+
+

जहाज डिलेमा परेर मूख्यमन्त्री चार घन्टा एयरपोर्टमा

नेकपाका नेताको बुद्ध एयरलाई यस्तो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १४:१९

११ माघ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स फ्लाइट डिलेका लागि ‘प्रख्यात’ छ । तर, एउटा निजी बिमान कम्पनीको पनि उही पारा देखिन थालेको छ ।

जहाज डिले भएर यात्रुलाई आजित बनाउन थालेको निजी एयरलाइन्स हो बुद्ध एयर । बिहीबार दुई भीआईपीले बुद्ध एयरको ‘डिले सेवा’ बाट सास्ती पाए । समयमा जहाज नउड्दा उनीहरुले ४ घन्टा विमानस्थलमा टहलिनुपरेको थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल जहाज डिलेको शिकार बनेका हुन् । खनाल इलाम जान र पोखरेल भैरहवा जान जहाज पर्खिरहेका थिए । दुवैको विमान ढिलाइ भएपछि भीआईपी बक्समा चिया खाँदै, गफ गर्दै, फोटो खिच्दै समय बिताएका थिए ।

मुख्यमन्त्रीसँगै भैरहवा जान हिँडेका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले यस प्रसंगमा फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनले उडान ढिलो हुनुमा आकस्मिक र हेलचेक्र्याई दुई फरक–फरक कारण हुनसक्ने बताएका छन् ।

‘विरामी, अशक्त र समयको दबाबमा बुद्व एयरको उडान रोजेका व्यक्तिहरू ३ः०० बजे एयरपोर्ट आएर ६ः३० बजे मात्र उडान हुँदा करिब ४ घण्टा पर्खनुपर्ने बाध्यता कति पीडादायी र कष्टसाध्य यातना जस्तो हुन्छ ? यात्रु भएर अनुभव गर्नुहोस्’ थापाले लेखेका छन् ।

बिहीबार भैरहवा जानका लागि ३ः०० बजेको टिकट काटेका थापा निर्धारित समयमा नै त्रिभुवन विमानस्थल पुगेका थिए । तर, करिब ४ घण्टा कुराएको भन्दै थापाले आक्रोश व्यक्त गरेका छन् ।

‘मानिसहरु जहाजमा यात्रु गर्नुको एउटा कारण चाँडो गन्तव्यमा पुग्न पनि हो । निश्चित समयको तालिकामा हिँड्नुपर्नेहरुलाई ४–४ घन्टा ढिलाई हुँदा भद्रगोल हुन्छ । ‘उडान ढिलाइ हुने भएपछि समयमै जानकारी गराएको भए यात्रुलाई विमानस्थल आएर पर्खनुपर्ने बाध्यता त हुने थिएन नि’ अनलाइनखबरसँगको कुराकानीमा थापाले भने, ‘समयमै जानकारी हुँदा ट्याक्सीमा आउने मान्छे बसमा आउन सक्थे, भोक लागेका मान्छे खाजा खाएर आउँथे ।’

बुद्ध एयरले भने उडान ‘डिले’ हुनु सामान्य कुरा भएको बताएको छ । बुद्ध एयरका सूचना प्रणाली व्यवस्थापन निर्देशक राजिन रञ्जितले बुद्धको मात्रै नभएर सबै एयरलाइन्सहरुको उडान डिले हुने गरेको बताए ।

बिहीबारको सन्दर्भमा भने मौसमका कारण उडान ढिलो भएको हुन सक्ने उनको प्रतिक्रिया छ ।

‘मलाई सबै जानकारी भएन, तर मौसमको खराबीले उडान ढिला भएको हुन सक्छ,’ उनले भने । डिले हुने विषयमा भने यात्रुलाई पूर्व जानकारी दिने व्यवस्था नरहे पनि बुद्ध एयरको एप्लिकेसनमा भने उपलब्ध हुने रञ्जितले बताएका छन् ।

बुद्ध एयर निजी तर्फको नेपालकै सबैभन्दा ठूलो हवाई कम्पनी हो । सन् १९९७ मा स्थापना भएको यस कम्पनीले हाल आन्तरिकतर्फ नेपालका अधिकांश सुगम ठाउँहरु र भारतको वाराणासीमा उडान भर्दै आएको छ । १८ सिटे एक जहाजबाट शुरु भएको बुद्ध एयरसँग हाल ११ वटा जहाज छन् ।

चाडै २ वटा जहाज थप्ने र काठमाडौं–कलकत्ता समेत उडान भर्ने कम्पनीको तयारी रहेको बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।

नेकपाका नेता थापाले बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतलाई सम्वोधन गर्दै फेसबुकमा हालेकाचे स्टाटस यस्तो छ :

बुद्ध एयरका नाममा सार्वजनिक अनुरोध

मान्यवर वीरेन्द्रबहादुर बस्नेतजी

नमस्कार ।

तपाईंको नेतृत्वमा निजी क्षेत्रको हवाई सेवा कम्पनी (बुद्ध एयरले गरेको प्रगतिप्रति बधाई र अझ उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु । तर पछिल्लो समय यसले यात्रुहरूको सेवा र सुविधा विपरित गरिरहेका केही क्रियाकलापप्रति व्यापक गुनासो र रोषको अवस्था बढिरहेकाले यो खुलापत्र लेखिरहेको छु । यसलाई विरोध, भण्डाफोर र भर्त्सना नभएर सुधारको याचना मात्र हो भनेर बुझिदिनुहोला ।

१) उडान ढिलो हुनुमा आकस्मिक र हेलचेक्र्याई दुई अलगअलग कारण हुनसक्छन् । काउन्टरमा आएर बोर्डिङ पास लिँदा उडान १ घण्टा ढिलो छ भन्नुभन्दा एसएमएसमार्फत पहिल्यै जानकारी गराउन सकि हालिन्छ । प्रविधिको यस हिसाबले सदुपयोग गरेर अविलम्ब सुधार थालनी गर्नुहोस् ।

२) समय र उडानको ठेगान नभएको त नेपाल एयरलाइन्स नै छ, बुद्ध एयर वा अरूले किन प्रतिस्पर्धा गर्नुप¥यो ?

३) विरामी, अशक्त र समयको दबाबमा बुद्व एयरको उडान रोजेका व्यक्तिहरू ३ः०० बजे एयरपोर्ट आएर ६ः३० बजे मात्र उडान हुँदा करिब ४ घण्टा पर्खनुपर्ने बाध्यता कति पीडादायी र कष्टसाध्य यातनाजस्तो हुन्छ ? यात्रु भएर अनुभव गर्नुहोस् ।

४) नेपाल र लुम्बिनी आउने पर्यटकहरूले यस्तो अवस्थामा कस्तो इम्प्रेसन लिएर फर्किरहेका छन् भनेर ख्याल गर्नुभएको छ ? त्यसको दीर्घकालीन प्रभाव कस्तो पर्ला ? कमसेकम ध्यान दिनुहोस् ।

५) कामको हतारो र चटारोले हवाई उडान सेवा रोज्नेहरू ४र४ घण्टा एयरपोर्टमा पट्यारलाग्दो कुराइमा बस्न बाध्य हुँदा तावाबाट उम्केको माछो भुंग्र्रोमा परेजस्तो भएको छ । यो स्थिति नियमितजस्तै हुनु अझ उदेकलाग्दो कुरा हैन र ?

६) विदेशमा जस्तै यसरी फजुल खेर फालिएको अमूल्य समयको क्षतिपूर्ति दिने व्यवस्था गरेर आफूलाई यात्रु उत्तरदायी बनाउदा कसो होला ? अनि एयरपोर्टमा कार्यरत कर्मचारी महानुभानुभावहरूलाई झर्केर र कर्केर प्रस्तुत नभई शिष्ट र विनम्र बनाउन सके कस्तो होला ?

७) काठमाडौ–भैरहवा उडानबाट गौतम बुद्ध विमानस्थलमा अवतरण गरेर दाङ, प्यूठान, रोल्पा वा गुल्मी पुगी कार्यक्रम वा भेटघाट भ्याउन यहाँको उडानसेवा रोजेका यात्रुजन घर न घाटको हुँदा, अझ भैरहवा र बुटवलमा अकारण होटलमा बस्नु पर्ने बाध्यता सिर्जना हुँदा र एयरपोर्टमा लिन वा छोड्न आउने आफन्त र शुभेच्छुकहरू लामो पर्खाइमा रहनुपर्दा वा यात्रु स्वयम् अलपत्र पर्नुपर्दा कति असजिलो भएको छ ? समयमै ख्याल गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?