Comments Add Comment

सौराहा फुड फेस्टिबल व्यवसायीको ‘साझा उत्सव’

१२ माघ, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा आगामी माघ २८ गतेबाट सुरु हुने सौराहा फुड फेस्बिललाई व्यवसायीले साझा उत्सवका रुपमा मनाउने तयारी गरेका छन् ।

फेष्टिबल नजिकिँदै गर्दा फुड फेष्टिबललाई व्यवस्थित गरेर लैजानेबारे आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाले गरेको छलफलमा यहाँका होटल तथा पर्यटन व्यवसायीले फेष्टिबललाई साझा उत्सव बनाउने निर्णय गरिएको फेस्टिबलका संयोजक ध्रुव गिरीले बताए ।

फेस्टिबललाई पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यमको रुपमा विकास गर्न साझा कार्यक्रमको रुपमा विकास गर्न लागिएको संयोजक गिरीको भनाई छ । सौराहाका होटल व्यवसायीहरुले फेस्टिबलमा खानाको गुणस्तर सुधार गर्न, परम्परागत खानालाई प्रोत्साहन गर्न, फेस्टिबलमा आवास तथा खानामा दिइने छुटलाई कडाईका साथ लागु गर्न र फेस्टिबल परिसरमै होटल बुकिङको व्यवस्था मिलाउन सुझाव दिएको संयोजक गिरीले बताए ।

कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, प्रथम उपाध्यक्ष दीपक भट्टराई, रेवान सौराहाका पूर्वअध्यक्ष सुवास गौतम, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, व्यवसायी टीकाराम गिरी लगायतले मन्तव्य राखेका थिए ।

प्रणय दिवसको अवसर पारेर हरेक वर्ष गरिने फुड फेस्टिबलको आउने संस्करण १३ औं हो । फेस्टिबल माघ २८ देखि फागुन ३ गतेसम्म चल्ने छ । रत्ननगर नगरपालिका ७ को सिसुवार खेलमैदानमा फेस्टिबल आयोजना गर्न लागिएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । सो अवसरमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । सोही अवसरमा भलिबल, पर्यटक दौड, वेटर रेससँगै बच्चाहरूका खेल आयोजना गरिने उनले बताए । फेष्टिबलमा फरक क्षमता भएका बच्चाहरूलाई खाना खुवाउने कार्यक्रम समेत गरिँदै छ ।

पर्यटकहरूको आगमन कम हुने समयमा पर्यटक भित्राउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । वार्षिक दुई लाख हाराहारी पर्यटक आउने सौराहामा १सय १० होटल र ६० रेष्टुरेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment