Comments Add Comment

व्यवसाय दर्ता गर्न पोखराका प्याराग्लाइडिङ कम्पनीको अटेरी

२८ फागुन, पोखरा । पोखरा सञ्चालित प्याराग्लाइडिङले महानगरपालिकामा व्यवसाय दर्ता र नवीकरण गर्न अटेरी गरेका छन् । महानगरपालिकाले मंगलबारसम्मको समय दिएकामा जम्मा १० वटा कम्पनीमात्रै दर्ता र नवीकरण भएका छन् ।

‘अधिकांशले महानगरमा उपस्थित भएका छैनन,’ महानगर राजश्व विभाग प्रमुख रोमनाथ उपाध्यायले भने, ‘कुनै त सम्पर्कमै आएका छैनन् । कुनै सम्पर्कमै हुनुहुन्छ, तिर्छौं भन्नुभएको छ ।’ उनीहरुले २०७२ सालदेखि महानगरमा स्वीकृतिबिना प्याराग्लाइडिङ उडाइरहेका छन् ।

उपाध्यायले समयवधि थप्ने या कारबाही प्रक्रिया अघि लैजाने भन्नेबारे बुधबारमात्रै महानगरले निर्णय गर्ने बताए । उनले भने, ‘आजै निर्णय हुनुपर्ने हो । तर, मेयरसाब अहिले बाहिर जानुभएको छ । उहाँ आएपछिमात्रै निर्णय हुन्छ ।’ उनले दर्ता बिना चल्ने प्याराग्लाइडिङ कम्पनीलाई भने बन्द गर्ने बताए ।

महानगरले दिएको एकहप्ताको समयमा दर्ता र नवीकरण गर्न आउने कम्पनीमा मुनाल प्याराग्लाइडिङ, माउन्ट भ्यू प्याराग्लाइडिङ, ब्लु स्काई प्याराग्लाइडिङ, फिनिक्स प्याराग्लाइडिङ एन्ड एड्भेन्चर, हिमालय मिसन टु हिमालय, पिस हिमालय, न्यु प्यारा प्रालि, टिम फाइभ नेपाल, अल्ट्रालाइट प्याराग्लाइडिङ र फ्लाई निर्वाणा प्याराग्लाइडिङ कम्पनी छन् ।

महानगरले प्याराग्लाइडिङ कम्पनीलाई दर्ता, नवीकरण गर्न गत बुधबारसम्म समय दिएको थियो । तर, उनीहरुले पुन एक हप्ताको समय माग गरेपछि महानगरले स्वीकृति दिएको थियो । पोखरा महानगरमा हालसम्म ५६ वटा कम्पनी प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० वटा कम्पनीमात्रै सक्रिय छन् । २ कम्पनीले पहिले नै दर्ता, नवीकरण गरिसकेका थिए ।

प्याराग्लाइडिङ कम्पनीबाट महानगरले आफ्नो लागि प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारका लागि१ लाख रुपैयाँ लिनेछ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ ।

महानगरले पहिलेदेखि नै २५ हजार रुपैयाँ उठाउँदै आए पनि ०७५ मा ५० हजार कर तोकेको थियो । ‘त्यसवर्ष हामीले ५० हजार तोक्यौं । पछि प्रदेशले पनि उठाउन थालेपछि फेरि २५ झारेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment