Comments Add Comment

‘अटेरी’ प्याराग्लाइडिङ कम्पनी बन्द हुने

३० फागुन, पोखरा । पोखरा महानगरपालिकाले बुधबारसम्म दर्ता र नवीकरण नभएका प्याराग्लाइडिङ कम्पनी बन्द गर्ने भएको छ । पटक–पटक आग्रह गर्दा पनि अटेरी गर्ने कम्पनीमाथि महानगरले कारबाही प्रक्रिया अघि बढाउने भएको हो ।

पोखरा महानगरमा बुधबारसम्म २४ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएका छन् । महानगरले व्यवसायको स्वीकृति लिन मंगलबारसम्मको समय दिए पनि उक्त समयमा १० वटा कम्पनीले मात्रै दर्ता र नवीकरण गरेकाले बुधबारसम्मको म्याद दिइएको थियो ।

कम्पनीले उनीहरुले २०७२ सालदेखि नै महानगरमा दर्ता र नवीकरणविना प्याराग्लाइडिङ उडाइरहेका थिए । उनीहरुलाई व्यवसाय दर्ता, नवीकरण गर्न फागुन २२ गतेसम्मको समय दिइएको थियो । तर, उक्त समयमा २ वटा कम्पनी मात्रै महानगरमा दर्ता भएका थिए ।

व्यवसायीकै आग्रहमा महानगरले पुन मंगलबारसम्मको समय दिएको थियो । उक्त समयावधिमा १० वटा कम्पनी दर्ता, नवीकरण भएका थिए । तोकिएको समयमा अधिकांश कम्पनी दर्ता र नवीकरण गर्न नआएपछि अन्तिम विकल्पका रुपमा बुधबारसम्म समय दिएको थियो ।

तोकिएको समयमा पनि व्यवसाय दर्ता र नवीकरण नगरेका कम्पनीलाई उड्न रोक लगाउने गरी महानगरले प्रक्रिया सुरु गरेको छ । ‘१÷२ दिनमै हामी यसबारे छलफल गरेर एउटा निर्णय लिन्छौं । ढिलो चाँडो राजस्व नतिर्ने सबै कम्पनी कारबाहीको दायरामा आउँछन्,’ महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले भने ।

सुवेदीले बुधबारसम्म दर्ता तथा नवीकरण नहुने व्यवसायलाई प्रहरीकै सहयाग लिएर भएपनि रोक्ने बताए । उनले भने, ‘यस काममा महानगरले वडासँग समन्वय गर्छ । वडासँगको छलफलपछि दर्ता तथा नवीकरण नभएका व्यवसाय बन्द गर्छौं ।’ महानगरले अटेरी प्याराग्लाइडिङ कम्पनी नियमन तथा गर्न १८ नम्बर वडासँग सहयर्का गरिरहेको छ ।

महानगरमा हालसम्म ५६ वटा कम्पनी प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० वटा कम्पनीमात्रै सक्रिय छन् । प्याराग्लाइडिङ कम्पनीबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारले १ लाख रुपैयाँ लिनेछ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ ।

महानगरले पहिलेदेखि नै २५ हजार रुपैयाँ उठाउँदै आए पनि ०७५ मा ५० हजार कर तोकेको थियो । ‘त्यसवर्ष हामीले ५० हजार तोक्यौं । पछि प्रदेशले पनि उठाउन थालेपछि फेरि २५ झारेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment