+
+

मालपोतका आइटी निर्देशक भन्छन्– सिंहदरबारमा पनि धेरैबेर इन्टरनेट गयो, यो ठूलो कुरा होइन

लु हेर्नुस् इन्टरनेट गयो भनेर मैले कतिपटक म्यासेज पठाएको छु !

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ९ गते १९:३३

९ माघ, काठमाडौं । बेलबारी मालपोत कार्यालयमा इन्टरनेट नचलेर सेवाग्राहीले दुःख पाइरहेको खबर अनलाइनखबरमा प्रकाशित भएको भोलिपल्ट हामी यसबारे बुझ्न बबरमहलस्थित भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पुग्यौं ।

विभागका हाकिमहरु छलफलका लागि मन्त्रालय गएका रहेछन् । केहीबेर कुरेपछि कार्यालयमा भेटिए– सूचना प्रविधि (आईटी) निर्देशक रामदत्त भट्ट ।

देशैभरिका मालपोत कार्यालयमा बारम्बार इन्टरनेट अवरुद्ध हुने र सेवाग्राहीले दुःख व्यहोर्नुपर्ने कारण के हो भनेर हामीले भट्टलाई सोध्यौं । उनले बेलाबखत इन्टरनेट जानु ठूलो कुरो नभएको सहज पारामा बताए ।

भट्टले अनलाइनखबरसँग भने– ‘आज म सिंहदरबार गएको थिएँ, त्यहाँ पनि इन्टरनेट धेरैबेरसम्म गएको थियो । बेलाबखतमा यस्ता समस्या आउन सक्छन्, यो ठूलो कुरा होइन ।’

मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएपछि सर्वसाधारणले नभएर लेखन्दासहरुले असन्तुष्टि जनाउने गरेको भट्टले दाबी गरे । उनले भने– ‘अहिले बाहिर देखिएको आक्रोश सर्वसाधारणको होइन, लेखापढीहरुले व्यक्त गरिरहेका छन् । यो प्रविधिले गर्दा आम्दानी घट्यो भनेर लेखापढी व्यवसायीहरुले आक्रोश व्यक्त गर्न सक्छन् ।’

मालपोत कार्यालयमा सेवाग्राहीहरु आक्रोशित बनिरहेको भएता पनि आइटी निर्देशक भट्टले चाहिँ मालपोत त्यहाँ देखिएको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताए ।

विभागका सूचना प्रविधि निर्देशक भट्टले अनलाइनखबरलाई दिएको प्रतिक्रियाको सम्पादित अंश यस्तो छ–

अलिकति ढिलो हुन्छ, कावासोतीमा १५ दिनमा काम भयो !

शुरुमा नेपाल टेलिकमको इन्टरनेट जोडिएको थियो । कतिपयले लिखितरुपमै नेपाल टेलिकमको भएन भनेर जानकारी गराएर अर्को कम्पनीको जोडेका छन् ।

मालपोत कार्यालयमा गत बिहीबार समस्या आएकै हो । त्यस दिन अत्यन्तै कम काम भएको छ । त्यस दिन सर्भरमै समस्या देखिएको थियो । मैले त्यस विषयमा जीआईडीसीमा पनि सम्पर्क गरेर फेसबुकमा स्टाटस नै राखेको थिएँ ।

सुबिसु इन्टनरनेटले विज्ञप्ति निकालेर मेरो गल्ती नै छैन भन्न पनि मिल्दैन । इन्टरनेटको दोष हुन्छ । तर, उसकै सधैं दोष भन्नचाहिँ मिल्दैन । मेरै घरमा पनि सुबिसुकै इन्टरनेट छ, (मोवाइलतिर देखाउँदै) लु हेर्नुस् इन्टरनेट गयो भनेर मैले कतिपटक सुबिसुमा म्यासेज पठाएको छु ।

आज म सिंहदरबार गएको थिएँ, त्यहाँ पनि इन्टरनेट धेरैबेरसम्म गएको थियो । बेलाबखतमा यस्ता समस्या आउन सक्छन्, यो ठूलो कुरा होइन ।

अर्को कुरा, हामीले सुबिसु नै हुनुपर्छ भनेका छैनौं । हामीले मालपोत कार्यालयमा नै बजेट पठाएका छौं । मालपोत कार्यालयले कुन कम्पनीको इन्टरनेट सेवा लिन्छ, उसको कुरा हो । सुविसु नै लिनुपर्छ भन्ने छैन । म प्रमाण देखाउन पनि सक्छु ।

शुरुमा नेपाल टेलिकमको इन्टरनेट जोडिएको थियो । कतिपयले लिखितरुपमै नेपाल टेलिकमको भएन भनेर जानकारी गराएर अर्को कम्पनीको जोडेका छन् ।

कर्मचारीहरुले इन्टरनेट गएर गयो भन्छन् कि नगई गयो भन्छन् भन्ने कुराचाहिँ त्यहीँ हेरेर मात्रै थाहा हुन्छ । अहिले बाहिर देखिएको आक्रोश सर्वसाधारणको होइन, लेखापढीहरुले व्यक्त गरिरहेका छन् । यो प्रविधिले गर्दा आम्दानी घट्यो भनेर लेखापढी व्यवसायीहरुले आक्रोश व्यक्त गर्न सक्छन् ।

कतै दुई दिनसम्म समय लागेको सुनेको छु । कावासोतीमा १५ दिनसम्म लागेको भन्ने सुनेको थिएँ । शुरुमा ढिलो हुने हो, सधैं त्यस्तो हुँदैन ।

नयाँ प्रणाली भएका कारण शुरुवाती समयमा काममा केही ढिलाइ हुन्छ, त्यो भएकै हो । मोरङको बेलबारी मालपोतमा हामीले यो सेवा गत पुसबाट शुरु गरेका थियौं । पहिलो दिन त्यहाँ जम्मा १४ वटामात्रै काम भएको थियो । शुरु गरेको पहिलो दिन अत्यन्तै कम मात्रै काम भयो । त्यसयता विस्तारै कामले रफ्तार लिँदैछ ।

यो प्रविधिले अलिकति ढीलो अवश्य हुन्छ । यहाँ धेरै रेकर्ड राख्नुपर्छ । धेरै डाटाहरु इन्ट्री गर्नुपर्छ । तर, एउटा कुरा के हो भने ढिला भए पनि गुणस्तर हुन्छ । यो गुणस्तरीय सेवा हो ।

साधारणतया काम एकै दिनमा सकिन्छ । तर, शुरुवाती दिनमा केही ढिलाइ हुन्छ । कतै दुई दिनसम्म समय लागेको सुनेको छु । कावासोतीमा १५ दिनसम्म लागेको भन्ने सुनेको थिएँ । शुरुमा ढिलो हुने हो, सधैं त्यस्तो हुँदैन । साधारणतया एक दिनमै काम सकिन्छ ।

आर्थिक वर्ष ०७३/७४ को पुस महिनाबाट हामीले अनलाइन सेवा शुरु ग¥यौं । यो सेवा शुरु भएपछि राजस्वको मात्रा बढेको छ । अहिले तपाईको जग्गा किनबेच हुँदैछ भनेर एसएमएस जान्छ, यसले सुरक्षा त भयो नि ।

अहिले ५० वटा मालपोत कार्यालय छन् । सबैमा काम हुन्छ । बुधबार ४८ वटामा मात्रै काम भएका छन् । करिब ४ हजार लिखत बुधबार पास हुँदैछन् । मंगलबारको हेर्ने हो भने ४ हजार ५ सय भन्दा बढी र ५ हजारभन्दा कम लिखत पास भएका छन् ।

यो पनि पढ्नुहोस्

सुबिसु भन्छ– मालपोतकै समस्या हो, हाम्रो दोष छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?