Comments Add Comment

नेपालले पश्चिम माग्दा भारतले दियो भैरहवाको हवाइ रुट

१६ माघ, काठमाडौं । आगामी वर्षबाट सञ्चालनमा ल्याउने लक्ष्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । भारत भैरहवा एयर इन्ट्री प्वाइन्ट दिन तयार भएपछि रुटको गाँठो फुकेको सरकारी अधिकारीहरुको दाबी छ ।

हालै भारत भ्रमणमा गएका नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले भारतीय समकक्षी सुरेश प्रभुसँग भएको भेटमा एयर रुटको सहमति भएको बताएका छन् ।

उड्डयन अधिकारीहरु यो सहमति नयाँ नभएको दाबी गर्छन् । उनीहरुका अनुसार भैरहवाबाट रुट दिन भारत तयार थियो । तर, भैरहवा र पोखरा विमानस्थलमा आउने विमानका लागि नेपालगञ्ज र महेन्द्रनगरको रुट उपयुक्त हुन्छ ।

गत असार पहिलो साता काठमाडौंमा भएको वार्तामा महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट थप्ने सम्झौतापत्रमा हस्ताक्षर भएको पनि थियो । यसलाई केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँग सम्बन्ध थप सुमधुर भएको प्रमाणका रुपमा अथ्र्याएको थियो । तर, लिखित सहमतिबाट पछि हट्दै भारतले नेपाललाई पश्चिमतर्फ हवाई रुट दिन अस्वीकार गर्‍यो ।

ग्लोबल एभिएसन समिटका क्रममा भारत पुगेका पर्यटनमन्त्री अधिकारीले भारतीय समकक्षीलाई भेट्दा पनि नेपालले नेपालगञ्ज र महेन्द्रनगरको रुट पाउने अवस्था बनेन ।

भारत पुरानो सहमति अनुसार भैरहवा मात्र होइन, जनपुर र विराटनगरबाट एयर रुट दिन सहमत छ ।

नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीकाअनुसार २०१६ मै भारतले भैरहवा एयर रुट दिन सहमति जनाएको थियो । त्यसअनुसार प्रक्रिया अघि बढेको पनि लामो समय भक्यो । अहिले भैरहवाबाट प्रवेश विन्दु लिनका रुट डिजाइन हुँदैछ ।

हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाकाअनुसार हाल भारतीय एयर स्पेस हुँदै नेपालका लागि अन्तर्राष्ट्रिय उडान भर्ने विमान सिमराबाट छिर्छन् । स्पेस करिब सय ‘नउटिकल माइल’ बाट चाहिन्छ, २७ हजारबाट फिटबाट ओर्लिन सुरु गर्नुपर्छ । अहिले भारतीय एयर स्पेसबाट ओर्लिनु पर्दा उसैको एयर ट्राफिक कन्ट्रोलरलाई सोध्नुपर्छ । त्यसको कन्ट्रोेल कोलकताले गरिरहेको छ ।

अहिले नेपाल आउने विमानले ‘म अब ओर्लिन लागेँ है’ भनेर कोलकतामा क्लियरेन्स माग्नुपर्छ । उसले ‘क्लियर टु ल्याण्ड, क्लियर टु डिसेन्ट’ भनेर अनुमति दिनुपर्छ ।

भैरहवाबाट एयर स्पेश लिँदा पनि यो अवस्था कायमै रहने छ । किनभने भैरहवा भारतको सिमा नजिकै छ । भैरहवाबाट एयरस्पेस लिँदा विमान अवतरण गर्ने अन्तिम समयसम्म पनि सबै कन्ट्रोल भारतको कन्ट्रोलरले गर्नुपर्छ ।

यदि नेपालले मागेको नेपालगञ्ज र महेन्द्रनगर रुट पाउने हो भने यो एकदसम्म हट्छ । नेपाली विमानहरु भारतीय एयर स्पेश प्रयोग गर्दै नेपाली आकासमा प्रवेश गरेपछि मात्र ओर्लिन सुरु गर्दा हुने उड्ययन अधिकारीहरु बताउँछन् ।

मौसम खराब भयो भने विमानलाई आकासमै होल्ड गर्नुपर्छ । यदि भारतले महेन्द्रनगर रुट दिएको भए तराई भूभागमा जहाज होल्ड गराउन सहज हुन्थ्यो । तर, भैरहवा रुट लिँदा विमान होल्ड गराउन भारतकै स्पेश प्रयोग गर्नुपर्ने हुन्छ ।

ल्याण्ड गर्ने बेलामा एयरपोर्ट नजिकै एकदमै बाक्लो बादलको ‘लेयर’ भयो भने पनि माथि फर्किनुभन्दा त्यहीँ ‘सर्कल’ गर्न सकिन्छ । त्यसबेला नजिक २० नउटिकल माइल जतिको ठाउँ भएन भने भारतकै एयर स्पेसमा जानुपर्ने अवस्था हुन्छ । भैरहवा एयरपोर्टमा समस्या आउँदा विमानले भारतकै स्पेशमा सर्कल गर्नुपर्ने अवस्था आउनेछ । त्यसैले भैरहवा एयरपोर्टकै लागि पनि यो हवाई रुट त्यति उपयुक्त नभएको ठम्याई उड्डयन विज्ञको छ ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment