Comments Add Comment

उपभोक्ता समितिमार्फत रानीपोखरी पुनर्निर्माण गर्न छलफल

१५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गर्नेबारे छलफल थालेको छ ।

चौंथो पटक टेण्डर आहृवान गर्ने कि स्थानीय उपभोक्ता समिति बनाएर पुनर्निर्माणको जिम्मा दिने भन्नेबारे छलफल भइरहेको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले अनलाइनखबरलाई जानकारी दिए ।

विज्ञ सम्मिलित स्थानीय उपभोक्ता समितिलाई दिइएको काष्ठमण्डप पुनर्निर्माण सन्तोषजनक देखिएकाले रानीपोखरीमा पनि त्यस्तै मोडेल अपनाउन सकिनेबारे छलफल भइरहेको उनले बताए ।

‘काष्ठमण्डपको पुनर्निर्माण मोडल सबैले मन पराएको देखियो, रानीपोखरीमा पनि त्यसै गर्ने कि भनेर हामी छलफलमा छौं’, उनले भने ।

पटक पटक टेण्डर आहृवान गर्दा पनि उपयुक्त ठेकदार नआएपछि महानगरपालिका अन्यौलमा छ । विवाद हुने गरेका कारण सम्पदाको पुनर्निर्माणमा निर्माण कम्पनीहरुले पनि त्यति रुची देखाउने गरेका छैनन् ।

विज्ञहरुको रायसुझाव लिँदै उपभोक्ता समितिमार्फत गर्दा विवाद पनि नहुने र पुनर्निर्माण छिटो गर्न सकिने काष्ठमण्डपको नजिरले पनि महानगरपालिकालाई यो मोडलले आकषिर्त गरेको हो ।

तर, काष्ठमण्डपको मोडालिटी पनि त्यति सजिलो भने नभएको महानगरपालिकै अधिकारीहरु बताउँछन् । ‘काष्ठमण्डपका लागि काठ, पुराना इँटा जुटाउन परेको सकस देख्दा यो पनि सजिलो चैं होइन’, एक अधिकारीले भने ।

काष्ठमण्डपको पुनर्निर्माण महानगरपालिकाको आर्थिक सहायतामा स्थानीय उपभोक्ता समितिले गर्दैछ ।  काष्ठमण्डप र रानीपोखरीको स्वरुप समेत फरक भएकाले उपभोक्ता समितिबाट सन्तोषजनक काम नहुनेतर्फ सोच्नुपर्ने ति अधिकारीले बताए ।

तीन वर्षदेखिको अन्योल

राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको तीन वर्ष बित्दा रानीपोखरी अहिले जीर्ण, जर्जर र कुरुप अवस्थामा छ । ९ महिनामा बनाइसक्ने भनेर महानगरपालिकाले काम शुरु भएको रानीपोखरी पुनर्निर्माण तीन वर्ष र विवादमै रुमल्लियो ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा ०७३ सालमा काठमाडौं महानगरपालिकाले छडसहित कंक्रिट प्रयोग गर्यो ।
सम्पदाविद् र युनेस्कोको आपत्तिपछि काम रोकेर पुरातत्व विभागले नै मन्दिरको जिम्मा लियो ।

महानगरपालिकाले पोखरीमा फेरि कंक्रिट प्रयोग गर्यो । पोखरीमा पानी अड्याउन भन्दै कंक्रिटकै पर्खाल लगाइयो ।  यसबाट उत्पन्न लामो विवाद रानीपोखरीलाई प्राचीन मल्लकालीन शैलीमै निर्माण गर्ने सहमतिका साथ सल्टिएको छ ।

विज्ञ समूहको अध्ययनका आधारमा रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति भएको छ ।

विगतबाट प्राप्त प्रमाण तथ्य, नागरिकको जनभावना र रानीपोखरी पुनर्निर्माणको अनिश्चितता लगायतलाई ध्यानमा राखेर ग्रन्थकुट शैलीमा नै जाने निर्णय भएको छ ।

पुरतत्व विभागले अब मन्दिरलाई ग्रन्थकुट शैलीमा पुननिर्माण गर्न तयारी गर्दैछ । विज्ञ समूहको प्रतिवेदन अनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको कालमा ग्रन्थकुट शैलीमा बनेको पाइएको छ । यसलाई शिखर शैली पनि भनिन्छ ।

जंगबहादुर र जुद्ध शम्शेरको पालामा पनि रानीपोखरीको स्वरुपमा हेरफेर भएको पाइएको छ । विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भँइचालोले शिखर शैलीको मन्दिर ढल्यो । पछि जंगबहादुरले गुम्बज शैलीमा बनाए ।

१९९० सालको भूकम्पले फेरि रानीपोखरीमा क्षति भयो । त्यसलाई जुद्ध शम्शेर बनाए तर, गुम्बज शैलीमा केही परिर्वतन गरे । र गुम्बज शैलीमा बनाए । जुन शैली १२ बैशाख २०७२ को भूकम्प अघिसम्म कायम थियो ।

शुरुमा काठमाडौं महानगरपालिकाले कंक्रिट प्रयोग गरेको भन्दै युनेस्कोले विरोध गरेपछि मन्दिरको पुनर्निर्माण पुरातत्व विभाग आफैंले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment