Comments Add Comment

बूढानीलकण्ठका मेयर भन्छन् : म आफैं खुसी छैन

१४ माघ, काठमाडौं । काठमाडौं जिल्लाभित्र ११ नगरपालिकामध्येको एक हो, बूढानीलकण्ठ । उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज सहित करिब ३ किलोमिटर भिरालो हरियाली र दक्षिणतर्फका केही सामूदायिक वनले यो नगरपालिकालाई प्रकृति अनुकुल बनाएका छन् । नगरपालिकाकामा मेयर उद्धव प्रसाद खरेल छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा बस्ने टोल र कांग्रेसकै युवा नेता गगन थापाको निर्वाचन क्षेत्रमा पर्ने बूढानीलकण्ठ नगरपालिकामा तत्कालीन नेकपा (एमाले)बाट मेयर निर्वाचित भएपछि खरेल राष्ट्रिय चर्चामा आएका थिए ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा खरेलले संघीय राजधानीसँग जोडिएको नगरपालिका भएकाले बूढानीलकण्ठको सम्भावनासँगै चुनौती रहेको सुनाए ।

चुनावमा मतदातालाई दिएको आश्वासन फटाफट पूरा गर्न नसक्दा केही ग्लानि भएको उनले लुकाएनन् । ‘आम बुझाइ पनि एकदमै गजब भइहाल्छ भन्ने छ, अपेक्षा धेरै छन्’, उनले भने, ‘तर, देखिने गरी केही काम नहुँदा म आफैं बेखुस छु ।’

योजनाहरुको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेकाले अबको एक वर्षभित्र नगरमा विकासको चित्र देखिएर आलोचना घट्ने उनको आशा छ । हामीसँग उनले बन्दै गरेका योजना, आफ्नो अनुभव र संकल्प यसरी प्रस्तुत गरेः

महानगरको ओझेलमा नगरपालिका

संघीयताले शासन सञ्चालन स्थानीय तहमा पुर्‍याएपनि केन्द्रीकृत हुने र गर्ने परिपाटी हटेको छैन । त्यसको उदाहरण हो– काठमाडौं ।

देशको केन्द्रीय सचिवालय सिंहदबार र सर्वोच्च अदालतदेखि सबै संवैधानिक अंगहरु महानगरभित्रै छन् । ठूला अस्पताल, व्यापारिक केन्द्र र लगानी पनि महानगरमै केन्द्रीत छ । दातृ निकायहरुले पनि काठमाडौंलाई दिएको देखिन्छ । सबै चिज उतै भएपछि आसपासका सबै नगरबासीलाई महानगर नधाइ सुखै छैन । यसले गर्दा आर्थिक रुपमा नगरपालिकाहरु सबल बन्न सकिरहेका छैनन् । त्यसैले सबै चिज काठमाडौं महानगरमा केन्द्रीत गर्न हुँदैन । समग्र जिल्ला हेर्ने परिपाटी बसाल्न आवश्यक छ । आसपासका नगरपालिकाको स्तर नउठेसम्म महानगरमात्रै चम्किएर काठमाडौं बिकसित हुँदैन । लगानी नबढेसम्म आसपासका नगरपालिकाको करको दायरा बढ्दैन ।

परनिर्भरता कायमै !

काठमाडौं उपत्यकाका ठूला विकास परियोजनाको नेतृत्व केन्द्र सरकार र काठमाडौं महानगरपालिकाले लिइरहेको छन् । वरपरका नगरपालिकाहरुले त्यस्ता ठूला बोझ उठाउने अग्रसरत देखाएका छैनन् । उनीहरुले ठोस योजना बनाउन सकेका छैनन् । कतिसम्म भने नगरपालिकाहरु फोहोर व्यवस्थापनमा समेत परनिर्भर छन् ।

उपत्यकाका दुई महानगरसहित १८ नगरपालिकाको मञ्चमा बूढानीलकण्ठ पनि हुने नै भयो । यसको नेतृत्व पनि काठमाडौं महानगरपालिकाले गरिरहेको छ । अब नगरपालिकाहरुले भूमिका लिन अग्रसर हुनुपर्ने बूढानीलकण्ठका सोमनाथ न्यौपानेले बताए । त्यहीकी सिर्जना सुवेदीले नगरपालिका परनिर्भर हुँदा कहिले काहीँ फोहर उठ्न हप्तौं लाग्ने गरेको बताइन् ।

मेयर खरेलले भने फोहर व्यवस्थापनका लागि लगानी बोर्डको परियोजना कुरिरहेको बताए । नगरपालिकाले कुनै योजना अघि बढाइहाल्ने अवस्था नरहेको उनको भनाइ छ । महानगरपालिकाले समेत लगानी बोर्डकै मुख ताकिरहेका बेला नगरपालिकाले आफ्नै योजना बढाउन सम्भव नहुने उनले बताए । मेयर खरेल भन्छन्, ‘साझा समस्या भएकाले मिलेरै जानुपर्छ भन्न्ने हो ।’

‘दाताको पर्खने बाहेक अर्को योजना छैन’

गैर–सरकारी संस्थाबारे पार्टी र नेतापिच्चे फरक दृष्टिकोण पाइन्छ । कोही आईएनजीओको नामै सुन्न चाँहदैनन् त कोही उनीबाट सक्दो सहयोग लिनुपर्छ भन्छन् । बूढानीलकण्ठ नगरपालिकाका मेयर खरेल दोस्रो कित्तमा पर्छन् ।

आफ्नै क्षमता नहुनेले आदर्शवादी डिंग हाक्नु अव्यवहारिक हुने उनको तकृ छ । बरु सरकारले असल एनजीओ, आईएनजीओहरु पहिचान गरेर उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । नगरपालिकामा पर्यटन, कृषि, पूर्वाधार लगायतको विकासमा बाहिरी सहयोग आवश्यक रहेको उनले बताए ।

महाभूकम्पले क्षति पुर्‍याएका बूढानीलकण्ठ, चण्डेश्वरी, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण लगायतका मन्दिरहरूको पुनर्निर्माणमा भारतले लगानी गर्ने तय भएको थियो । तर, हालसम्म एउटा इँटा उठाउने काम पनि भएको छैन । अझै भारतलाई पर्खिनुको विकल्प नभएको मेयर खरेलले बताए ।

सडक चिटिक्क पार्ने, नगरबस चलाउने

वर्षौंदेखि चलिरहेका विभिन्न पूर्वाधार निर्माण परियोजनाहरुले काठमाडौं सहरलाई गिजोलेको छ ।

बूढानीलकण्ठ नगरपालिका पनि यसबाट अछुतो छैन । धुँवाधुलोका कारण बासिन्दा आक्रान्त छन् । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि यस्ता समस्याबाट मुक्ति पाइन्छ भन्ने आशा जनताले गरेका थिए । तर, हालसम्म यसको रोकथाम त के न्युनिकरण समेत भएको छैन । मेयर खरेलको आश्वासन छ– ‘दुई वर्ष पर्खिनुस्, मुख्य सडक, सहायक सडक सबै चिटिक्क देखिनेगरी पीच हुन्छ ।’

बूढानीलकण्ठ नगरपालिकाभित्र साना–ठूला गरी करिब १५ सय किलोमिटर सडक छ । एक दर्जन सडक निर्माणाधिन छन् । मेयर खरेल भन्छन्, ‘सडक पीचलाई प्राथमिकतामा राखेका छौं ।’

नगरभित्र आवागमन सहज पार्न आफ्नै यातायात सञ्चालन गर्ने योजना उनले सुनाए । ‘सबै वडालाई जोड्ने यातायात सेवा (नगर बस) सञ्चालन गर्ने तयारीमा छौं’ मेयर खरेल भन्छन्, ‘यो काम नगरपालिका आफैंले गर्छ ।’

स्थानीय पाठ्यक्रम लागू गर्ने !

बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका विद्यालयमा आफ्नै पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । ‘संस्कृति, परम्परा, पर्यटन, नागरिक आचारसंहिता, सरसफाई, नगरपालिकाको इतिहास लगायतलाई समेटेर पाठ्यक्रम बनाउने काम भइरहेको छ’, उनले भने, ‘आउँदो शैक्षिक सत्रबाट लागू गर्न थाल्छौं ।’

उनका अनुसार, नगरभित्रका १४० विद्यालयमा कक्षा ७ सम्म स्थानीय पाठ्यक्रम लागू हुनेछ । खरेल भन्छन्, ‘स्थानीय पाठ्यक्रम लागू भएपछि सभ्य नगर विकासमा पनि सघाउ पुग्ने विश्वास छ ।’

आभारभूत शिक्षा निःशुल्क गर्ने, तर मावि तहको शिक्षा सशुल्क नै हुने उनले बताए ।

मेयरका योजना…

नगरपालिकाको नेतृत्वमा आएपछि दैनिक प्रशासनिक कममा धेरै सुधार गरेको मेयर खरेलको दाबी छ ।

तल्लो तहका नागरिकलाई समेट्ने, अस्पतालहरुको गुणस्तर सुधार्ने, कृषि, पशु, पर्यटन पूर्वाधार बिकास, युवालाई प्रोत्साहन आदी मेयर खरेलका योजनामा छन् । धोबिखोला र बिष्णुमति करिडोरमा दुई वटा कृषि बजार बनाउने काम शुरु भएको उनले बताए । यसले आर्थिक गतिबिधि बढ्ने उनको विश्वास छ ।

ज्येष्ठ नागरिक पार्क, बालबच्चाका लागि पार्क, महिलाका लागि पार्क, भूकम्प स्मृति पार्कको ठेक्का भएर काम अघि बढेको मेयर खरेलले बताए ।

२ अर्ब ५४ करोडको लागतमा कपनसहित बूढानीलकण्ठका सबै वडामा खानेपानीको पाइप बिछ्याउने काम चलिरहेको र यसबाट ‘एक घर एक धारा’ अभियान पुरा हुने उनले बताए । तर, मेलम्चीको पानी नआएसम्म धारामा पानी खस्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment