Comments Add Comment

१० दिन अनशन बस्नुस्, अरु नसके पनि घरखेत दिन्छु !

डा. गोविन्द केसीको अनशन तयारीदेखि नै जानकार छु । डा. केसीले कहिल्यै पनि पदको माग गर्नुभएन । पद लिएर काम गर्नुस् भन्दा म त्यसको लागि जन्मिएकै होइन भन्नुभयो । तर, मेडिकल शिक्षा सुध्रियोस्, भ्रष्टाचारमुक्त होस् भन्ने चाहना छ उहाँको । त्यसैले आईओएमलाई भ्रष्टाचारमुक्त गरियोस् भन्ने मागबाट डा. केसीको अनसन शुरु भयो ।

मागको सूची तन्किदै महाराजगञ्जको डिन नियुक्ति, मेडिकल काउन्सिल, लोकमानसिंह कार्की, प्रधानन्यायाधीश गोपाल पराजुलीसम्म पुग्यो । यी मागहरु चिकित्सा शिक्षाको सेरोफेरो वा चिकित्सा क्षेत्रका हितमै थिए । तर, अहिले थपिएका द्वन्द्वकालीन मुद्दा र निर्मलालाई न्याय तपसीलका माग हुन् ।

डा. केसीको १६ औँ अनशनमा छन् । हरेक अनसनमा म उहाँलाई एक पटक भेट्न पुग्छु र ऐक्यबद्धता जनाउँछु । तर, म वार्ता दलको सदस्य पनि होइन वा उहाँको अनसनमा अरु तवरले सहभागी छैन ।

गोविन्द केसीका मागबारे मेरा आफ्नै तर्क छन् । अहिले पनि मैले भन्छु कि जुम्लामा मेडिकल कलेज चल्न सक्दैन । त्यसैले डा. केसीको वार्ता ‘गिभ एण्ड टेक’मै सल्टिनुपर्छ । तर, डा. केसीको अनसनबारे जुन खिसीट्युरी र लज्जास्पद टिप्पणी गरिन थालेको छ, ती अस्वभाविक छन् ।

अनशनलाई मानिसहरुले अहिले जति सजिलो तरिकाले सोच्न थालेका छन् नि ! त्यति सजिलो छैन । त्यसैले मैले ट्वीट गरेको थिएँ, ‘मेरो पेशाबारे यता लगभग बोल्दिनँ, तर पनि सरहरूलाई फेरि सानो च्यालेन्जः म तपाईंलाई नर्मल स्लाइन मात्र होइन, चिनी पनि नसाबाट तपाईंलेे चाहेकै मात्रामा आईसीयुमै राखेर दिन्छु । आउनूस्, दश दिन अनशन बस्नुस् ! अरु नसके पनि घरखेत दिन्छु !’

बुद्धि भएका, नेता बन्न लायकका हुन् भन्नेहरुले नै नशाबाट टन्न खान्छ अनि अनसन बस्छ भन्न थाले । कतिले नशाबाट टन्न भिटामिन हालेर अनशन बस्छन् भने । कतिले त नशाबाट मह लिन्छ पनि भन्न भ्याए । भिटामिनले पनि कहीँ मान्छे बाँच्छ ? अझ नशाबाट मह दिँदा त मानिस छिनमै मर्छ !

नर्मल स्लाइन र पानी खायो भने मानिस ३०/४० दिनसम्म बाँच्न सक्छ । कोही १० दिनमै पनि मर्न सक्छ । कम्तिमा गोविन्द केसी त्यति दिनसम्म बाँच्छन् भन्ने लाग्छ । किनकी उनीमा निकै राम्रो अभ्यास भइसकेको छ । यही सोंचेर पनि होला डा. केसी अनशनमा बसेको बेला प्रधानमन्त्री विदेश यात्रामा निस्केको

गोविन्द केसी चार हप्ता अनशन बसेर देखाइदिए । त्यसपछि मान्छेहरुमा अनशनबारे भ्रम र हाँसीमजाकको विषय बनेको छ । सबैलाई लाग्न थालेको छ कि अनशन सजिलो छ । भारत, नागाल्याण्डकी इरोम शर्मिला संसारमा सबैभन्दा लामो समय अनसन बसेकी हुन् । तर, मुखबाट नखाने र नाकबाट झोलिलो पदार्थ राखिदिएपछि त जति लामो समय पनि बस्न सकिन्छ । अनशन बस्नका लागि सबैभन्दा महत्वपूर्ण भनेको मानसिक रुपमा बलियो हुनुपर्छ ।

संसारभर अनशन बस्ने मानिसले पानी खाने गर्छन्, कि मुखमा बरफ राख्छन् । पानी खायो भने अलि बढी दिन बाँच्ने सम्भावना हुन्छ । डा. केसीको अनशन त्यस्तो होइन । उहाँले मुखबाट पानी पनि खानुहुन्न । उहाँलाई नर्मल स्लाइन मात्र दिइन्छ । पानी नलिँदा मानिस ४-५ दिनमै मर्न सक्छ । गान्धीले पानी पनि नलिइकन २१ दिन अनशन बसे भन्छन् । तर, उनको जुन शरिरको बनावट छ, त्यसलाई हेर्दा विश्वास गर्न गाह्रै पर्छ ।

शरीर विज्ञानको कुरा गरौँ । पानी खाए पनि शरिरको अंग चल्न, बोल्न, हात हल्लाउन, त्यसले शक्ति प्रदान गर्दैन । आन्द्रा, फोक्सो मुटुले काम गर्न मसल्स तन्कने र खुम्चने गर्नुपर्छ र त्यसका लागि पनि शक्तिको आवश्यकता पर्छ ।

त्यसैले २४ घण्टापछि मानिसले आफ्नै शरिर खान थाल्छ । शरिरमा कार्बोहाइड्रेटको भण्डारण निकै कम हुन्छ । त्यो दुई दिनमै सकिन्छ । त्यसपछि बोसो खान थाल्छ । बोसोसँगै प्रोटिन जान्छ । जसले गर्दा मिर्गौलामा ओभरलोड पर्छ र झ्याप्पै फेल हुनसक्छ । मुटु पनि त्यसरी नै जान सक्छ ।

शरीरले खानाको माध्ययमबाट हरेक दिन पाइरहेको म्याग्नेसियम जस्ता सुक्ष्म लवणहरु पनि पाउन छाड्छ । यसले हर्मोनको उत्पादनमा गडबडी हुन्छ । परिणाम मुटुको गति बढ्न जान्छ । यस्तो अवस्थामा मुटुको गति झ्याप्पै रोकिन पनि सक्छ । शरिरमा पोटासियमको मात्रा कम भएर पनि मानिस मर्न सक्छ ।

डा. केसीको हकमा हरेक दिन रगत, पिसाब जाँच हुन्छ । कमी भएमा क्याल्सियम, म्याग्नेसियम, पोटासियमको मात्रा स्लाइनबाट दिइन्छ । तर, सधैं यसले मात्र त धान्दैन नि ! शक्ति दिने तीन कुरा कार्बोहाइड्रेट, प्रोटिन र फ्याट त चाहियो । जुन खानाबाट प्राप्त हुन्छ ।

मानिस नखाइकन यति नै दिन बाँच्छ भन्न गाह्रो छ । नर्मल स्लाइन र पानी खायो भने मानिस ३०/४० दिनसम्म बाँच्न सक्छ । कोही १० दिनमै पनि मर्न सक्छ । कम्तिमा गोविन्द केसी त्यति दिनसम्म बाँच्छन् भन्ने लाग्छ । किनकी उनीमा निकै राम्रो अभ्यास भइसकेको छ । यही सोंचेर पनि होला डा. केसी अनशनमा बसेको बेला प्रधानमन्त्री विदेश यात्रामा निस्केको । किनकी म फर्किँदासम्म ऊ मर्दैन भन्ने भएर होला । तर, अनशन भनेको निकै जोमिखपूर्ण हुन्छ । कुनै पनि अनशनमा डा. केसी एक हप्तापछि जुनसुकै समय मर्न सक्थे, सक्छन् ।

पाँच वर्षअघि भारतको रामलिला मैदानमा रामदेव अनशन बसेका थिए । त्यतिबेला अन्ना हजारे पनि अनशनमा थिए । अन्नालाई जेल पुर्‍याइयो । उनी जेल गएर पनि अनशन बस्न छोडेनन् । उनी १८ दिनसम्म अनशन बसे । उनको मागलाई सरकारले पनि सम्बोधन गर्‍यो । उता रामदेव भने तीन दिनमै प्रहरीलाई देखेपछि महिलाको लुगा लगाएर भागे । उनलाई प्रहरीले पक्राउ गरेर हरिद्वार पुर्‍यायो । दिल्ली आउनै निषेध गर्‍यो । उनले यत्तिकै अनशन तोडे । त्यसको मुख्य कारण भनेको मृत्युप्रतिको डर थियो ।

१५ औँ अनशनका बेला छ महिनाअघि केपी ओलीले नै केसीसँग गएर भन्नुभयो, ‘गलत सूचनाको कारण पहिले बुझेको रहेनछु । तपाईंले गर्नुभएको कुरा र हामीले गरेको कुरा एउटै रहेछ ।’ तर, अहिले संसदीय सर्वोच्चता भन्दै जोक्कर कुरा गरिरहनुभएको छ

मानिस मानसिक रुपमा तयार नभएसम्म अनशन बस्न सक्दैन । मानिसलाई स्लाइन दिइसकेपछि पनि म कुनै समय मर्न सक्छु भन्ने ज्ञान भयो भने ऊ मानसिक रुपमा निकै कमजोर हुन्छ र, मृत्युसँग डराउन थाल्छ ।

अनशनको तीन दिनपछि शरीर शिथिल हुन्छ । आफ्नो मुटुको ढुकढुकी पनि आफैं सुन्न थाल्छ । त्यसपछि मानिसमा हजार सपना आउन थाल्छन् । छोराछोरी, श्रीमती, बा-आमालगायत अनेक कुरा सम्झन थाल्छ । अनि आफैँ माथि प्रश्न गर्न थाल्छ, ‘म केको लागि मर्दैछु ?’

अनशन बस्ने मान्छेको उद्देश्य यति बलियो हुनुपर्छ, जसले मृत्युलाई पनि जितोस् । उद्देश्य यति बलियो हुनुपर्‍यो कि त्यसको अगाडि श्रीमती, छोराछोरी, आफन्त तथा साथीभाइ वा आफ्नो ज्यान पनि केही होइन । नत्र मानिस अनशन बस्नै सक्दैन । अनशन बस्दाबस्दै बीचमै छाडेर हिँडेका संसारमा थुप्रै उदाहरण छन् ।

नैतिकहीन नेता

गोविन्द केसीको मागलाई जहिले पनि प्रतिपक्ष दलले बोक्ने गरेको छ । त्यही दल सरकारमा गएपछि फेरि लागु गर्न नखोज्ने । यही चक्र चलिरहेको छ । १५ औँ अनशनका बेला छ महिनाअघि केपी ओलीले नै केसीसँग गएर भन्नुभयो, ‘गलत सूचनाको कारण पहिले बुझेको रहेनछु । तपाईंले गर्नुभएको कुरा र हामीले गरेको कुरा एउटै रहेछ ।’

सुवास नेम्वाङ, विष्णु पौडेलदेखि शंकर पोखरेेलले पनि त्यसै भन्नुभयो । अहिले केपी ओली दुई तिहाई सरकारको प्रधानमन्त्री मात्र नभए पार्टीको संसदीय दलको नेता पनि छन् । उनले आफ्ना सांसदहरुलाई नेताले हृवीप लाउन मिल्दैन ? तर, अहिले संसदीय सर्वोच्चता भन्दै जोक्कर कुरा गरिरहनुभएको छ । नेताहरु नै नैतिकहीन भए ।

गोविन्द केसीको प्रायः मागमा मेरो समर्थन छ । माथेमा आयोगको विषयमा डा. केसीले जुन माग राख्नुभएको छ, त्यो गोविन्द केसीले राख्नुपर्ने माग नै होइन । सरकारले गर्नुपर्ने काम हो । आयोगले दिएको रिपोर्टमाथि ऐन बनाइयोस् भन्दा पनि नमान्ने ? नेकपा सरकारले नमान्ने ? सबैले बुझौं, चिकित्सा शिक्षा ऐनमा यस्ता कुरा हुनुपर्‍यो भन्ने कुरा डा. गोविन्द केसीले एक्लै बसेर गरेको पनि होइन ।

(शहिद गंगालाल हृदयरोग केन्द्रमा कार्यरत डा. कोइरालासँग गरिएको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment