Comments Add Comment

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको निन्दा गर्दै प्रचण्डको कडा विज्ञप्ति

११ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति निकालेका छन् । अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको आरोप प्रचण्डको छ ।

प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिनुपर्ने पक्षमा नेकपा रहेको प्रचण्डले बताएका छन् ।

‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको स्वघोषणलाई अमेरिका र क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले प्रष्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अरुको आन्तरिक मामलामा घुसपैठ गर्ने प्रयास मात्र नभएर कुको प्रयास हो । यो हामीलाई अस्वीकार्य छ ।’

अमेरिकाले एक दशकदेखि भेनेजुयलामा अमानवीय आर्थिक बन्देजहरु लगाएर तथा सैनिक हस्क्षेपको त्राश देखाएर हिंसा र कोलाहल मच्चाउन खोजेको पनि प्रचण्डले उल्लेख गरेका छन् । यो राष्ट्रसंघको चार्टर र शान्तिपूर्ण सहअस्तित्वको सिद्दान्तर्लाइ गम्भीर चुनौति भएको उनको भनाइ छ ।

‘हामी अमेरिका र अन्य राष्ट्रहरुलाई अहस्तक्षेप, सार्वभौमिकता र शान्तिपूर्ण सहअस्तित्वको नीतिलाई सम्मान गर्न आग्रह गर्छौं,’ प्रचण्डले भनेका छन् ।

भेनेजुयलामा मे २०१८ मा भएको चुनावबाट राष्ट्रपति पदमा मादुरो पुननिर्वाचित भएका थिए । उनले यसै महिना दोस्रो पदावधिका लागि सपथ खाएका हुन् । तर, उनलाई मानवअधिकार विरोधी भएको र अर्थतन्त्रलाई धराशयी बनाएको भन्दै आन्तरिक शक्ति र अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् ।

यहीबीचमा विपक्षी नेता जुआन गुआइडोले बुधबार आफूलाई कार्यवाहक राष्ट्रपतिको रुपमा स्वघोषणा गरेपछि आन्तरिक संकट चुलिएको छ । अमेरिकाले उनलाई कार्यवाहक राष्ट्रपतिको मान्यता दिएपछि क्षुब्द भएका मुडुरोले अमेरिकासँग सम्पूर्ण कुटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।

यो मामलामा भेनेजुयलाका जनता विभाजित छन् भने अन्तर्राष्ट्रिय समुदाय पनि विभाजित छ । विवादित अन्तर्राष्ट्रिय मुद्दामा नेपालको सत्ताधारी पार्टीले यसरी कडा विज्ञप्ति जारी गर्नुले ठूलो अर्थ र प्रभाव राख्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment