ । त्यस्तै, २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ ।

एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल खेल्नेछ ।

नेपाली क्रिकेट टिम

कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की र अभिनाष बोहरा रहेका छन् ।

पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की र अभिनाश बोहरा एकै पटक राष्ट्रिय टीममा परेका चार जना नयाँ खेलाडी हुन् ।
सन्दीप जोरा र भीम सार्की ब्याट्सम्यान हुन् । यी दुबै खेलाडी मध्यक्रममा ब्याटिङ गर्न आउने गर्दछन् । पवन सर्राफ भने अलराउण्डर हुन् । अग्रपंक्तिमा ब्याटिङ गर्न आउने पवन राम्रो बलिङ पनि गर्छन् । त्यस्तै, अभिनास बोहोरा मिडियम पेस बलर हुन् ।

चारै जना खेलाडीले यु–१९ क्रिकेट टीमबाट पनि खेलिरहेका छन् । भीम सार्कीले पोखरा प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै दुई अर्धशतक बनाएका थिए । त्यस्तै, सन्दीप, पवन र अभिनाशले पीपीएलसँगै ईपीएलमा पनि राम्रो प्रदर्शन गरेका कारण टिममा अटाएका हुन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय