Comments Add Comment

सुबिसु भन्छ– मालपोत कार्यालयकै समस्या हो, हाम्रो दोष छैन

९ माघ, काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले मालपोत कार्यालयमा नेट नचल्नुमा आफ्नो कुनै दोष नरहेको र मालपोत कार्यालयकै सर्भरमा समस्या रहेको दाबी गरेको छ ।

मोरङको बेलबारी मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले दुःख पाएको समाचार अनलाइनखबरमा प्रकाशित भएको भोलिपल्ट सुबिसुले विज्ञप्ति जारी गरेर मालपोत कार्यालयकै समस्याले त्यस्तो समस्या आएको जिकिर गरेको हो ।

सुबिसुले विज्ञप्तिमा भनेको छ, ‘यो समाचार प्रकाशित भएपछि हामीले आन्तरिक अनुसन्धान गर्दा समाचारमा प्रकाशित भएअनुसारको विवरण नमिलेको र मालपोत कार्यालय मोरङले इन्टरनेट सेवा नभई इन्ट्रानेट सेवा लिएको हुँदा हाम्रो समस्या नभई मालपोत कार्यालयकै आन्तरिक सर्भरको समस्या हुन सक्ने देखिएको छ ।’

सुबिसुले यो तर्कलाई पुष्टि गर्ने आफूसँग प्रमाणसमेत भएको दाबी गरेको छ । र, हामीले सो प्रमाण माग्दा उसले इन्टरनेट चलाएको ग्राफ उपलब्ध गरायो ।

सुबिसुले अनलाइनखबरलाई उपलब्ध गराएको साप्ताहिक ग्राफमा माक्स आउट र माक्स इनको दर उच्च देखिएको छ । नेट चलिरहेको भएता पनि राम्रोसित काम नगरेको अवस्थामा कम्प्युटर चलाउँदा माक्स आउटको दर उच्च देखिने प्राविधिकहरु बताउँछन् ।

इन्टरनेट सेवाका जानकारहरुका अनुसार सेवाग्राहीले नेट नचलेको गुनासो गर्दा सेवा प्रदायक कम्पनीले ग्राफ देखाउँदै नेट चलेको प्रमाण दिने गर्छन्, तर कतिपय अवस्थामा ग्राफमा देखिए पनि नेटले व्यवहारतः राम्रो काम गरिरहेको हुँदैन ।

बेलबारी मालपोत कार्यालयमा ग्राफमा नेट चलेको देखिए पनि काम अवरुद्ध हुने गरेको कर्मचारीले बताउने गरेका छन् । त्यहाँका कर्मचारीहरुले दिनहुँ नेट जाने गरेको र चलेकै अवस्थामा पनि त्यसले राम्रोसित काम नगर्ने सेवाग्राहीलाई बताउने गरेका छन् ।

बुधबार सुबिसुले अनलाइनखबरलाई उपलब्ध गराएको ग्राफमा शनिबार विदाका दिन पनि नेट चलेको देखिन्छ । साथै शुक्रबार माक्स आउटको रेट आइतबार भन्दा उच्च देखिएको छ ।

सुबिसु केबलनेट प्रालिले अनलाइनखबरको समाचारबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको र सुबिसुका कारण मालपोतको काम अवरुद्ध नभएको एवं अनलाइनखबरको समाचार असत्य एवं भ्रामक भएको बताएको छ । यस्तो समाचारले आम मानिसमा भ्रम उत्पन्न गराएको सुबिसुको गुनासो छ ।

उता भूमि व्यवस्थापन तथा अभिलेख विभागका आइटी निर्देशक रामदत्त भट्ट भने सुबिसुले विज्ञप्ति निकालेर आफ्नो दोष छैन भन्न नमिल्ने बताउँछन् । यद्यपि मालपोतको सर्भरका कारणले पनि समस्या आउने गरेको भट्टको स्वीकारोक्ति छ ।

भट्टले बुधबार अनलाइनखबरसँग कुरा गर्दै भने, ‘सुबिसु इन्टनरनेटले मेरो गल्ती नै छैन भन्न पनि मिल्दैन । इन्टरनेटको दोष हुन्छ । तर, उसकै सधैं दोष भन्न चाहिँ मिल्दैन ।’

भट्टले अगाडि थपे, ‘मालपोत कार्यालयले कुन कम्पनीको इन्टरनेट सेवा लिन्छ, उसको कुरा हो । सुबिसु नै लिनुपर्छ भन्ने छैन । शुरुमा नेपाल टेलिकमको इन्टरनेट जोडिएको थियो । कतिपयले लिखितरुपमै नेपाल टेलिकमको भएन भनेर जानकारी गराएर अर्को कम्पनीको जोडेका छन् ।’

यो पनि पढ्नुहोस्

मालपोतका आइटी अफिसर भन्छन्– सिंहदरबारमा पनि धेरैबेर इन्टरनेट गयो, यो ठूलो कुरा होइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment