+
+

फिल्मसँगै भारतीय संस्कृति भित्रिँदै, नेपाली पैसा बाहिरिँदै

शिव मुखिया शिव मुखिया
२०७५ माघ ११ गते ११:०१

आंकडाले भन्छ, बलिउड फिल्म ‘बाहुबली–२’ ले नेपालको सिनेमा हलबाट दुई दिनमा ७ करोड लग्यो । त्यसयता चलेका ‘पद्यावत’, ‘संजु’, ‘सेक्रेट सुपरस्टार’ जस्ता चलचित्रले नेपाली दर्शकबाट उठाएको रकमको हिसाब–किताब पनि अत्याउने खालको छ ।

अहिले रोहित सेट्टीको ‘सिम्बा’ले पनि नेपाली सिनेमा घरहरुमा राम्रै दबदबा काम गरिरहेको छ । अबको केही दिनमै हामी औंला भाँचेर हिसाब निकाल्छौं, ‘सिम्बाले नेपालबाट यति पैसा लग्यो ।’

भारतीय फिल्मले नेपालका सिनेमा हलबाट करोडौं पैसा लगेको त हामीले देखेका छौं । तर, देखेका छैनौं, यस्ता फिल्मले नेपालमा के–के छोडेर जान्छन् ? भारतीय स्टाइल, फेसन, भाषा, लवज, रहनसहन, खानपिन आदि ।

खेदपूर्वक भन्नुपर्छ, भारतीय फिल्मले नेपालबाट लैजाने पैसा जति भयानक छ, त्यो भन्दा भयानक छ सामाजिक–सांस्कृतिक अतिक्रमण । फिल्ममार्फत भारतीय भाषा–संस्कृति हाम्रो समाजमा यसरी घुलन भइरहेको छ कि कुन हाम्रो र कुन उनीहरुको छुट्याउन गाह्रो हुन्छ ।

हामी दिपावलीलाई दिवाली भन्न थालेका छौं, दिपावलीमा घर अगाडि रंगोली बनाउनु अनिवार्य बन्दै गएको छ । महिलाहरुमा लहेंगा तथा पुरुषहरुमा मोदी कोटको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । विवाह अगाडि बेहुलीले महेन्दी लगाउने चलनले व्यापकता पाइरहेको छ । बच्चादेखि युवाहरुको मुखमुखमा हिन्दी गीतहरु झुण्डिएका छन् । यसप्रकार भारतीय सांस्कृतिक अतिक्रमणले हाम्रो मौलिक कला–संस्कृति, भाषा–शैली, फेसन–स्टाइल सबै कुरालाई ‘ठिमाह’ बनाइदिएको छ ।

भारतीय फिल्मले नेपालबाट लैजाने पैसा जति भयानक छ, त्यो भन्दा भयानक छ ती फिल्मले गर्ने भाषिक–सांस्कृतिक अतिक्रमण

निर्देशक एवं कला विश्लेषक प्रकाश सायमीले भनेजस्तै एउटा सिनेमाले केवल कन्टेन्ट मात्र होइन, त्यसको फेसन, स्टाइल, डायलग, संगीत सबैकुरा बेच्छ । यसको मतलब विदेशी सिनेमाले दुई/चार सय रुपैयाँमा हामीलाई डेढ वा दुई घण्टाको मनोरञ्जन मात्र बेच्दैन, त्यसले आफ्नो भूगोलको सांस्कृतिक उत्पादन पनि खपत गराउँछ ।

जुन चिजको तुरुन्त प्रभाव हाम्रो फेसन र स्टाइलमा देखिन्छ । त्यसैले त हामी आफ्नो कपाललाई कहिले गजनी कटमा ढाल्छौं, कहिले आशिकी कटमा । फेसन, खानपान, भाषा–लवज सबै कुरामा यसको खास असर पर्छ ।

सिनेमा र संवेदनशीलता

हामीले बुझेजस्तै सिनेमा मनोरञ्जनको साधन मात्र होइन । कला–संस्कृति विस्तारको माध्यम पनि हो । एउटा सिनेमाले अर्को भूगोलमा आफ्नो रंग र ढंग फिँजाएर आउँछ । त्यसले रैथाने कला–संस्कृतिमा आफ्नो स्वाद र शैली मिसाएर आउँछ ।

यसलाई नरम भाषामा ‘विस्तार’ एवं कडा भाषामा ‘अतिक्रमण’ भन्न सकिएला । आखिर जे भएपनि त्यसको ‘साइड इफेक्ट’ भनेको एकै हुन् ।

आफ्नो कथा, आफ्नो परिवेश, आफ्नो रीति, आफ्नो लवज, आफ्नो भाका, आफ्नो शैली अर्को भूगोल र समुदायसम्म पुर्‍याउने सर्वप्रिय माध्याम हो, सिनेमा । अक्सर समाजमा संगीत, फेसन र सिनेमाको प्रभाव सजिलै तर गाढा पर्छ । सिनेमाले आफूसँगै संगीत र फेसन समाहित गर्छ । त्यही कारण सिनेमा एक बहुरंगी सांस्कृतिक हतियार पनि हो ।

आमिर खान स्टारर चलचित्र ‘सेक्रेट सुपरस्टार’ले चीनमा कुनै भारीतय परिवारको कथा सुनाएर/देखाएर आयो । यसबाट निर्माण पक्षलाई चिनियाँ दर्शकको पैसा मात्र प्राप्त भएन, आफ्नो कला बजारलाई खुकुलो एवं फराकिलो बनाउने मौका पनि मिल्यो । भोलिको दिनमा त्यो चिनियाँ समाजले हिन्दी गीत सुन्नेछ, लेहेंगा लगाउनेछ, विरयानी खानेछ । तर, चीन र भारत आपसमा एकअर्काको ठूलो अर्थ बजार भएको नाताले यसबाट दुवै ‘विन–विन’को अवस्थामा रहन्छन् । अर्थात यसले उनीहरुमा सांस्कृतिक अतिक्रमण भन्दा पनि सांस्कृतिक आदन–प्रदानको काम गर्नेछ ।

हाम्रो सन्दर्भमा भने त्यस्तो हुँदैन । कमजोर अर्थतन्त्र, साँघुरो बजार, फितलो उत्पादन, संवेदनशील समाजमा बलिउडको एकोहोरो र एकछत्र दबाव । यस्तो दबाव थेग्न सक्ने सांस्कृतिक उत्पादन हामीसँग छैन ।

भारतले नेपाली बजारमा लेहेंगा बेच्दा हामी भारतीय बजारमा लगेर गुन्यु चोलोको मोलमोलाई गर्न सक्दैनौं । यसको अर्थ भनेको, हामी सांस्कृतिक हिसाबले चेपुवा र धरापमा छौं ।

उग्र राष्ट्रवाद र रुन्चे अनुनय

विप्लव माओवादीलाई बेलाबखत झ्वांक चल्छ र सांस्कृतिक अतिक्रमण रोकौं भन्दै सिनेमा हलमा तालाबन्दी गर्छ । विदेशी खासगरी हिन्दी चलचित्रले नेपाली समाज र संस्कृतिमाथि आफ्नो प्रभाव लाद्छ भन्दै उनीहरु ‘उग्र राष्ट्रवाद’को नारा ओकल्छन् ।

उनीहरु कतिसम्म भन्छन् भने, बलिउड स्टारलाई पनि घरेलु मैदानमा निमन्त्रणा गर्नु हुन्न । यस्तै निहुँमा बलिउड स्टार सलमान खानको ‘द ब्यांग टुर नेपाल’ विथोलिएको थियो । विप्लवको भातृ संस्था अखिल नेपाल जनसांस्कृतिक महासंघले त्यसबेला विज्ञप्ती जारी गर्र्दै लेखेको थियो, ‘नेपालमाथि बढ्दो विदेशी संस्कृतिको अतिक्रमण रोक्न राष्ट्रभक्त, जनसंस्कृतिप्रेमीहरु एकजुट हुनुपर्ने समय आएको छ ।’

सलमान खानलाई संकेत गर्दै विज्ञप्तीमा थपिएको थियो, ‘उनी निकै लोकप्रिय छन् तर, त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवद्र्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन ।’

हाम्रा कलाकार पनि अक्सर विन्ती गर्ने गर्छन्, ‘प्लिज नेपाली सिनेमालाई माया गर्दिनुहोस् । नेपाली कला–संस्कृतिलाई माया गरिदिनुहोस् ।’ बलिउड वा हलिउडको प्रभावलाई निस्तेज गर्न स्वदेशी सिनेमा हेनुपर्छ भन्दै उनीहरु बेलाबखत पाठ पनि पढाउने गर्छन् ।

त्यसो भए के विदेशी सिनेमा हेर्नै हुँदैन ? चलाउनै हुँदैन ? प्रतिवन्ध लगाउनुपर्छ ?

‘ग्लोबलाइजेसन’को नारा गुञ्जाइरहेको दुनियाँमा यो संभव छैन । मनोरञ्जन लिन पाउने अधिकारबाट कसैलाई बञ्चित गराउने ताकत, सामथ्र्य र अधिकार सरकारसँग छैन । रैथाने होस् वा आयतित, मनोरञ्जन त मनोरञ्जन नै हो । स्वस्थ्य मनोरञ्जनको स्रोत र ढोका सदैव खुला हुन्छ । जहाँ पनि, जहिले पनि ।

अर्कोतिर नेपाल विश्व व्यापार संगठनको सदस्य मुलुक पनि हो । यसले खुला अर्थतन्त्रको वहस गर्छ । आयतित कुरालाई रोकेर हाम्रो बजार सुरक्षित हुने पनि होइन, बरु संकिर्ण हुने हो । खुम्चने हो ।

यस्तो अवस्थामा हामीसँग भएको मध्यमार्गी विकल्प भनेको, आफ्नो सिनेमाको स्तरोन्नती मात्र हो । यसका लागि हामीसँग बजार छ, पूर्वाधार छ । स्तरीय सिनेमा हल बन्दैछन्, श्रव्यदृश्य माध्यम सशक्त हुँदैछ । चलचित्र कलाकार संघका सचिव घनश्याम खतिवडाले भनेजस्तै, ‘नेपाली चलचित्रको स्तरवृद्धि गरेपछि आयतित चलचित्रहरु स्वतः विस्थापित हुनेछ ।’

विस्थापित नै हुने अवस्था नआए पनि जब नेपाली चलचित्रले दर्शकलाई आफ्नो कब्जामा राख्न सक्छ, हलिउड/बलिउडको उपस्थिति र प्रभाव छाटिदै जान्छ । झट्ट सुन्दा यो स्वैरकाल्पनिक र आदर्श जस्तो लाग्छ, तर विगतका उदाहरणले यो संभावना देखाइसकेको छ ।

निश्चल बस्नेतको ‘लुट’ सार्वजनिक हुँदा ऋतिक रोशन स्टारर ‘अग्निपथ’ प्रदर्शनमा आएको थियो । तर, ‘लुट’ले दर्शकलाई ‘अग्निपथ’को टिकट लाइनमा उभिन दिएन, आफूतर्फ तान्यो ।

रणवीर कपूर र दीपिका पादुकोणको ‘तमाशा’ र रामबाबु गुरुङको ‘कवड्डी–कवड्डी’ एकसाथ हलमा लागेको थियो । तर, घरेलु दर्शकको घनत्व ‘तमाशा’मा होइन, ‘कवड्डी कवड्डी’मा देखियो । अनमोल केसी अभिनित ‘जेरी’ले आफ्नो दर्शकलाई हिन्दी चलचित्र ‘किल दिल’मा भुलाएन । रणवीर सिंह र परिणिती चोपडको यो चलचित्र भन्दा ‘जेरी’ हेर्न दर्शकको पंक्ति लामो थियो । झरना थापा निर्देशित ‘ए मेरो हजुर–२’ हेर्नका लागि दर्शकले अजय देवगन स्टारर ‘बादशाहो’ लाई पिठ्यू फर्काएका थिए ।

करिब एक हप्ताको अन्तरमा प्रदर्शन भएको ‘छक्का पञ्जा–३’ र ‘जय भोले’ले पनि घरेलु दर्शकलाई हलिउड/बलिउडबाट आफुतर्फ तानेको थियो ।

यो एउट संकेत हो, नेपाली चलचित्रसँग पनि बलिउड/हलिउडलाई उछिन्ने सामथ्र्य राख्छ भन्ने ।

प्रतिबन्ध होइन प्रतिस्पर्धा

एक कार्यक्रममा निर्देशक/निर्माता अशोक शर्माले भनेका थिए, ‘नेपाली चलचित्रको उत्थान कुनै (विदेशी) चलचित्रमथिको प्रतिबन्धभन्दा पनि प्रतिष्पर्धाबाट हुन्छ ।’

जब–जब हामी हलिउड/बलिउडसँग प्रतिस्पर्धाको कुरा गर्छौं, हामीलाई आफ्नो सिनेमा बामपुड्को लाग्छ । हलिउड/बलिउडसँग सैयौं बर्षको इतिहास छ । विश्वव्यापी दर्शक छन् । प्रविधिले सम्पन्न छन् । अर्बौंको लगानी छ ।

हामीसँग सीमित सिनेमा हल छ । दर्शकको आयतन सानो छ । प्रविधिको उपलब्धता र लगानीको हिस्सा सानो छ । यी सबका बाबजुत अर्बौैंमा बन्ने विदेशी चलचित्रसँग हामीले कसरी प्रतिस्पर्धा गर्ने ?

सिनेमा प्रविधि र बजेटको मात्र खेल होइन । यो त कल्पनाशीलता, रचनाशील्प र काव्यिक सौन्दर्यको उत्पादन हो । अतः यसले पैसा र प्रविधिभन्दा बढी सिर्जनाशिलता माग गर्छ । यसका लागि हामीले त्यस्तै कथा भन्नुपर्‍यो, जो उनीहरुसँग छैन । त्यस्तै रचना–शिल्प पेश गर्नुपर्‍यो, जसले बजेट माग्दैन । त्यस्तै चलचित्र निर्माण गनुपर्‍यो, जसमा विदेशी सिनेमाको स्वाद र रंग हुँदैन । अर्थात हामीले भन्दै आएको ‘अग्र्यानिक’ वा रैथाने चलचित्रले नै हाम्रो बजारलाई सुरक्षित राख्छ । विस्तार गर्छ । आयतित चलचित्रको प्रभाव निस्तेज गर्छ ।

तर, हामी खेलाँची गरिरहेका छौं ।

सिनेमाको संवेदनशीलतालाई उपेक्षा एवं बेवास्ता गर्दै हामी ‘फलानो जस्तै’ चलचित्र बनाउन तम्सिएका छौं । हामीलाई दक्षिण भारतिय जस्तो एक्सन दृश्य चाहिएको छ, कोरियन चलचित्रको जस्तै लभ–रोमान्स चाहिएको छ, बलिउडको जस्तै गीत संगीत चाहिएको छ । यो सबैबाट मिश्रण गरेर चलचित्र बनाउने चेतले नेपाली चलचित्र उद्योगलाई कुन मोडमा लगेर दुर्घटना गराउँछ भन्ने भय एकातिर छँदैछ, आयतित चलचित्रको प्रभावलाई रोक्ने होइन मलजल गर्ने ठाउँ पनि खुकुलो बनाइदिँदैछ ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?